तेक्वान्दो पुम्सेको अनलाइन भिडियो च्याम्पियनशिप हुने

काठमाडौं । अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को आयोजनामा अनलाइन भिडियो पुम्से च्याम्पियनशिप हुने भएको छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड– १९ र लकडाउनका कारण तेक्वान्दो खेलप्रभावित भएको निष्कर्ष सहित आईओएफटीसीले दुई चरणमा अनलाइन प्रतियोगिता गर्न लागेको हो ।
पहिलो चरणमा जुन २१ देखि २७ तारिखसम्म कलर बेल्ट प्रतिस्पर्धा हुने आईओएफटीसीका संस्थापक एवं प्रतियोगिता निर्देशक दिवाकर महर्जनले जानकारी दिए । यल्लो, ग्रिन, ब्लु र रेड बेल्टको प्रतिस्पर्धामा पुरुष र महिलामा समान ७–७ गरी १४ विधामा प्रतिस्पर्धा हुनेछ ।
यसैगरी जुलाई १२ देखि १८ तारिखसम्म ब्ल्याकबेल्टतर्फ दोश्रो चरणमा हुनेखेलमा पुरुष र महिला समूहमा समान ११–११ गरी २२ पदकका लागि भिडन्त हुनेछ ।दुवै चरणको प्रतिस्पर्धा सबैका लागि खुला रहेको निर्देशक महर्जनले बताए ।
प्रतियोगितामा कम्तीमा पनि २५ राष्ट्रको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि सहभागीले दुई मिनेट भन्दा बढाएर श्रब्यदृष्य पठाउनु पर्ने छ । पठाइएको श्रब्यदृष्यलाई विश्व तेक्वान्दो महासंघबाट मान्यता प्राप्त निर्णायक प्यानलले मूल्यांकन गरी नतिजा सार्वजनिक गर्ने छन् ।।
Facebook Comment