दोष कसको ? (कथा)
नदी किनार मान्छेको भीड छ ।
के भएछ भनी बुझ्ने हुट्हुटीले उसले आफ्नो पाइला त्यतै मोड्छ । मानिसको कल्याङ मल्याङ माझ उसले भर्खरै जन्मेको शिशु प्लाष्टिकमा बेरेर फ्याँकिएको देख्छ । शिशु भखैरै व्यूझेला जस्तो छ । सुन्दर ! उसको आङ जिरिङग हुन्छ । त्यस दृश्यले उसको मन कटक्कै खान्छ र मनभरि एक खाले बिरानोपन फैलिन्छ । अनायासै त्यस महिलाबारे गम्न पुग्छ । अनि फुस्फुसाउछ, “कति लाचार आमा ।”
अनेक कुरा गर्दैछन् रमितेहरु ।
कस्ती निठूरी आमा! नौ नौ महिना गर्भमा राखेर जन्माएको नानीलाई मारेर कसरी फाल्न सकेको होला? संसारमा जन्मदिने आमाको तुलना कसैसँग गर्नै सक्तैन भन्थे त्यो पनि झुटै रहेछ । अनि आमाले जस्तो माया त यो संसारमा कसैले पनि गर्दैन भन्थेँ, त्यो पनि बेकारै रहेछ कि भन्ने लाग्यो उसलाई ।
बच्चा हेर्दै तमासेहरु—‘च्वच्वच्व… कसरी फाल्न सकेको होला यसरी ? आफ्नो कलेजोको टुक्रालाई ?’
‘कुन मुटुले फ्याँक्न सकेको होला?’
‘कुन बाइफालेले कसको भुँडी बोक्यो होल अनि नफालेर के गरोस् त ?
‘सुत्दा आँखा देखेन । अहिले आएर बल्ल बाउको बिहे देख्यो होला नि त?’
‘अँ त नि, अवैध सम्बन्ध स्थापित गरेर भुँडी बोक्यो सजाय विचरो बच्चाले भोग्नु पर्यो ।’
‘हो त नि ! त्यस्को टाउको । यत्तिकै फ्याकेको भए भइहाल्थ्यो नि, मार्नै चाहि किन परेको होला? यत्तिकै फालेको भए त बच्चा रोएको सुनेर कोही न कोही आएर बचाउँथ्यो होला! या अनाथ आश्रम छेउ लगेर छोडिदिएको भए पनि हुन्थ्यो नि बरु ।’
‘हो नि! कोही कोही सन्तान भएन भनेर पैसाको खोलै बगाउँछन् । जपतप आदि इत्यादी गर्छन् । निसन्तान दम्पत्तिले पाएको भए कति खुसी भएर पाल्थे होला? कस्तो मतिभ्रष्ट आइमाई रै’छे । आमाका नाउँको कलंक ।’
मान्छे पिच्छेका भद्दा टिकाटिप्पणीहरु नचाहेर पनि सुन्नुपर्दा उसले पनि सोच्यो– ‘हुन त हो बरु नमारीकन फालेको भए त म आफैँ पनि लगेर पाल्थेँ नि…! के त्यस्तो परेर होला आफूले जन्माएको सन्तानलाई आफैँले मारेर फाल्नु पर्ने? ’नानाथरी कुरा सोच्न नपाउँदै परबाट अर्को एकहुल मान्छेहरु आइरहेको देख्यो उसले !
केही पुलिस र मनग्गे तमासेहरुका बिचमा झुकेको शिर, गलेको क्लान्त अनुहार र हातमा हतकडी लगाएकी एउटी कलिली सुन्दर युवतीलाई पनि देख्यो उसले । यताको झुण्ड फेरि त्यतैतिर थुप्रिन थालेपछि भने एउटी अधबैँशे महिला प्रहरीले झण्डै चिच्याउने शैलीमा डण्डी हल्लाउँदै मान्छेहरुलाई बाटो छोड्न भनिन् ।
नजिकैबाट हेर्दा झनै सुन्दर लाग्यो उसलाई ती युवती। अलि पुरानो कुर्ता सुरुवाल लगाएकी तर दुध रसाएर पूरै छाती भिजेको । आँखामा पश्चातापका आँसु साटो गहिरो उदासी देख्यो उसले । हतकडी लगाएकी ती युवतीलाई मृत बच्चाको नजिकै पु¥याएपछि प्रहरीले सोधपुछ शुरु गरे ।
‘ल भन यो तिमीले नै जन्माएर फालेको बच्चा हो कि होइन?’
‘कुनै नाजायज सम्बन्ध स्थापित गरेर पाएको सन्तान हो कि?’
‘बिहे भइसकेको कि छैन?’
‘नौ नौ महिना कोखमा राखेर जन्माइसकेपछि आफ्नो बच्चालाई मार्ने कत्रो आँट?’
त्यतिञ्जेल चुइँक्क पनि नबोलेर बसेकी युवतीले एकाएक धैर्यको बाँध टुटाउँदै भनिन् —
‘हो मैले नै पाएको र मैले नै मारेको । नमारेर के गर्नु त ? कुमारी आमालाई यो समाजले बाँच्न दिन्छ ? दिनदिनै मर्नुभन्दा एकैपटकमा मारेँ । मैले मेरो रहरले जन्माएको बच्चा हो र?’
‘तिम्रो रहरले नजन्माए कस्को करले पाएको त ?’
के संसारका सबै महिलाहरु त्यतिकै भाग्यमानी हुन्छन् जसले आफ्नो रहरले सन्तान जन्माउन पाउनलाई ?’
‘अनि तिमीलाई कस्ले कर पार्यो त ?’
तिनले पुछताछ गर्नेप्रहरीलाई क्रोधले हेरिन् र तिनीहरुतर्फ नै इङ्गित गर्दै भनिन् ‘तपाईहरुकै सहकर्मीले ।’
‘होइन यो आइमाइको त दिमागै फुस्क्याजस्तो छ ।’
‘हो मेरो दिमाग फुस्केकै हो । दिनभर पुलिस रातभर भुलिसले नै मेरो दिमाग फुस्काएको ।’
मान्छेहरुमाझ अलि खासखुस फैलियो । अघिदेखि नियालिरहेको उसले केरकार गरिरहेको पुलिसतर्फ हेर्दै भन्योे — ‘यत्तिकै ख्वारख्वार पार्नुभन्दा त पहिला के कारणले यसो गर्न बाध्य भइन् यी नानी ? यिनैलाई बेलिबिस्तार लाउन दिनुहोस् न बरु । यिनले आफ्नो अपराध स्वीकार गरी त सकिन्?’
उसको कुराको जवाफमा प्रहरी जङ्गियो —‘यस्ताहरुको के विश्वास ? यस्ताहरुले त जत्तिपनि मनगढन्ते कहानी बनाएर सुनाउन सक्छन् । हामीले यस्ता आइमाइहरुलाई नचिनेका हौँ र ?’
यत्ति के भनेको थियो युवती एक्कासी कड्किइ—‘के रे ? के रे ? मनगढन्ते कहानी बनाएर सुनाउँछन् रे ? तपाइलाई मेरो विवशताको के भेऊ । मैले कस्तो अवस्थामा यो निर्णय लिएँ ।
उसले लामो सुस्केरा लिई र आफ्नो कुरा अगाडि बढाई ।
‘भूकम्पले म अभागीलाई पीडाको अनन्त भूमरीमा छाडेर हाम्रो घरपरिबार सबैसबैलाई निलिदियो । हाम्रो पनि एकगाँस खान र लाउन पुग्ने सम्पत्ति थियो । म मेरो बाबाआमाका आँखाकी नानी थिएँ । छोरी भएता पनि मलाई मेरा आमाबाबाले कहिल्यै भेदभाव गर्नु भएन । छोरा सरह नै पढाउनु भएको थियो । त्यो दिन शनिबार परेकोले हामी सपरिवार हाँसीखुसी खानाखाँदै थियौँ । अचानक भूइचालोले सबै स्वाहा पारिदियो । मलाई मात्र यत्रो ठुलो संसारमा एक्लै छाडी अरुलाई लगिदियो । मान्छेको जातलाई जे परे पनि सहनु बाहेक अरु उपाय केही नहुँदो रहेछ । हाम्रो परिवारको एउटै मात्र बिउ म मात्रै रहेँ । हाम्रो घर भत्के पनि जग्गा छेउमा सानो पालको ओत लिएर बसेकी थिए । राहतको सामग्रीले जेनतेन जीवन धानेको थिएँ ।”
केही समय यता एकजना पुलिसले म एक्लो बसेको ख्याल गरेको रहेछ । ऊ साँझदेखि अबेर रातसम्म मापसे चेक गर्छ र त्यही निहुँमा दुइचार पैसा गोजीमा हाल्छ । अनि ड्युटी सकेपछि आफैँ तिनमाना रक्सी धोक्छ र मलाई जबर्जस्ती गर्न आउँछ । मैले आफूलाई बचाउन लाख कोसिस गरेँ, आफ्नो अस्मिता जोगाउन हरसम्भव प्रयास गरेँ । जत्तिगर्दा पनि मेरो केही लागेन । आखिर त्यसले मलाई एकदिन बलात्कार गरेरै छाड्यो । त्यसदिन देखि कुखुरा चोरेर खान पल्केको स्यालजस्तै गरेर हरेक रात आउँदै मेरो काँचो मासुमाथि दाइँ हाल्थ्योे । र, जाने बेलामा धम्की दिन पनि छाड्दैनथ्यो —‘हेर है केटी ! कसैलाई भनिस् भने तँलाई यहीँ टुक्राटुक्रा पारेर मार्छु र गिद्धलाई खान दिन्छु बुझिस् । मेरो त जागिरै पुलिसको कसले के गर्न सक्छ मलाई? तँैले उजुरै हाल्न गएछस् भने पनि तेरो कुरा पत्याउने कस्ले ?
यो पीडादायी जीवन बाँच्न नसक्ने अवस्थामा पुगेपछि मर्छु भनेर धेरैपल्ट प्रयास पनि गरेकी हुँ ! तर काल नआएपछि मर्न खोज्दा पनि मरिँदो रहेनछ ।
केही समय पछि मेरो नछुने हुन बन्द भयो । वाकवाकी आउन थालेपछि शंका त लागेको थियो । बेलैमा फालौँ भने पनि सुको पैसो थिएन साथमा । सित्तैमा कसैले फ्याकिदिन्नन् । हार गुहार गर्न र मनको बह पोख्नसम्म कोही भएन मेरो । त्यस जड्याहालाई भनेको त झन् उल्टै — ‘तँ साले रण्डीले क–कसको भुँडी बोकेर आइस् । मलाई पो टाँसो लाउन खोज्दिरै‘छे ! यस्तो सुनसान ठाँउमा एक्लै बस्छस् । रातभर कतिजनाले मैलेजस्तै प्यास मेटाउँदै जाँदो हो ? कुवा भएपछि पानी लिन जो पनि धाउँछन् अनि क–कस्को भन्दै हिँड्छस्?’
त्यत्ति भनेपछि मलाई नि त्यस्ता पशुसँग के अनुनय विनय गर्नु ? भन्ने लाग्यो । मान्छे भएको भए त त्यसो गर्ने नै थिएन होला नि ! त्यस्तो पशुलाई के भन्ने ? भन्ने लागेर भन्नै छाडेँ । पछिपछि त मलाई पनि मेरो कोखमा सास लिइरहेको सन्तानको माया लागेर आयो । मास पुगेपछि म एक्लैले जन्माए । सालनाल पनि म आफैँले काटेँ । बच्चा देख्नासाथ मायाको सागरै उर्लेर आयो । आमा हुनुको सुख यत्ति मीठो हुँदोरहेछ कि प्रसवका पीडा पनि बच्चाको मुख देख्नासाथ छिनभरमै कता भाग्दो रहेछ रहेछ ।
मैले मेरो बच्चालाई नुहाइदिएँ । दुध पनि पिलाएँ । आफ्नो सन्तानलाई आफ्नै छातीबाट निस्केको दुध चुसाउन पाउँदा मलाई अर्कै महसुस भयो । शब्दमा बर्णन गर्न सक्तिनँ म । एकटक लगाएर हेरिरहेँ जूनजस्ती मेरी छोरीलाई केही समयमा झसङ्ग भए । यो छोरीको नियति पनि मेरै जस्तो त होला ।
सोच्दा सोच्दै मलाई औडाहा भयो । अब एकछिन अघिको आमाको कोमल मन ढुङ्गा जस्तै कडा भइसकेको थियो ।
म कुमारी आमाले कसरी हुर्काउँला छोरी ? समाजले गर्ने अनेकौँ प्रश्नले हामी आमा छोरी दुवैलाई ठुँगेरै मार्ने कुरा निश्चितै छ । यो छोरीले पनि मजस्तै अर्काको यौनदासी भएर बाँच्नु पर्यो भने ?
यस्ता अनेक कुरा मनमा खेल्न थालेपछि लाग्यो, यदि मैले मेरी छोरीलाई साच्चिकै माया गर्दिरहिछु भने आजकै दिन यो संसारबाट मुक्ति दिनु पर्छ। मैले निश्चिन्त भएर मनलाई बाँधँे अनि मस्तले आमाको बिशाल काखमा निदाइरहेकी मेरी प्राणभन्दा प्यारी छोरीको नाभिमा बाँधेको धागोलाई बिस्तारै फुकाइदिएँ। त्यसपछि उसले पाउँदै गरेको मुक्तिलाई मैले घण्टौ निहारी रहेँ । जव उसले सास फेर्न छोडी । मन हलुका भयो । उसले मुक्ति पाई । कम्तिमा ऊ हुर्किने छैन अब । तरुनी हुने छैन । र, म जस्तो कसैको वासनाको सिकार पनि हुने छैन । यति सोचाइले पनि मलाई कहीँ नभएको आनन्द दियो ।
त्यस पछि मैले यहाँ ल्याएर फालिदिएँ।
छोरीको सास फुस्किदै गर्दा म पनि त मर्दै थिएँ बिस्तारै बिस्तारै । अब त म स्वयं पनि जीवन बेगरको एक लास मात्र हुँ । मैले छोरीलाई मारेर आफ्नै मनको अदालतबाट आफैँलाई सजाय दिइसकेको छु । अब तपाइहरुको पालो । उभ्याउनुस् तपाइँहरुको कानूनको कठघरामा र सुनाउनुस् सजाय । म सजाय भोग्न तयार छु ।
बरु तपाईहरु सबैले यत्ति चाहीँ भनिदिनुहोस् कि, के छोरी मान्छे भएर जन्मनु मेरो दोष हो ? अनि महिलाका लागि यो असुरक्षित संसार वा मेरो नियति… ? यसमा दोष कसको ?’
Facebook Comment