कोरोनाको उपचारमा प्रभावकारी हुन सक्छ रेम्डेसिभिर, परीक्षणमा आशालाग्दो नतिजा देखियो
काठमाडौं। कोरोनाभाइरसको उपचारको लागि सम्भावित औषधि मानिएको एन्टिभाइरल औषधि रेम्डेसिभिरले बाँदरमा राम्रो नतिजा दिएको छ । एक नयाँ अध्ययनका अनुसार यो औषधिले कोरोनाभाइरसबाट संक्रमित बाँदरहरुमा फोक्सोको रोग रोक्न सफल भएको छ । गिलियड साइन्सेजले तयार गरेको यो औषधिको परीक्षण रिपोर्ट मंगलबार नेचर जर्नलमा प्रकाशित भएको छ ।
प्रमाणिक जर्नलमा प्रकाशित हुनुभन्दा पहिले यो अध्ययनको निष्कर्षबारे अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआइएच)ले अप्रिलमा एक रिपोर्ट जारी गरिसकेको छ । अध्ययनका अनुसार जुन बाँदरहरुलाई रेम्डेसिभिर औषधि दिइयो उनीहरुमा श्वास प्रश्वासका रोगहरुको कुनै लक्षण देखिएन र यो औषधिले फोक्सोमा भएको नोक्सानीलाई पनि कम गर्यो । रोयटर्सका अनुसार शोधपत्रका लेखकहरुले रेम्डेसिभिरबाट उपचार गरिएका बाँदरहरुको फोक्सोमा भाइरल लोड वा भाइरसको मात्रा पनि कम पाइयो ।
लेखकहरुले कोभिड १९ बाट संक्रमित बिरामीमा निमोनिया रोक्नको लागि रेम्डेसिभिर औषधि छिटोभन्दा छिटो दिने विषयमा विचार गर्न सुझाव दिएका छन् । रेम्डेसिभिर कोरोनाभाइरसविरुद्ध प्रयोग गरिएको पहिलो यस्तो औषधी हो जो मानव परक्षिणमा पूर्ण रुपमा प्रभावकारी देखिएको छ । यो औषधिमाथि गरिएका अन्य क्लिनिकल स्टडीहरुमाथि पनि सूक्ष्म निरीक्षण भइरहेको छ ।
रेम्डेसिभिरलाई गत महिना जापानमा भेक्लरी नामको ब्राण्डबाट अनुमति दिइएको थियो । अमेरिका, भारत र दक्षिण कोरियामा कोरोनाभाइरसका गम्भीर बिरामीहरुलाई यो औषधी आकस्मिक प्रयोगको लागि दिइएको छ । केही युरोपेली देश पनि यो औषधीको प्रयोग गरिरहेका छन् ।
Facebook Comment