राजा महेन्द्रको चस्मा र अहिलेका जासुसहरु
उहिले सूचना प्रविधि थिएन तर शासकलाई प्रचुर ईण्टेलिजेन्स थियो। एकदिन बाह्य दबाव र तनाव कम गर्न राजा महेन्द्र चितवन राष्ट्रिय निकुञ्ज सवारी भयो। काठमाडौंलाई फोन सम्पर्क आवा खबर नगर्न अह्राइयो। राजा कहाँ छन् बिदेशी जासुसीलाई पत्तो नदिनु भनियो।
खोला किनारबाट राजाले भाइभारदार मन्त्रीलाई पालमा प्रतिक्षा गर्न अह्राइबक्सियो। पालमा टेबुलमाथि राजाको कालो चस्मा देखेर सबै भागा रे भाग ……………
चस्माको नामै ईण्टेलिजेन्स। भारत, चीन, जापान, युरोप, दार्चुला, इलाम, मुस्ताङको तिलको बियाँ देख्ने महेन्द्र राजाको चस्मा।
राजा वीरेन्द्रको चस्मा धमिलो हुँदै गयो। पछि भुत्ते भयो, बाघ र चितुवा छुट्याउन नसक्ने। बि.सं.२०४६ पछिको उत्साहजनक परिवर्तनले राजा आफैं जासुसी चस्माहरुको सिकार बन्न पुगिबक्स्यो।
नेपाल अनगिन्ति आयातित् चस्माहरुको रमाइलो खुला बजार बन्यो। थरिथरिका चस्माले मिसन लञ्च गर्न शुरु गरे। भारतीय जासुसी चस्माहरुलाई चीनले घेराबन्दी गर्यो। युरोपका जासुसी चस्माहरु बजारभरि बिभिन्न मिसन लिएर फाल हाने।
अमेरिकन चस्माहरुको मिसन छँदै थियो। राजधानी, मनाङ, मुस्ताङ, मधेस, हिमाल नदी सिमाना सबै जासुसहरुको एण्टिनाको रेञ्जभित्र परे। कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, धर्म, संस्कृति, प्राकृतिक सम्पदा सबैमाथि एण्टिनाका सिंग जडान भए। हामी निर्वस्त्र भयौं। त्रुटिकर्ता हामी (शासक) आफैं थियौं।
हाम्रा रणनीति, परियोजना, युद्धकला, तालिम, निर्णय छताछुल्ल भए। क्याविनेटको एजेण्डाहरु अग्रीम जासुसहरुको हातमा पुग्न थाले। एजेण्डा के छ? निर्णय के हुँदैछ? पक्ष विपक्षमा को को छन्? सबै बिदेशी जासुसहरुले अग्रीम सूचना पाउन थाले। उनीहरुको इस्पियोनाज मिसनले सर्वत्र जरा गाड्यो।
प्रोपोगाण्डा, काउण्टर प्रोपोगाण्डा योजना बनाइदिन हाम्रा एजेण्टहरुले खुलेयाम सघाउन थाले। कुन एजेण्डा पास गराउने? कुन फेल गराउने? कसलाई के बोल्न लगाउने? कसलाई उपस्थित र अनुपस्थित गराउने? कसलाई किन्ने कसलाई बेच्ने र कसलाई अपहरण गर्ने, कसलाई मार्नेसम्मका अप्राकृतिक र अस्वभाविक गठबन्धन एवं कृत्रिम तथा आपराधिक योजना, गतिबिधि हुन थाल्यो नेपाल आमाको पवित्र काखमा।
हरेक प्रधानमन्त्री, रक्षा, गृह, परराष्ट्रलगायतका मन्त्रालयका बुझबुझारथ हुँदै आएका गोप्य ऐतिहासिक दस्ताबेज, प्रमाण, दशीहरुको संरक्षण र रक्षा गर्ने काम आजका मितिबाट शुरु गर्न उपयुक्त हुने छ। अरु सबै मन्त्रालयहरु, सुरक्षा निकायहरु र बिभागहरुले गोपनीयता कायम र खबर तथा सूचना एवं गोप्य दस्तावेजहरुको भरपर्दो सुरक्षा प्रणाली अख्तियार गर्न १ सेकेण्ड ढिलो गर्नुहुँदैन।
२०४६ को परिबर्तन सँगसँगै भित्रिएको यो विकृति ऐंजेरुजस्तै हुँदै गयो र उत्कर्षमा पुग्यो। २०६३ को परिवर्तनले एउटा ऐंजेरु अर्को ऐंजेरुसँग जेलिएपछि वर्तमान कोरोना भाइरसको भन्दा जटिल रुप लियो।
ऐले हरेक मन्त्रालय, विभाग, संगठन, कार्यालय र सुरक्षा अंगहरुमा बिदेशी जासुसी चस्माहरुको ओइरो पहिरो छ। हामीसँग इन्फर्मेसन छैन। तर हाम्राबिरुद्ध तैनाथ ती जासुसहरुसँग इण्टेलिजेन्स छ। इन्फर्मेसनहरु घोलेर मथेर जोडेर इन्टेलिजेन्स बन्ने हो। इन्फर्मेसन नै नभएपछि कसरी इण्टेलिजेन्स होस्।
हाम्राबिरुद्ध जासुसी गर्ने जासुससँग इण्टेलिजेन्समात्र होइन त्यसबाट निस्किने बिश्लेषण (एनालाइसिस्) र निचोडसमेत छ। हाम्रो वर्तमान यही हो। यो सुन्न सुनाउन लाजमर्दो छ। तर, घर आँगनको यथार्थ यही हो। प्रधानमन्त्रीले पिथौरागढ लिपुलेक सडक निर्माणको खबर पाइन भनेको यथार्थ सत्य हुन सक्दछ। क्याविनेटका निर्णयहरु तत्काल एस.एम.एस.गरेर बिदेशी मालिककोमा पुर्याएको झन् सत्य हो।
राजा ज्ञानेन्द्रको शासनकालमा कालापानी र सुस्ताबारे अध्ययन प्रतिबेदन बुझाउन ४ सदस्यीय टास्क फोर्स गठन भयो। पंक्तिकार मोटरसाइकल र पैदल यात्रा गरेर रग् रग् घर आँगनमा पुगेर सत्य तथ्य संकलन गरें। प्रतिवेदन राजाको रातो बाकसमा सुरक्षित भएको सुनेर कार्यान्वयनको प्रतिक्षामा थिएँ।
भूमि त भइगयो जनता पनि विरानो बन्दै जान थालेको बुझेपछि त्यहाँका जनतालाई राज्यले सम्वोधन गर्नुपर्ने र उनीहरुसम्म राज्यको पहुँच पुग्नुपर्नेजस्ता सुझावहरु दिइएको थियो। ती सुझावहरु कार्यान्वयन भएनन् बरु थन्किए रातो बाकसभित्र।
राजाहरुले श्री पेचलाई भन्दा बढी महत्व दिएर राष्ट्रिय हित र सुरक्षाका कागजातहरु सुरक्षित राखिदिएको रातो बाकस ऐले गायब भएको छ। चुच्चे सग्लो नक्साहरु उहिले गायब गरिएका थिए।
हरेक प्रधानमन्त्री, रक्षा, गृह, परराष्ट्रलगायतका मन्त्रालयका बुझबुझारथ हुँदै आएका गोप्य ऐतिहासिक दस्ताबेज, प्रमाण, दशीहरुको संरक्षण र रक्षा गर्ने काम आजका मितिबाट शुरु गर्न उपयुक्त हुने छ। अरु सबै मन्त्रालयहरु, सुरक्षा निकायहरु र बिभागहरुले गोपनीयता कायम र खबर तथा सूचना एवं गोप्य दस्तावेजहरुको भरपर्दो सुरक्षा प्रणाली अख्तियार गर्न १ सेकेण्ड ढिलो गर्नुहुँदैन।
तथ्यहरु खोज्ने आदेशको पालना गर्दै मुलुकको वास्तविक सीमानाबारे पुराना दस्तावेजहरु नापी महाशाखाबाट ‘पहिला थियो ऐले हरायो’ भन्ने जवाफ सुनेर रित्तो हात फर्केको पंक्तिकारको तितो अनुभवको आधारमा प्रस्ताव गरेको सुझाव हो यो।
जासुस छिर्ने छिराउने अभियानबाट नेपाली सेनाजस्तो अराजनीतिक, अनुशासित र व्यबसायिक संगठनसमेत अछुतो रहेन। द्वन्द्वकालमा जंगी अड्डाको संवेदनशील बिभाग हाँकेर द्वन्द्वरत पाटीलाई सूचना, श्रोत साधन, समर्थन दिने युनिफर्ममा सुसज्जित जर्नेलहरुको धोका अकल्पनीय र अक्षम्य थियो। अरुको कुरा परै जावस्।
सरकारलाई राष्ट्रिय हित र राष्ट्रिय अखण्डताको रक्षा गर्न टाउको दुःखाउनु नपरेपछि राज्यका इण्टेलिजेन्स एजेन्सीहरु स्वभावतः निस्तेज, निश्क्रिय, भुत्ते हुँदै गए। अझ सूचना संयन्त्रहरुको चरम दुरुपयोग हुन थाल्यो।
धनी, व्यापारी, पैसावाल, तस्कर, आदिको सूचना लिने काम शुरु भयो। सरकार र हाकिमहरुले आफ्नो बिरोधीको सूचना संकलन र अभिलेख राख्ने काम गर्न थाले। सिभिल सुप्रिमेसी, प्रजातान्त्रीकरण र समावेशीकरणको नाममा सुरक्षा निकायभित्र चरम राजनीति छिर्यो। राजनीतिसँगसँगै घातक जासुस सक्रिय भए।
१/२ वटा धक्काले नेपाली सेनालाई समेत हल्लायो। २०६३ को क्रान्तिकारी परिवर्तनले राष्ट्रिय सुरक्षा परिषद खारेजीको षड्यन्त्र अगाडि सार्यो। त्यति महत्वपूर्ण संरचना र उद्देश्य बोकेको राष्ट्रिय संस्थालाई भत्काउनुको राष्ट्रघाती उद्येश्य छर्लङ्गै थियो। धन्य, त्यो संस्था वाल वाल बच्यो। तर ऐले फेरि डम्पिङ ग्राउण्ड भएको छ।
राष्ट्रिय अनुसन्धान विभागको संयन्त्रलाई पार्टीकरण गरेर भर्ती र घर काज केन्द्र बनाइएको छ। राष्ट्रिय इण्टेलिजेन्स संयन्त्र भुत्ते र फुच्चे भएको छ। अन्तर्राष्ट्रिय जासुसी जालोले सिंहदरवार घेरिएको र बेरिएको छ। दुबै राज्यका अहितकारी खतरा निम्त्याउने हामी आधुनिक परिबर्तनकामी शासकवर्ग हौं। कोर्स करेक्सन र सुधारको समय घर्किसकेको छ। तथापि ओभरहलिङ गर्न सक्ने ठाउँ छ अझै पनि।
अव के गर्ने त ?
हरेक सरकार प्रमुखले ढुक्क भएर बुझे हुन्छ मुलुकको जासुसी जालो आफ्नाबिरुद्ध परिलक्षित छ। राष्ट्रिय हित र रक्षाका बिरुद्ध परिलक्षित छ। त्यो बर्तमान कोरोनाभन्दा धेरै गुणाबढी हानिकारक छ। बैदेशिक हस्तक्षेपबाट निर्देशित छ। एन.जि.ओ, आई एन जिओ, स्वयंसेवा संघ संस्था, अधिकारकर्मी र धार्मिक लगायतका आवरणभित्रको नांगो धारिलो खुकुरीको रुपमा हामीलाई काट्न मार्न उद्यत छ।
तसर्थ तत्काल राष्ट्रिय बिज्ञहरुको गोष्ठी आयोजना गरेर भावी रोडम्याप तय गर्नु उपयुक्त हुने छ। साथै राष्ट्रिय सुरक्षा परिषदलाई पुनर्जीवन दिई स्वतन्त्र र प्रभावकारीरुपमा राष्ट्रिय हित र सुरक्षाका खातिर काम गर्ने स्पष्ट म्याण्डेट दिन आजबाटै प्रारम्भ गर्नु बुद्धिमानी हुनेछ।
नेपाल अनगिन्ति आयातित् चस्माहरुको रमाइलो खुला बजार बन्यो। थरिथरिका चस्माले मिसन लञ्च गर्न शुरु गरे। भारतीय जासुसी चस्माहरुलाई चीनले घेराबन्दी गर्यो। युरोपका जासुसी चस्माहरु बजारभरि बिभिन्न मिसन लिएर फाल हाने।
राष्ट्रिय सुरक्षा परिषद बलियो हुँदा राष्ट्रिय शक्ति मजबुत् हुने हो। सरकारलाई खतरा होइन बल प्राप्त हुने हो। सूचना र शक्तिको भरपर्दो मुहान हो त्यो शक्तिशाली परिषद। तसर्थ, त्यसको सशक्तीकरणमा विशेष प्राथमिकता र ध्यान दिनु बान्छनीय हुनेछ। त्यसले राष्ट्राध्यक्ष र सरकार प्रमुखलाई हरेक परिस्थितिको अद्यावधिक सूचना प्रवाह गरिरहने छ। आफ्नो सूचनाको चुहावटलाई रोकथाम गर्ने छ। युनिफाइड कमाण्डको असल मर्म र भावनानुसार सबै सुरक्षा निकायहरुलाई एउटा छातामुनि आबद्ध गरेर राख्ने छ।
यो साहसिक कदमबाट मुलुकमा क्रियाशील विदेशी जासुसी जालो क्रमशः निस्तेज भएर जाने छ। यो जालो तोड्न सरकारले हिम्मतिलो र कठोर निर्णय गर्नुपर्दछ। त्यो साहसिक निर्णय यही सरकारले तत्कालै लिनु बान्छनीय हुनेछ। नेपाल विश्वको टावर हो। यो टावर अरुको लागि प्रयोग भइरहेको छ। धेरै, हाम्रा आफ्ना बिरुद्ध प्रयोग भइरहेको छ। साइवर सुरक्षा, टावरको सदुपयोग हाम्रा आफ्ना लागि हुन जरुरी छ।
सरकारी केन्द्रीय अनुगमन र नियन्त्रण प्रभावकारी हुन जरुरी छ। ऐले सर्पको खुट्टा सर्पले देख्ने डरले तैं चुप मै चुप् छन् सबै। तर, सरकार र महंगा एजेण्टले बुझ्न जरुरी छ कि सबै जासुसहरुको अभिलेख जनताहरुसँग छ।
७ सालका जनता ठानेर ठालुहरुले लाज र बुज पचाइरहेका छन्। तर उनीहरुको मुहान, मिसन, वफादारिता र तलब जनतालाई एक एक हिसाब किताब छ। सबै सुरक्षा निकायहरुसँग अभिलेख छ। घर परिवार, इष्टमित्र, छिमेकीले थाहा नपाउने कुरै भएन।
जनताले निरन्तर अनुगमन गर्नुपर्दछ आफ्नो सरकार, कार्यकर्ता, कामदार र परिवारजनको। छोराछोरीले बाउलाई र श्रीमतीले श्रीमान्लाई ‘बिदेशीको जासुस भएर देश र समाजलाई हानि घात् नगर’ भनेर घाँटी समाउनुपर्दछ। हामीलाई विदेशी गुरुहरुले ताँती लागेर आउने र गोप्य गर्ने तथा क ख ग घ पढाउने अपमानजनक जासुसी खेल पनि बन्द हुनुपर्दछ।
सबैभन्दा प्रभावकारी अनुगमनकर्ता संचारकर्मीहरु हुन्। उनीहरुको प्रतिबद्धता र संकल्पले मुलुकलाई छिटो बिदेशी हस्तक्षेपमुक्त र बिदेशी जासुसमुक्त राख्न सकिन्छ।
हामीले नक्शा बुच्चे भएको थाहा पाएनौं। त्यो नक्शा बुच्चे भएको होइन हामी बुच्चे र फुच्चे भएका हौं। सरकारले आफ्नो टाउको माथि डोजर चलाएर बमबारी गर्दै बाटो खनेको थाहा पाएन। त्यो नो इन्फरमेसन वा शून्य इण्टेलिजेन्स हो।
अझै थाहा नपाएका बिगार र नोक्सानीका सूचनाहरु अनगिन्ति छन् र हामी अनविज्ञ छौं। अबको इण्टेलिजेन्स सिंगो देशलाई सुरक्षा र सम्बृद्धि दिने किसिमको हुनुपर्दछ। राष्ट्रिय हित र राष्ट्रिय सुरक्षा परिलक्षित हुनुपर्दछ।
हिम्मत र साहस प्रदर्शन गर्ने अवसर पाएका वर्तमान सरकार प्रमुखले मुलुकको सूचना संयन्त्रलाई चुस्त दुरुस्त बनाउन् ताकि भोलि कसैले नेपाल आमाको छातीमा डोजर कुदाउँदा थाहा पाइनं भन्ने अवस्था नआओस्।
Facebook Comment