कोरोना संक्रमण विरुद्धको लडाइमा सरकारल पूर्ण असफल : नेपाली कांग्रेस
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपालमा कोरोना नियन्त्रण तथा रोकथाममा सरकार असफल भएको निष्कर्ष निकालेको छ। सोमबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले यस्तो निष्कर्ष निकालेको हो।
बैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै मुख्य सचिव कृष्णप्रसाद पौडेलले कोरोना संक्रमण विरुद्धको यो लडाईमा सरकार पूर्ण रुपमा असफल भइसकेको विभिन्न प्रमाणहरुले देखाएको बताएका छन्। उनले विज्ञप्तिमा भनेका छन्, ‘सरकारले जेठ २० गते कोभिड १९ बारे राष्ट्रिय परिक्षण निर्देशिका जारी गरी पोजिटिभ केसहरुलाई सिमटम फ्री भएको ३ दिन र जम्मा १४ दिनको भर्ना, आईसोलेसनपछि टेष्टनै नगरि डिस्चार्ज गर्ने अत्यन्त गैर जिम्मेवार नीति लिएको छ।’
‘परिक्षण किटको व्यवस्था र प्रयोगशालाको क्षमता बृद्धि गर्न नसक्ने तर पोजिटीभलाई अन्तिम परिक्षण नै नगरि घर पठाउने काम गर्नु सरकारको जनताका स्वास्थ प्रतिको असंवेदनशीलताको पराकाष्ठा हो।’ उनले भने, ‘यस कार्यलाई यो बैठकले सरकार आफ्नो कर्तव्यवाट च्यूत हुदै जनतालाई कोभिड १९ संक्रमणको भयावह अवस्थामा पुग्ने नीति तर्फ अग्रसर भएको रुपमा लिएको छ।’
बैठकले सरकारले प्रयोशाला विस्तारको काममा पनि लाग्न नसकेको निष्कर्ष निकालेको मुख्य सचिव पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
उनले भनेका छन्, ‘सरकारले अविश्वसनीय परिणाम आउने ¥यापिड टेस्ट अहिलेसम्म गरिरहेको छ । पिसिआर विधिवाट अत्यन्त न्यून परिक्षण भएको छ । परिक्षणको ब्यापकता बढाउन सरकार अक्षम भएको छ।’
अव्यवस्थित क्वारेन्टिन र प्रभावकारी परीक्षण नभएका कारण सम्पूर्ण समाज त्रसित भएको विज्ञप्तिमा उल्लेख छ। उनले भनेका छन्, ‘यसले सरकारको अकर्मण्यतालाई देखाएको छ।’
विदेशबाट उद्धार गर्नेलाई पनि सरकारले भनसुनका आधारमा गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘विदेशमा रहेका मानिसहरुलाई घर फर्काउने क्रममा बढी समस्या र जोखिममा रहेकालाई प्राथमिकताका आधारमा उद्धार गर्नु पर्नेमा सत्ता पक्षीय राजनीतिक भनसुनका आधारमा मानिसलाई उद्धार गर्ने प्रयत्न भैरहेको देखिएको छ । सरकारले उच्च मानवीय भावनाका साथ उद्धारको कार्य गर्न पर्नेमा असफल भएको छ।’
केन्द्रीय समिति बैठकले नागरिकको जीवनमा आएको आर्थिक संकटलाई कम गर्न सरकार गम्भीर नभएको ठहर गरेको छ।
Facebook Comment