चीनबाट यसरी दबिएको छ भारत, बजारदेखि उपचारसम्म चीनकै कब्जा
काठमाडौं। पछिल्लो समय नेपाल भारतबीत सीमा विवाद बढिरहँदा भारत र चीनबीच पनि सीमा विवाद बढिरहेको छ । भारतले नेपाली भूभागभित्र पर्ने लिपुलेक, कालापानी र लिम्पियाधुरालाई आफ्नो भन्दै कब्जा गरेको छ । उता चीनले पनि पहिले लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)मा रहेको मानिएको ग्याल्वन उपत्यका कब्जा गरेको छ ।
जसरी नेपालले भारतलाई कालापानी, लिपुलेक र लिम्पियाधुरा छाडेर जान गरिरहेको आग्रह भारतले अस्वीकार गरेको छ त्यस्तै गरी भारतले पनि चीनलाई ग्याल्वन उपत्यकाबाट पछि हट्न भनेको छ तर चीनले पनि भारतको आग्रह अस्वीकार गरिदिएको छ । गत शनिबार दुई देशका सैन्य कमाण्डरस्तरीय वार्तामा दुई देशले कूटनैतिक पहल गरेर विवाद मिलाउने सहमति भएको भारतले दावी गर्यो । तर, चीनले वार्तामा आफ्नो अडान नछाडी ग्याल्वन उपत्यकाबाट पछि हट्न नमानेको र भारतको दावी झुटो भएको रिपोर्ट सार्वजनिक भइसकेको छ ।
यही बीचमा भारतमा चीनविरोधी अभियान सुरु भएको छ जसरी नेपालमा पनि भारतविरोधी अभियान चलिरहेको छ । रोचक त के भने जसरी नेपाल आफ्नै अत्यावश्यक वस्तुको लागि भारतमाथि निर्भर छ त्यसैगरी भारतको अर्थतन्त्र चीनको कब्जामा छ । भारतमा अहिले चीनविरोधी अभियान चलिरहेका बेला भारतीय अखबार दैनिक भास्करले एक रिपोर्ट प्रकाशित गरेको छ जसमा भारत चीनमाथि कतिसम्म निर्भर छ भन्ने तथ्यांक विस्तृतमा उल्लेख खरिएको छ ।
भारत–चीनबीचको व्यापारको परिमाण निकै ठूलो छ र यसलाई भारतले चाहेर पनि घटाउन सक्दैन । तथ्यांकका अनुसार अप्रिल २०१९ देखि फेब्रुअरी २०२० सम्मको अवधिमा भारत र चीनबीच ५ लाख ५० हजार करोडको कारोबार भएको छ । यसमा भारतले १.०९ लाख करोडको सामान चीनलाई बेचेको छ । जबकि यसको ४ गुणा बढी अर्थात ४.४० लाख करोडको सामान भारतले चीनसँग किनेको छ । अमेरिकापछि चीन भारतको दोस्रो ठूलो व्यापारिक देश हो । यो तथ्यांक भारतको उद्योग तथा बाणिज्य मन्त्रालयको हो ।
२०१९ को ९ जुलाइमा लोकसभामा रसायन मन्त्री डिबी सदानन्द गौडाले भारत जरुरी औषधि बनाउनको लागि प्रयोग हुने कच्चा पदार्थको लागि चीनमा निर्भर भएको बताएका थिए । गौडाका अनुसार २०१६–१७ देखि २०१८–१९ सम्म औषधिको लागि भारतले विदेशबाट किनेको कच्चा पदार्थमध्ये ६५ प्रतिशत चीनबाट मात्र आयात भएको थियो । २०१८–१९ मा भारतले कूल ३.५६ अर्ब डलरको कच्चा पदार्थ किनेको थियो । यसमा २.४० अर्ब डलरको कच्चा पदार्थ चीनबाट मात्र किनेको थियो ।
बाणिज्य मन्त्रालय अन्तर्गतको उद्योग तथा आन्तरिक व्यापार प्रबद्र्धन विभागको तथ्यांकका अनुसार भारतमा एफडिआइको माध्यमबाट सबैभन्दा धेरै लगानी सिंगापुरबाट आउँछ । सिंगापुरले विगत ३ वर्षमा २.९४ लाख करोड रुपैयाँभन्दा धेरै लगानी गरेको छ । जबकि भारतमा सबैभन्दा धेरै लगानी गर्ने देशहरुमा चीन १८ औं नम्बरमा छ । चीनले २०१९–२० मा १ हजार १५७ करोड रुपैयाँ लगानी गरेको छ । २०१४–१५ देखि २०१९–२० सम्म चीनले १२ हजार ९१६ करोड रुपैयाँ लगानी गरेको छ ।
चीनको एफडिआइ कम भए पनि त्यहाँका कैयौं कम्पनीको साझेदारी भारतका स्टार्टअप कम्पनीमा छ । थिंक ट्यांक गेटवे हाउसको रिपोर्ट अनुसार युनिकर्न क्लवमा सामेल भएका भारतका ३० स्टार्टअपमध्ये १८ स्टार्टअपमा चीनको लगानी छ । युनिकर्न क्लवमा ती कम्पनीलाई सामेल गरिन्छ जसको नेटवर्थ १ अर्ब डलरभन्दा धेरै हुन्छ ।
चीनका कम्पनीले भारतीय स्टार्टअपमा लगानी गर्ने तीन कारण छन् । पहिलो, देशका कुनै ठूला कम्पनी वा समूहले स्टार्टअपमा लगानी गर्दैनन् । दोस्रो, जब कुनै स्टार्टअप घाटामा गयो भने चीनका कम्पनीहरु त्यसमा साझेदारी किन्छन् र उसलाई सहयोग गर्छन् । तेस्रो, भारतको बजार ठूलो छ । गेटवे हाउसका अनुसार चीनको सबैभन्दा ठूलो इकमर्स कम्पनी अलीबाबा, टिकटक बनाउने कम्पनी बाइटडान्स र प्रविधि कम्पनी टेन्सेन्टले भारतका ९२ स्टार्टअप कम्पनीलाई सहयोग गरिरहेका छन् । यीमध्ये पेटिएम, फ्लिपकार्ट, बैजू, ओला र ओयोजस्ता स्टार्टअप कम्पनी छन् ।
रिसर्च फर्म काउन्टरप्वाइन्टको रिपोर्ट अनुसार २०२० को पहिलो त्रैमासिक अर्थात जनवरीदेखि मार्चको अवधिमा भारतीय स्मार्टफोन बजारमा चिनियाँ कम्पनीमा स्मार्टफोनको हिस्सेदारी ७० प्रतिशतभन्दा धेरै छ । भारतको स्मार्टफोन बजार करिब २ लाख करोड रुपैयाँको छ । भारतमा प्रयोग हुने टप ५ स्मार्टफोन ब्राण्डमध्ये ४ ब्राण्ड चीनका हुन् । सबैभन्दा धेरै ३० प्रतिशत बजार श्याओमीको छ । दोस्रो स्थानमा १७ प्रतिशत बजार हिस्साको साथमा भीभो छ । टप ५ मा चीनबाहिरको एकमात्र ब्राण्ड सामसुङ हो । दक्षिण कोरियाली ब्राण्ड सामसुङको भारतीय बजारमा १६ प्रतिशत हिस्सा छ ।
भारतीय बजारमा चीनका कम्पनीको स्मार्टफोन मात्र होइन चिनियाँ एप्सपनि निकै लोकप्रिय छन् । एक अनुमानका अनुसार भारतीय एप बजारमा ४० प्रतिशत हिस्सा चिनियाँ एपको छ । चीनका कम्पनहिरु सस्ता स्मार्टफोनहरु भारतीय बजारमा लञ्च गर्छन् र भारतीयले यिनीहरुलाई मन पराउँछन् । मार्केट रिसर्च फर्म टेकआर्कका अनुसार डिसेम्बर २०१९ सम्म भारतमा ५० करोडभन्दा धेरै मानिसहरु स्मार्टफोन प्रयोग गरिरहेका थिए । स्मार्टफोन धेरै भएसँगै एप्स डाउनलोड पनि धेरै हुन्छ । कैयौं पटक प्रतिबन्ध लगाउन माग उठिरहेको टिकटक एप १२ करोडभन्दा धेरै भारतीयले चलाउँछन् । क्यामस्क्यानर एपका पनि भारतमा १० करोडभन्दा धेरै प्रयोगकर्ता छन् ।
चीनमा भारतको निर्भरताका कैयौं उदाहरण छन् । यही वर्ष भारतीय उद्योग बाणिज्य महासंघको एक रिपोर्ट आएको थियो जसका अनुसार भारतीय गाडीमा उपयोग हुने अटो पार्टमध्ये २७ प्रतिशत चीनबाट आयात हुन्छन् । ४५ प्रतिशत विद्युतीय उपकरण चीनबाट आउँछन् । टिभी, रेफ्रिजेरेटर, वाशिङ मेसिन र एसी बनाउन प्रयोग हुने ७० प्रतिशत कम्पोनेन्टहरु चीनबाटै आयात गरिन्छन् । यति मात्र होइन भारतमा हरेक वर्ष करिब साढे ३ हजार करोडको सिन्थेटिक धागो, अढाइ हजार करोडको सिन्थेटिक कपडा र हजार करोडका टाँक, चेन, ह्याङ्गर र सियो जस्ता सामान चीनबाट आउँछन् ।
Facebook Comment