अमेरिकाको मिनिअपलिस राज्यमा स्थानीय प्रहरी विभाग भंग गर्ने प्रतिबद्धता
वाशिङटन (बीबीसी) । अमेरिकाको मिनिअपलिस नगर परिषद्का बहुमत सदस्यले त्यहाँको स्थानीय प्रहरी विभागलाई भङ्ग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्यहाँ गत महिना जोर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा भएको मृत्युपछि राष्ट्रव्यापी रूपमा फैलिएको विरोध प्रदर्शनहरूमाझ यो एक उल्लेख्य कदम हो।
उक्त नगर परिषद्का १३ जना सदस्यमध्ये नौजनाले उक्त शहरमा “सार्वजनिक सुरक्षाको नयाँ ढाँचा” को सिर्जना गरिने बताएका छन्। त्यहाँको कानुन परिपालना गर्ने निकायमाथि जातीय पक्षपात गरेको आरोप लागेको छ।
शहरका मेयर जेकब फ्रेइले यसअघि त्यस्तो कदमको विरोध गरेका थिए जुन धारणालाई मानिसहरूको भिडले निन्दा गरेको थियो।
‘नयाँ मोड’
उक्त शहरमा त्यस्तो नयाँ ढाँचाकालागि अभियान सञ्चालन गर्दै आएकाहरूले यो कदमलाई एउटा नयाँ मोड भनेका छन्।तर टिप्पणीकारहरू भन्छन् अब मिनिअपलिसले प्रहरी प्रशासनको विषयलाई लिएर लामो र जटिल बहसको सामना गर्नु पर्ने हुनसक्छ।
र नयाँ प्रहरी प्रशासनको ढाँचा कस्तो हुने भन्ने बारेमा पनि स्पष्टता छैन।
मिनिअपलिसमा प्रहरीले बलपूर्वक नियन्त्रणमा लिन खोज्दा जोर्ज फ्लोइडको मृत्यु भएपछि त्यहाँ जातीय विभेद र प्रहरीको ज्यादतीका विरोधमा ठूला प्रदर्शनहरू भएका छन्।
जोर्ज फ्लोइडको घाँटीमा झण्डै नौ मिनेटसम्म घुँडाले थिचेका प्रहरी अधिकारी डेरेक शोभिनलाई पदबाट बर्खास्त गरिसकिएको छ भने उनलाई दोस्रो तहको हत्याको अभियोग लगाइएको छ। सोमवार नै उनलाई अदालत समक्ष उपस्थित गराइने छ।
उक्त घटनाका बेला शोभिनसँगै रहेका अन्य तीनजना प्रहरीलाई पनि पदबाट बर्खास्त गरिएको छ र तिनीहरूलाई उक्त हत्याको घटनामा सहयोग पुर्याएको भन्ने अभियोग लगाइएको छ।
Facebook Comment