रंगभेदविरोधी आन्दोलन चर्किएका बेला गोरी महिलाको हातबाट अश्वेत बालकको ज्यान गएपछि…

डिसी नेपाल
२६ जेठ २०७७ १२:४७

काठमाडौं। अमेरिकामा अश्वेत नागरिकको मृत्यु भएपछि रंगभेदविरोधी आन्दोलन चर्किएको छ । यो विरोध प्रदर्शन अहिले अमेरिकाबाट फैलिँदै युरोपभरी पनि पुगिसकेको छ । यही बीचमा दक्षिण अमेरिकी देश ब्राजिलमा अर्को एक घटनाले यो आगोमा घिउ थपेको छ ।

यहाँ गत मंगलबार पाँच वर्षका अश्वेत बालकको छतबाट खसेर मृत्यु भएको थियो । यसको विरोधमा ब्राजिलमा पनि सयौंको संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका छन् । सेक्युरिटी फुटेजका अनुसार अश्वेत महिलाले जहाँ काम गर्थिन त्यो भवनको माथिल्लो तलाबाट खसेर उनको बच्चाको मृत्यु भएको थियो ।

जानकारीका अनुसार अश्वेत महिलाले आफ्नो बच्चालाई एक गोरी महिलालाई हेर्न दिएर आफ्नो काम गरिरहेकी थिइन् । कोरोनाभाइरसका कारण स्कुल बन्द भएकोले ५ वर्षका मिग्युल डा सिल्भा आफ्नी आमासँगै उनले काम गर्ने ठाउँमा गएका थिए ।

जर्मन समाचार वेबसाइट डीब्ल्यूका अनुसार अश्वेत बच्चाकी आमाले बच्चालाई गोरी महिलाको जिम्मामा छोडेकी थिइन् । त्यसपछि उनी आफ्नो काममा लागेकी थिइन् । यस क्रममा गोरी महिलाले बच्चालाई छोडेर आफ्नो कुकुरलाई बाहिर घुमाउन लिएर गइन् । सेक्युरिटी क्यामेरा फुटेजमा गोरी महिलाले भवनको लिफ्टमा बटन दबाएर बच्चालाई भवनको माथिल्लो तलामा पठाएको देखिएको छ ।

समाचारअनुसार लिफ्टबाट बाहिर निस्किएपछि ती बालक एउटा बाल्कोनीको रेलिङमा चढे । रेलिङमा चढेका उनले आफ्नो सन्तुलन गुमाए र त्यहाँबाट खसेर उनको मृत्यु भयो । समाचार एजेन्सी एएफपीका अनुसार उनको मृत्यु लगत्तै ‘ब्ल्याक लाइभ्स म्याटर’को नारा लगाउँदै सयौं प्रदर्शनकारीहरु रेसिफ शहरको सडकमा उत्रिए । यस क्रममा प्रदर्शनकारीहरुले मास्क लगाएका थिए । उनीहरुले सिटी कोर्टदेखि मिग्युलको मृत्यु भएको भवनसम्म प्रदर्शन गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *