विश्वको पहिलो शहर जहाँ ‘हर्ड इम्युनिटी’बाट समाप्त हुँदैछ कोरोनाको संकट

डिसी नेपाल
२९ जेठ २०७७ १०:२६

काठमाडौं। इटली कोरोनाभाइरसबाट सर्वाधिक प्रभावित देशहरुमध्ये एक हो । तर, अब इतलीबाटै कोरोनाभाइरसविरुद्ध जीतको खबर आएको छ । कोरोनाभाइरसबाट नराम्रोसँग प्रभावित इटलीको बर्गामो शहर अब हर्ड इम्युनिटी हासिल गर्नेतर्फ अघि बढिरहेको छ । यो शहर हर्ड इम्युनिटीको नजिकै पुगेको छ ।

कुनै पनि संक्रमणविरुद्ध हर्ड इम्युनिटी हासिल गर्नु भनेको फेरि त्यो संक्रमणबाट संक्रमित नहुने गरी सुरक्षित हुनु हो । यसका लागि निर्धारित क्षेत्रको करिब ८० प्रतिशत जनताको शरीरमा संक्रमणविरुद्ध प्रतिरोधी शक्तिको विकास भइसकेको हुन्छ र उनीहरुको शरीरको प्रतिरोधी क्षमताले संक्रामक जीवाणुलाई मारिदिन्छ । प्रतिरोधी क्षमता विकास भइसकेकाहरुबाट संक्रमण र्दैन र उनीहरुबाट संक्रमण फैलन नपाएपछि बाँकी २० प्रतिशत जनतासम्म संक्रमण पुग्न पाउँदैन ।

द टेलिग्राफका अनुसार बर्गामो शहरमा २३ अप्रिलदेखि ३ जूनसम्म ९ हजार ९ सय ६५ जनाको रगतको जाँच गरिएको थियो । यसको नतिजा निकै आश्चर्यजनक र आशालाग्दो देखियो । रगत परीक्षणको नतिजामा ५७ प्रतिशत जनताको रगतमा कोरोनाभाइरससँग लड्ने एन्टिबडी विकास भइसकेको पाइएको छ ।

विश्वभरका विशेषज्ञहरुले मान्छन् कि ६० प्रतिशत जनता कोरोनाभाइरसबाट संक्रमित भएको अवस्थामा हर्ड इम्युनिटीको स्थिति बन्न सक्छ । यतो स्थितिमा कोरोनाभाइरसको चेन टुट्नेछ र नयाँ व्यक्तिहरु नगण्य रुपमा संक्रमित हुनेछन् ।

बर्गामोका स्वास्थ्य अधिकारीका अनुसार एन्टिबडी जाँचको लागि नमूना लिँदा कुनै आधार अपनाइएको थिएन । र्याण्डम तरिकाले लिइएका नमूनामा यस्तो नतिजा आएको हो । अधिकारीहरुले करिब १० हजार नमूनाको परीक्षण व्यापक भएकोले यसको नतिजा विश्वासयोग्य भएको बताएका छन् ।

यद्यपि आधिकारिक रुपमा यो प्रस्ट छैन कि यसरी एन्टिबडी विकास भइसकेका व्यक्तिहरु भाइरसबाट कति समयको लागि इम्युन हुन्छन् । यस विषयमा अनुसन्धान जारी छ र छिटै कुनै नतिजा सार्वजनिक हुन सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *