काँग्रेसद्वारा प्रहरी हिरासतमै शङ्कास्पद मृत्यु भएको घटनाप्रति ध्यानाकर्षण

डिसी नेपाल
४ असार २०७७ २१:५०

काठमाडौं । नेपाली काँग्रेसले धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुर वर्कुवा निवासी शम्भु सदा (मुसहर) को सबैलास्थित इलाका प्रहरीको हिरासतमै गत जेठ २८ गते शङ्कास्पद रुपमा मृत्यु भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

काँग्रेसले आज एक विज्ञप्तिमार्फत घटनाको न्यायिक छानबिन गरी सत्यतथ्यका आधारमा दोषीलाई कारवाही गर्नुका साथै मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

यसैगरी काँग्रेसले बन्दाबन्दीको अवस्थामा सिमानामा बस्ने, खाने र गुणस्तरीय क्वारेन्टाइनको व्यवस्था नभएका कारण अनाहकमा नागरिकले मृत्युवरण गर्नुपर्ने परिस्थिति सिर्जना भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

भारतबाट रोजगारी गरी फर्किएका वीरेन्द्र यादवको केही दिनअघि बन्दाबन्दीको बेला नेपालको सिमाना नगराइन नगरपालिका जटही टोल सीमा प्रवेश गर्दै गर्दा धेरै दिनको भोकका कारण मृत्यु भएको थियो । काँग्रेसले उनको निधनप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नसमेत सरकारसँग माग गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *