कमल थापाले भने – बरियतामा तल झरेर बाबुराम भट्टराईको उचाई झनै बढ्यो

डिसी नेपाल
२६ जेठ २०७७ १०:२९

काठमाडौं । जनता समाजवादी पार्टीभित्र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई चौथो बरियतामा राखेर उनको ‘अपमान’ गरिएको चर्चा चलिरहँदा राप्रपा अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले यस विषयमा टिप्पणी गरेका छन् । उनले बाबुराम भट्टराईको बरियता र राजनीतिक उचाइ निर्वाचन आयोगमा पेश भएको कागजले नगर्ने बताएका छन् ।

सोमबार बिहानै ट्वीट गर्दै पूर्व उपप्रधानमन्त्री थापाले लेखेका छन् ‘वरियताको विषयमा बाबुराम भट्टराईलाई केहीले खिसी गरेको पढें। बाबुरामजीसँग धेरै विषयमा मेरो मतभेद छ। तर,उहाँको वरियता÷राजनीतिक उचाई निर्वाचन आयोगमा पेश भएको कागजले गर्दैन।’ हिजो जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गर्न पेश गरिएको कागजातमा बाबुराम भट्टराईलाई चौथो बरियतामा राखिएको छ ।

बैशाख १० गते एकिकरण गर्ने सहमति गरेका तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर गठन भएको जनता समाजवादी पार्टी (जसपा) ४५ दिनपछि निर्वाचन आयोगमा विधिवत रुपमा दर्ता भएको थियो । आइतबार दुई जना अध्यक्ष रहने गरी जसपा निर्वाचन आयोगमा दर्ता भएको हो । पार्टीको कार्यकारी अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन् । यसअघि संघीय परिषद अध्यक्ष बनाउने सहमति भएपनि डा. बाबुराम भट्टराईलाई अन्तिम समयमा आएर बरियता क्रमको चौथो नम्बरमा राखिएको छ ।

निर्वाचन आयोगमा दर्ता हुन जानुअघि डा. भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने सहमति भएको थियो । तर, निर्वाचन आयोगमा दर्ता गर्ने क्रममा दोस्रो बरियतामा रहेको भट्टराईको नाम टिपेक्सले मेटेर चौथो बरियतामा पु¥याइएको छ । डा.भट्टराई यसअघि तत्कालिन समाजवादी पार्टीमा पहिलो बरियतामा थिए । समाजवादी पार्टीमा आफूभन्दा दुई बरियता तल रहेका अशोक राई भन्दा पनि एकीकृत पार्टीमा भट्टराईलाई तल पारिएको छ । जसपामा भट्टराई एक मात्र पूर्व प्रधानमन्त्री हुन्।

तत्कालीन माओवादीबाट अलग भई नयाँशक्ति गठन गरेका भट्टराईले गत निर्वाचनमा नेपाली कांग्रेससँगको गठबन्धनमा गोरखाबाट निर्वाचित भएका थिए । भट्टराईको तत्कालिन नयाँशक्तिले राष्ट्रिय दलको समेत मान्यता नपाएपछि तत्कालीन संघीय समाजवादी फोरमसँग पार्टी एकीकरण गरेका थिए । एकिकृत पार्टीमा भट्टराई पहिलो बरियतामा थिए ।

वैशाखमा सरकारले राजनीतिक दल विभाजन सम्बन्धी र संवैधानिक आयोगकका सदस्यका (काम, कर्तव्य र अधिकार) संबन्धी संशोधन अध्यादेश जारी गरेपछि विभाजनको संघारमा पुगेको समाजवादी पार्टी र राजपा बीच एकता गर्न रातारात डा. भट्टराईले ठूलो भूमिका खेलेका थिए ।

दुई दलबीच बैशाख १० गते पार्टी एकता गर्ने सहमति भएको थियो । पार्टी एकता गर्ने घोषणा गरेको ४५ दिनसम्म नेतृत्वको विषयमा लामो रस्साकस्सी चलेपछि आइतबार जसपा निर्वाचन आयोगमा विधिवत दर्ता त भयो तर, एकीकरणको भूमिका खेल्ने बाबुराम भट्टराईको हैसियत चौथो नंम्बरमा पुगेपछि भट्टराई पक्षधरहरु असन्तुष्ट बनेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *