कोरोनाभाइरसः ज्यान बचाउन सक्ने पहिलो औषधिको सफल ट्रायलपछि डब्लुएचओले के भन्यो ?

डिसी नेपाल
३ असार २०७७ १३:१०

काठमाडौं। कोरोनाभाइरसको उपचारमा डेक्सामेथासोन औषधिको ट्रायलको सुरुवाती नतिजाको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्वागत गरेको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुले डेक्सामेथासोन औषधिको करिब २ हजार बिरामीमा परीक्षण गरेका थिए । ट्रायलमा यो औषधि कैयौं बिरामीको ज्यान बचाउन सफल रहेको पाइयो ।

वैज्ञानिकहरुका अनुसार डेक्सामेथासोन पहिलो यस्तो औषधी हो जो कोरोना बिरामीको ज्यान बचाउन सफल भइरहेको छ । बेलायत सरकारले डेक्सामेथासोन औषधिबाट कोरोना बिरामीको उपचारको अनुमति दिएको छ । यो एक पुरानो र सस्तो औषधि हो । अनुसन्धान टिमका नेतृत्वकर्ता डा. मार्टिन ल्याण्ड्रेले भनेका छन् कि जहाँ पनि उचित हुन्छ अब ढिलाइ नगरी अस्पतालमा भर्ना भएका बिरामीहरुलाई यो औषधि दिइनुपर्छ । तर, बिरामीले डाक्टरको सल्लाहबिना यो औषधि आफैं किनेर भने खानु हुँदैन ।

बीबीसीका अनुसार डेक्सामेथासोनबाट खासगरी भेन्टिलेटर र अक्सिजन सपोर्टमा रहेका बिरामीहरुलाई फाइदा भएको पाइएको छ । यद्यपि हल्का लक्षण भएका बिरामीमा यो औषधिबाट के कति लाभ हुन्छ भन्ने पुष्टि हुन बाँकी छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडह्यानम घेब्रियेसुसले भने ‘यो पहिलो यस्तो उपचार हो जसबाट भेन्टिलेटर र अक्सिजन सपोर्टमा रहेका बिरामीको मृत्युदर घटिरहेको देखिएको छ । यो धेरै राम्रो खबर हो । म बेलायत सरकार, अक्सफोर्ड युनिभर्सिटी र अन्यलाई बधाइ दिन चाहन्छु ।’

ट्रायलमा पाइएअनुसार भेन्टिलेटरमा राखिएका बिरामीमा यो औषधि दिएपछि मृत्युको खतरा एक तिहाइ घटेको छ । जुन बिरामीलाई अक्सिजन दिनु आवश्यक हुन्छ उनीहरुमा यो औषधिपछि मृत्युको खतरा २० प्रतिशत घटेको छ । अनुसन्धानकर्ताहरुले यदि यो औषधि बेलायतमा पहिले नै उपलब्ध भएको भए अहिलेसम्म मृत्यु भइसकेकामध्ये ५ हजार जनाको ज्यान बचाउन सकिने अनुमान गरेका छन् । यो औषधि सस्तो पनि छ । प्रमुख अनुसन्धानकर्ता पिटर हार्बीका अनुसार अहिलेसम्म मृत्युको दर घटाउन सफल भएको यो एकमात्र औषधी हो । यो ठूलो सफलता हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *