रुकुम (पश्चिम) घटनामा वडाध्यक्ष याेजनाकार ! (प्रतिवेदनसहित)
काठमाडौं । पश्चिम रुकुममा नवराज वि.क. सहित ६ जनाको ज्यान जाने गरी भएको सामूहिक हत्या प्रकरणमा वडाध्यक्षको संलग्नता रहेको देखिएको छ। घटनाको छानविन गर्न गृह मन्त्रालयका सह–सचिव जितेन्द्र बस्नेतको नेतृत्वमा बसेको टोलीको प्रतिवेदनमा वडाध्यक्ष डम्बरबहादुर मल्ललाई रुकुम घटनाको योजनाकार भनिएको छ ।
गृहमन्त्रालयले सोमबार प्रतिवेदन सार्वजनिक गर्दै चोरजहारी नगरपालिका वडा नं. ८ का जनप्रतिनिधिको प्रत्यक्ष संलग्नता भेटिएको जनाएको छ ।
प्रतिवेदनमा भनिए अनुसार वडाध्यक्ष मल्लले युवतीको घरमा आएका विक र उनको साथीहरुलाई नियन्त्रणमा लिन स्थानीयलाई भेला गर्नुका साथै नेपाल प्रहरीलाई समेत गुमराहमा राखेका छन्।
मल्लले लकडाउनको समयमा जाजरकोटबाट केटाहरु छिरे भन्दै नियन्त्रणमा लिने योजना बनाएको पाइएको छ । त्यसपछि ९८४८९६९७३३ नम्बरको मोबाइलबाट उनले मानबहादुर मल्ललाई ९८६६८६८९६८, नेत्रबहादुर मल्ललाई ९८४१५३७६७३ नम्बरमा फोन गरी गाउँलेलाई एकीकृत गराएको पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
वडाध्यक्षले गलत सूचना दिएका कारण प्रहरी समयमा घटनास्थलमा पुग्न नसकेको पाइएको छ ।
वडाध्यक्ष मल्लसहित ३४ प्रतिवादीविरुद्ध जिल्ला अदालत, रुकुममा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय भेदभाव तथा छुवाछुत ऐन अनुसार कारबाहीका लागि मुद्दा दर्ता भएको छ ।
Facebook Comment