संविधान संशोधन विधेयक पारित हुने दिन गगन थापाले संसदमा बोल्न नपाएपछि…
काठमाडौं। नेपाली कांग्रेसका युवा नेता गगन थापा वाकपटुतामा निपुण नेता हुन् । उनी कुनै पनि विषयमा प्रभावकारी रुपले धाराप्रवाह बोल्न सक्छन् । उनी विद्यार्थी राजनीतिमा छँदा नै उनको बोल्ने शैली लोकप्रिय थियो । उनको प्रभावशाली भाषणकै कारण धेरै युवाहरु उनको समर्थक भएका थिए । पछिल्लो समय संसदमा पनि उनले समय लिएर विभिन्न विषयमा बोल्दै आएका छन् । तर, शनिबार प्रतिनिधि सभाले संविधान संशोधन विधेयक पारित गर्दै गर्दा भने गगनले बोल्न पाएनन् ।
विधेयकमा मतदान हुनुअघि विधेयकमाथि दफावार छलफल भएको थियो । छलफलमा धेरै सांसदहरुले आ–आफ्नो धारणा राखे तर गगनले पाएनन् । गगनले पछिल्लो समय राख्दै आएका धारणा सुन्दै आएका धेरैले गगन कतिबेला बोल्छन् भनेर पर्खे । बोल्ने क्रम सकियो, मतदान भयो, विधेयक पारित भयो तर गगन बोलेनन् । समयमै संसद भपन पुगेका गगन आफ्नो धारणा नराखी बाहिर निस्किए ।
आज किन नबोलेको भनेर धेरै साथीले सोध्नुभएको छ।
संविधान संशोधन जस्तो महत्त्वपूर्ण विषयको दफावार छलफलमा सभामुखले दललाई समय तोकेर दिने,दलले मान्छे तोकेर बोल्न दिने अनि बोल्न पाउँ भन्दा सभामुखले दल लाई भन्नुस भन्ने!! चलन यस्तै हो रे!
यस्तै चलनले हो सांसदको भूमिका खुम्चिएको।
— Gagan Thapa (@thapagk) June 13, 2020
गगन किन नबोलेको ? भन्ने विषयमा धेरैको जिज्ञासा उठेपछि अन्ततः गगनले ट्वीटरमार्फत यसको जवाफ दिएका छन् । गगनले घुमाउरोपारामा आफूलाई आफ्नै पार्टीले बोल्न नदिएको बताएका छन् । पार्टीको संसदीय दलले बोल्ने सांसदको नामै किटेर दिएकोले आफूले बोल्न नपाएको उनको स्पष्टीकरण छ । गगनले लेखेका छन् ‘आज किन नबोलेको भनेर धेरै साथीले सोध्नुभएको छ । संविधान संशोधन जस्तो महत्त्वपूर्ण विषयको दफावार छलफलमा सभामुखले दललाई समय तोकेर दिने, दलले मान्छे तोकेर बोल्न दिने अनि बोल्न पाउँ भन्दा सभामुखले दललाई भन्नुस भन्ने !! चलन यस्तै हो रे ! यस्तै चलनले हो सांसदको भूमिका खुम्चिएको ।’
Facebook Comment