सुनकाण्डका ठुलामाछा छुट्नुमा न्यायपालिका जिम्मेवार छ : गृहमन्त्री थापा

डिसी नेपाल
३ असार २०७७ २१:३३

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले कोभिड–१९ प्रकोपले सिर्जना गरेको चुनौती सामाना गर्न गृह मन्त्रालय र मातहतका निकाय सक्रिय भएर लागेको बताएका छन्।

राष्ट्रियसभाको बुधबारको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत गृह मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी अग्रपङ्क्तिमा रहेर कोभिड–१९ को सङ्क्रमण रोक्न खटिएको जानकारी दिए।

मन्त्री थापाले भारतबाट आएका नागरिकलाई सुरक्षितरुपमा नेपाल भित्र्याउन र क्वारेन्टिनको व्यवस्थापनमा सुरक्षा कर्मचारीले प्रभावकारीरुपमा काम गरिरहेको उल्लेख गर्दै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन क्षमता विकास तथा खोज उद्धार सामग्री खरिद कार्यक्रमलाई यसवर्ष समावेश गरिएको बताए ।

मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि जिल्ला, प्रदेश र स्थानीय तहमा विपद् व्यवस्थापन समितिले काम गरिहेको बताउँदै उनले सीमा सुरक्षा व्यवस्थापनमा ५०० सुरक्षा चौकी स्थापना गर्ने लक्ष्य रहेकामा आजको मितिसम्ममा १२९ स्थानमा चौकी स्थापना भइसकेको जानकारी दिए । अहिले सीमावर्ती क्षेत्रमा झण्डै २३ हजार सशस्त्र प्रहरी सीमा क्षेत्रमा परिचालन गरिएको उनको भनाइ छ ।

मन्त्री थापाले गृह मन्त्रालय र मातहतका निकायलाई प्राप्त स्रोतसाधनको अधिकतम परिचालन गरी शान्ति सुरक्षालाई प्रभावकारी बनाइने प्रतिबद्धतासमेत व्यक्त गरे । सुरक्षा निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको काम अन्तिम चरणमा रहेको र आवश्यकताअनुसार सुरक्षा इकाइ स्थापना गर्ने तथा आगामी आर्थिक वर्षमा ५५ वटा प्रहरी कार्यालय निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए।

तेत्तीस किलो सुन प्रकरणका विषयमा ठूला माछा छाडेको भन्ने सांसदको जिज्ञासामा मन्त्री थापाले भने, “गृह मन्त्रालयले माछा समातेको हो, त्यसलाई थुनेर राख्ने जिम्मेवारी अदालतको भएकाले ठूलो र साना माछा छाडेको भन्ने कुरामा न्यायपालिका जिम्मेवार छ ।” उनले गृहमन्त्रालयले ठूला माछा समातेर नै कारवाहीको दायरामा ल्याएको जिकिर गरे । मन्त्री थापाले अपराध नियन्त्रणमा ९५ प्रतिशत प्रहरी सफल भएको बताउँदै क्वारेन्टिनमा बलात्कार भएको भनिएको घटनाको विषयमा आरोपीलाई कानूनको दायरामा ल्याइएको उल्लेख गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *