लकडाउनपछि आज सर्वाधिक अन्तर्राष्ट्रिय उडान

डिसी नेपाल
५ असार २०७७ २०:२३

काठमाडौं । मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बन्दाबन्दीपछि आज सर्वाधिक अन्तर्राष्ट्रिय उडान भएका छन् ।

अन्तर्राष्ट्रियतर्फ तीन कार्गोसहित नौ र आन्तरिकतर्फ पाँच चार्टर्ड तथा कार्गो उडान भएका विमानस्थलले जनाएको छ । सम्भवतः बन्दाबन्दीपछिको सबैभन्दा धेरै उडान भएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए। उनले भने, “नेपालमा बन्दाबन्दी शुरु भएको चैत ११ पछि बन्दाबन्दीको अवधि जेठ ३२ र पछिल्ला उडानमध्ये सम्भवतः आज धेरै उडान हो, बन्दाबन्दीको दोस्रो र तेस्रो साता यात्रु चार्टर्ड र कार्गो गरी दैनिक सरदर पाँचदेखि सात अन्तर्राष्ट्रिय उडान भएका थिए ।”

महाप्रबन्धक केसीका अनुसार सामान्य अवस्थामा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय र आन्तरिक दुवै गरी ५०० देखि ५५० उडान हुन्थे । यसमा अन्तर्राष्ट्रियतर्फ उडान तथा अवतरण गरी करिब १०० र आन्तरिकमा झण्डै ३५० उडान हुने गरेका थिए । अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

कोभिड–१९ को विश्वव्यापी महामारी नियन्त्रणका लागि नेपालमा पनि झण्डै तीन महिना बन्दाबन्दी भयो । अहिले पनि बन्दाबन्दी पूर्णरुपमा खुलिसकेको छैन । यो अवधिमा अन्तर्राष्ट्रिय हवाई उडान पनि हाललाई स्थगित गरिएको छ । पछिल्लो पटक हवाई प्रतिबन्ध जेठलाई असारको अन्तिम सातासम्मका लागि लम्ब्याइएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई साताअघि कूटनीतिक माध्यमबाट हुने बाहेकका सबै व्यावसायिक चार्टर्ड उडान बन्द गरेको छ । तथापि विभिन्न मुलुकमा अलपत्र नेपाली स्वदेश फर्काउन पछिल्लो पटक १० दिनका लागि चार्टर्ड उडान गर्न दिइएको हो ।

सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै नेपालका तर्फबाट नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उद्धार उडान गरी नेपाली ल्याइरहेका छन् । दुवै एयरलाइन्सले जुन महिनाभर विभिन्न देशबाट गरिने चार्टर्ड उडानको कार्यतालिका बनाएर धमाधम उडान गरिरहेका हुन् ।

आज मात्रै नेपाल एयरलाइन्सले दुबईबाट १४८ नेपाली ल्याएको छ । यस्तै हिमालय एयरलाइन्सले साउदी अरेबियाको दमामबाट १५३ नेपाली ल्याएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

त्यसैगरी जजिरा एयरले कुवेतबाट १५० नेपाली चार्टर्ड उडानमार्फत नेपाल ल्याएको छ । यस्तै कतार एयरवेजले दोहाबाट ४३ नेपाली काठमाडौँ ल्याएको छ । सोही एयरलाइन्सका तीन जहाजले आज दोहाबाट कार्गो उडान गरी काठमाडौँ ल्याएको विज्ञप्तिमा उल्लेख छ ।

यता हिमालयकै न्यारोबडी जहाजले आज साँझ माल्दिभ्सबाट नेपाली काठमाडौँ ल्याएको छ । यात्रु सङ्ख्याको विवरण आएको छैन । अन्तराष्ट्रिय विमानस्थलबाट साँझ ७ः०० बजे इटाली एयरलाइन्सले ९२ यात्रु लिएर इटाली प्रस्थान गरेको छ। नेपाल एयरलाइन्सले जापानको नारिताका लागि राति ९ः०० बजे उडान भर्ने तालिका रहेको छ ।

आन्तरिकतर्फ आज श्री एयरको हेलिकोप्टरले बाग्लुङ, तारा एयरले भैरहवा, समिट एयरले लुक्ला, कैलाश हेलिकोप्टरले लाङटाङ र बुद्ध एयरको लोकल पीपीसी उडान भएको विमानस्थलले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो । त्यस्तै २४ सम्म विदेशी एयरलाइन्सलाई उडान दिइएको छ । निगमको पहिलो उडानमा वाइड बडी जहाजले बङ्गलादेशबाट २५८ नेपाली उद्धार गरी नेपाल ल्याएको थियो । निगमले जुन १५ देखि जुन २९ सम्मको उद्धार उडानको नयाँ कार्यतालिका बनाएको छ । बिहीबार आठ उडान भएका थिए ।

कतारमा आममाफी पाएका ४३ नेपाली फर्किए

विमानस्थलका अनुसार आज भएको अन्तर्राष्ट्रिय उडानमध्ये कतारमा आममाफी पाएका ४३ नेपाली कामदार स्वदेश फर्किएका छन् । कतार एयरवेजको जहाजमार्फत उनीहरु दिउँसो काठमाडौँ आइपुगेका हुन् । कतारले आफ्नै खर्चमा नेपाल पठाएको जनाइएको छ । सोही जहाजमा कतारमा बन्दाबन्दीको अवधिमा मृत्यु भएका २० र हिमालयको कुवेत तथा माल्दिभ्सबाट एक÷एक नेपालीको शव पनि ल्याइएको छ । यस्तै नेपाल एयरलाइन्सले दुबईबाट एक शव ल्याएको थियो । जजिरा एयरलाइन्सले कुबेतबाट दुई शव ल्याएको थियो । शनिबार पनि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले चार्टर्ड उडान गर्दैछन् भने विदेशी एयरलाइन्सले पनि उडान भर्ने जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *