भारत-चीन सीमा विवाद, आर्थिक विवादमा परिणत
नयाँ दिल्ली (एजेन्सी)। भारत र चीनबीच सीमा देखिएको विवाद झन बढ्ने देखिएको छ। गएको सोमबार लद्दाखमा चिनियाँ सेनासँगको झडपमा २० जना भारतीय सैनिक मारिएपछि चर्किएको विवाद द्वीपक्षीय आर्थिक सम्बन्धमा पनि परेको छ।
भारतमा चिनियाँ उत्पादन बहिस्कार बहस भइरहेका बेला बिहीबार भारतीय रेलवेले चिनियाँ कम्पनीसँगको ४७१ करोड (भारु)को ठेक्का रद्द गरेको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार भारतीय रेलवेले चिनियाँ कम्पनीसँग २०१६ मा भएको ४१७ किलोमिटर रेल ट्र्याकमा सिग्नल लगाउने ठेक्का रद्द गरेको छ।
यसअघि भारत केन्द्र सरकारले भारतीय सञ्चार निगम (बीएसएनएल)लाई चिनियाँ उत्पादनको उपयोगमा कटौती गर्न निर्देशन दिएको थियो। यसरी सीमाको विवादले आर्थिक सम्बन्धमा समेत नकरात्मक प्रभाव पारेपछि भारत र चीनबीचको सम्बन्ध तत्काल सुधार नहुने सम्भावना नरहेको भारतीय विश्लेषकहरुले बताएका छन्।
यसअघि बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक सम्बोधनमा सीमा क्षेत्रमा आफ्ना सैनिक जवानले ज्यान गुमाएको खेर जान नदिने अभिव्यक्ति दिएका थिए। गएको सोमबार सीमा हिंस्रक झडप भएपछि दुई परमाणु शक्ति सम्पन्न मुलुकबीच शान्तिको पहल पनि भइरहेको छ।
बुधबार भारतीय विदेशमन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वांग यीबीच फोन वार्ता भएको थियो। वार्तामा दुबै पक्षले एकअर्कामाथि सोमबारको घटनाको जिम्मेवार भएको आरोप लगाएका थिए। सीमा क्षेत्रमा दुई देशका सैनिक अधिकृत स्तरमासमेत वार्ता भएको छ। तर, ती वार्तामा कुनै प्रगति भने नभएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।
Facebook Comment