चीन–भारत द्वन्द्वले नेपाललाई के असर गर्छ?

मदन कोइराला
३ असार २०७७ १२:२०

काठमाडौं। लद्दाखको हिमाली सीमा क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको छ। बिना हतियार तैनाथ हुने यहाँका सैनिकले ढुंगामुढालाई नै हतियार बनाएर एक अर्कामाथि आक्रमण गरेका हुन्। २० जना भारतीय सैनिकको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको छ।

चिनियाँ सेनातर्फ पनि ठूलो संख्यामा हताहती भएको दावी गरिएको छ। तर, चीनका तर्फबाट यसको पुष्टि भएको छैन। दुई देशबीच सीमा विवाद बढिरहेका बेला यसले नेपाललाई कस्तो असर पार्छ भन्ने विषयमा पनि चासो बढिरहेको छ।

दुई छिमेकी देशहरुबीच तनाव बढ्दा यसले नेपालमा पनि प्रत्यक्ष र परोक्ष दुवै किसिमको प्रभाव पार्छ। पहिलो, यी दुई देशबीचमा जस्तै नेपाल र भारतबीच पनि सीमा विवाद छ। भारतसँग सीमा विवाद भए पनि त्यो क्षेत्र चीनको समेत सीमामा पर्ने भएकोले नेपालको सरोकारमा चीन र भारतको सम्बन्धले प्रभाव पार्नेछ। अर्कोतर्फ भारतीय सेनामा ठूलो संख्यामा नेपालीहरु कार्यरत छन्।

अहिले चीनसँग भिडन्त भएका र मारिएका सैनिकहरु बिहार रेजिमेन्टका भएको बताइएको छ। यद्यपि सीमामा गोर्खा रेजिमेन्ट पनि तैनाथ छ र गोर्खा रेजिमेन्टमा नेपालीहरु छन्। १९६२ मा भारत–चीन युद्ध हुँदा चीनले गोर्खा रेजिमेन्टलाई ४ महिनासम्म घेरेर राखेको थियो। त्यसैले पनि यो क्षेत्रमा विवाद बढ्दा नेपालीहरु प्रत्यक्ष रुपमा प्रभावित हुने निश्चित छ। दुई देशबीच विवाद बढिरहँदा नेपालले पनि यस विषयमा आफ्नो पहल अगाडि बढाएको छ।

बुधबार बिहानै नेपाली सेनाका प्रधानसेनापति पूर्ण चन्द्र थापा र सशस्त्र प्रहरी बलमा महानिरीक्षण शैलेन्द्र खनाल दार्चुलाको नेपाल भारत सीमा क्षेत्रमा पुगेका छन्। नेपालले सीमा क्षेत्रमा गस्ती बढाएको र सुरक्षा निकायका प्रमुखहरु समेत सीमा क्षेत्र अवलोकनका लागि जाँदा यसले स्वभाविक रुपमा भारतमाथि दबाब बढाएको छ।

भारत दबाबमा आएको केही दिनअघि देहरादुनमा आएका भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे र भारतीय रक्षामन्त्री राजनाथ सिंहको अभिव्यक्तिमा पनि झल्किन्थ्यो। दुवैले देहरादूनमा आएर नेपालसँग भारतको बलियो सम्बन्ध रहेको र यो सम्बन्ध कसैले तोड्न नसक्ने बताएका थिए। जबकि केही दिनअघि उनीहरुले नै नेपाल चीनको उक्साहटमा लागेर भारतविरुद्ध उत्रिएको आरोप लगाएका थिए।

नेपालसँग सिमाना जोडिएका एसियाका दुई ठूला र शक्तिशालीबीच तनाव बढ्दा त्यसको प्रभाव नेपालमा पनि पर्ने विज्ञहरुले बताएका छन्। असंलग्न परराष्ट्र नीति अंगालेको नेपालले आपसी वार्ता र संवादमार्फत नै समस्या समाधान गर्न आग्रह गर्नुपर्ने चीनका लागि पूर्व नेपाली राजदूत हिरण्यलाल श्रेष्ठले बताए।

‘सीमा विवादका विषयमा दुई छिमेकी मुलुकका सैनिकबीच मुडभेडमा सैनिक हातहाती हुनु दुखको कुरा हो,’ पूर्व राजदूत श्रेष्ठले डिसी नेपालसँग भने, ‘दुई देशबीचको सीमा विवाद वार्तामार्फत समाधान गर्नुपर्छ। नेपाल कसैको पक्षमा लाग्ने कुरा आउँदैन।’

सीमा जोडिएका अधिकांश मुलुकसँग भारतको सीमा विवाद छ। भारतसँग नेपालको ७१ ठाउँमा सीमा विवाद छ। भारतले अक्रिमति गरेको नेपाली भूमि समेटेर नेपालले कही समय अगाडि नक्सा जारी गरेको छ। त्यसलाई संविधान संशोधनमार्फत बैधानिकता दिने काम पनि भएको छ।

चीन र भारतबीचको सीमा विवादले नेपालसँगको सीमा विवाद पनि वार्तामार्फत नै टुंग्याउन भारतमाथि राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति सृजना भएको उनको तर्क छ। ‘यसअघि १९६२ मा भारत र चीनबीच सीमाका विषयमा युद्ध भएको थियो।

अहिले चीन त्यो भन्दा धेरै अगाडि बढिसकेको छ,’ पूर्व राजदूत श्रेष्ठले भने, ‘अमेरिकासँग प्रतिश्पर्धा गर्ने चीनसँग भारतले वार्तामार्फत नै सीमा विवाद हल गर्न खोजेको देखिन्छ। यस्तो अवस्थामा नेपालसँगको सीमा विवाद पनि वार्तामार्फत नै समाधान गर्न भारतमाथि अन्तर्राष्ट्रिय परिस्थिति सृजना भएको छ।’

भारत र चीनबीचको सीमा विवाद र नेपाल र भारतबीचको सीमा विवाद फरक भएकाले भारत र चीनको सीमा विवादलाई नेपालसँगको सीमा विवादमा जोड्न नहुने बताउँछन् नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजाल। चीन र भारत दुवैसँग नेपालको सीमा जोडिएका कारण यो घटनालाई नेपालले सचेततापूर्वक हेर्नुपर्ने उनको भनाइ छ।

चीन र भारतबीच युद्ध भएको अवस्थामा त्यसको असर नेपालमा पनि पर्ने भन्दै उनले वार्तामार्फत नै समस्याको समाधान गर्नुपर्ने बताए। ‘भारतीय सेनामा कयौं नेपाली कार्यरत छन्। युद्ध भएको अवस्थामा भारतीय सेनामा कार्यरत नेपाली पनि सहभागी बन्छन्,’ रिजालले डिसी नेपालसँग भने, ‘त्यसको असर हाम्रा गाउँ घरसम्म पर्नसक्छ। त्यो बाहेक पनि दुई छिमेकीबीच युद्ध भयो भने नेपालमा अन्य धेरै क्षेत्रमा असर पर्छ।’

पूर्व राजदूत श्रेष्ठले नेपालले भारतले अतिक्रमित गरेको नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि अब कालापानीबाट भारतीय सेना फिर्ता पठाउँदा चीनलाई समेत फाइदा हुने बताउँछन्। नेपाली भूमि चीन र भारत विरुद्ध प्रयोग हुन नदिने पनि कालापानीबाट भारतीय सेना फिर्ता पठाउनु पर्ने उनको तर्क छ। त्यसका लागि नेपालले भारतलाई वार्ताका लागि आग्रह गरेको उल्लेख गर्दै वार्तामा बस्दा सबै तथ्य प्रमाण लिएर वार्ताको टेवुलमा बस्नु पर्ने उनको भनाइ छ।

नेपाली सेनाका पूर्व सेनापनि गौरव शमशेर राणाले भने चीन र भारतबीच भएको विवादका विषयमा नेपालले चासो राख्नु पर्ने कारण नभएको बताए। ‘अहिले यो विषयमा (चीन र भारतबीचको विवाद) हामीले सोचाइ राख्नु उचित होइन,’ पूर्वसेनापति राणाले डिसी नेपालसँग भने, ‘अहिले मुलुक कोभिड–१९ को मारमा छ। त्यसबाट कसरी बच्ने भन्ने विषयमा हामी चिन्तित हुनुपर्छ। चीन र भारतबीच भएको सीमा विवादका विषयमा हामीले ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता छैन।’

यो समाचार तयार पार्दासम्म भारत र चीनबीच भएको सीमा विवादका विषयमा नेपाल सरकारले औपचारिक धारणा सार्वजनिक गरेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *