‘गलवानमा भारत–चीन सैन्य भिडन्त र नेपालको संविधान संशोधन एकैपटक हुनु संयोग होइन’
काठमाडौं। नेपालमा राष्ट्रिय सभाले संविधान संशोधन विधेयक पारित गर्ने ठिक १ दिन अघि भारतको ठूलो समाचार एजेन्सीले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीमाथि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई उचालेको आरोप लगाएको छ ।
भारतस्थित समाचार एजेन्सी इण्डो एसिया न्यूज सर्भिस (आइएएनएस)ले बुधबार प्रकाशित गरेको समाचारको शीर्षकमै ‘चिनियाँ महिला राजदूतप्रेरित प्रधानमन्त्री केपी ओली नयाँ नक्सा पुनर्लेखन गर्दै’ लेखिएको छ ।
समाचारमा नेपालको सरकारलाई प्रो–चाइना सरकार भनिएको छ । भारतीय इन्टेलिजेन्स एजेन्सी स्रोतको हवाला दिँदै समाचारमा प्रधानमन्त्री ओलीको नक्सा संशोधनको अडानका पछाडि काठमाडौंस्थित चिनियाँ राजदूतावासको प्रेरक भूमिका भएको दावी गरिएको छ ।
समाचारमा भारत–चीनबीच गलवान उपत्यकामा भएको अभूतपूर्व तनाव र प्रधानमन्त्री ओलीको क्षेत्रीय साहसिकताको ‘टाइमिङ’ संयोग नभएको दावी गरिएको छ । नयाँ दिल्लीस्थित इन्टेलिजेन्स स्रोतको हवाला दिँदै समाचारमा प्रधानमन्त्री केपी शर्मा ओलीको नक्सा संशोधनको कदमको पछाडि चिनियाँ राजदूत होउ यान्छी ‘प्रेरक कारक’ रहेको दावी गरिएको छ ।
समाचारमा स्रोतको हवाला दिँदै होउ प्रधानमन्त्री ओलीको कार्यालय र निवासमा नियमित रुपमा पुगिरहने बताइएको छ । होउले नेपालका लागि राजदूत हुनुभन्दा अघि पाकिस्तानमा कार्यरत रहेको प्रसंग समेत उठाउँदै नेपालको सत्तारुढ दल नेकपाको एक समूह संविधान संशोधन विधेयकलाई लिएर राजदूत हाउसँग नियमित सम्पर्कमा रहेको पनि उल्लेख गरिएको छ ।
यी युवा राजदूतलाई बेइजिङका विदेश नीति रणनीतिकारको इशारामा चलेको भन्दै समाचारमा उनी नेपालमा सबैभन्दा शक्तिशाली कूटनीतिज्ञमध्येकी एक भनिएको छ । भारतीय इन्टेलिजेन्सले भनेको छ ‘पाकिस्तानमा रहेर काम गरेको बाहेक पनि उनी चीनको विदेश मन्त्रालयमा एशिया मामिला विभागमा खास जिम्मेवारीमा छिन् ।’
Facebook Comment