ट्रम्पलाई रोक्न जुकरबर्गसँग गुहार ! १४० भन्दा धेरै वैज्ञानिकले गरे आग्रह
काठमाडौं। १४० भन्दा धेरै वैज्ञानिकहरुले फेसबुकका सीइओ मार्क जुकरबर्गलाई पत्र लेख्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेसबुकमा नियन्त्रणमा राख्न आग्रह गरेका छन् । उनीहरुले फेसबुकमा अमेरिकी राष्ट्रपतिका हिंसालाई बढावा दिने पोस्ट र गलत सूचनाहरु रोक्न जुकरबर्गसँग आग्रह गरेका छन् । यी ती वैज्ञानिक हुन् जसलाई मार्क जुकरबर्गको कम्पनी चान जुकरबर्ग इनिसिएटिभले फण्डिङ गर्छ ।
द गार्डियनका अनुसार यसका लागि वैज्ञानिकहरुले जुकरबर्गलाई पत्र लेखेका छन् । यसरी पत्र लेख्ने वैज्ञानिकहरुमा हार्वर्ड र स्टेनफोर्ड युनिभर्सिटीका प्राध्यापकसहित नोबेल पुरस्कार विजेता समेत छन् । वैज्ञानिकहरुले पत्रमा लेखेका छन् ‘हामीलाई यो देखेर निराशा भइरहेको छ कि तपाइँले राष्ट्रपति ट्रम्पका पोस्टमा आफ्नो नीतिहरुको पालना गर्नुभएको छेन । ट्रम्पका हिंसालाई बढावा दिने पोस्ट ‘जब लुट सुरु हुनेछ तब शुटिङ सुरु हुनेछ’ मा तपाइँले केही गर्नु भएन ।’
अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोएडको मृत्युपछि यहाँ ठूलो संख्यामा हिंसा र लुटपाट सुरु भएको थियो । यस विषयमा ट्रम्पले धम्की दिँदै लुटपाट गर्नेहरुलाई गोली हान्ने चेतावनी दिँदै यो पोस्ट गरेका थिए । ट्वीटरले ट्रम्पको पोस्ट लुकाउँदै त्यसमा एक चेतावनीमूलक नोटिस लगाइदिएको थियो । ट्वीटरले यस विषयमा प्रतिक्रिया दिँदै हिंसालाई बढावा नदिने भनेको थियो ।
फेसबुकका कैयौं वर्तमान र पूर्व कर्मचारी कम्पनीसँग रुष्ट छन् । उनीहरुले ट्रम्पको पोस्टमा फेसबुकको तर्फबाट कुनै एक्सन नलिइएको भन्दै आलोचना गरेका छन् । कर्मचारीको असन्तुष्टिको महसुस गर्दै केही दिनअघि जुकरबर्गले अमेरिका र विश्वभर जातीय हिंसामा नियन्त्रण गर्न फेसबुकले सहयोग गर्ने बताएका थिए । उनले यस विषयमा काम सुरु भइसकेको बताएका थिए ।
Facebook Comment