वंश बचाउन निस्किए विशालकाय कछुवा, ८ सय सन्तानको पिताको काँधमा जिम्मेवारी
काठमाडौं। विलुप्त हुने संघारमा पुगेका विशालकाय गेलापेगोस कछुवाको प्रजातिलाई बचाउनको लागि उनीहरुलाई पुनः गेलापेगोस द्वीपको जंगलमा छोडिएको छ । दशकौंदेखि यी कछुवाको प्रजातिलाई बचाउने प्रयास भइरहेको छ । दशकौंसम्म यिनीहरुलाई कैदमा राखेर प्रजनन गराएपछि टापुको जंगलमा छोडिएको हो ।
गेलापेगोस कछुवा विशेष किसिमका हुन्छन् । यिनीहरुको घाँटी लामो हुन्छ जो लेदरजस्तै देखिन्छ । यी कछुवाको आयु औसत १०० वर्ष हुन्छ । प्रशान्त महासागरमा रहेको इक्वेडरको गेलापेगोस आइल्याण्डको नामबाट यो कछुवाको प्रजातिको नाम राखिएको हो । यो आइल्याण्ड ल्याटिन अमेरिकी देश इक्वेडरमा छ । यो आइल्याण्डलाई अत्यन्तै पृथक किसिमका जीव र वनस्पतिको लागि चिनिन्छ ।
डेगो नामको यहाँ छोडिएको सबैभन्दा बुढो कछुवाको उमेर १०० वर्ष भयो । यो भाले कछुवालाई उसको अधिक प्रजनन क्षमताको लागि चिनिन्छ । यो ८ सय सन्तानको पिता हो । डेगोलाई ८ दशकदेखि क्यालिफोर्नियाको चिडियाघरमा राखिएको थियो । अहिले डेगोलाई रिकभरी कार्यक्रमको लागि पुनः गेलापेगोस आइल्याण्डमा लगिएको हो ताकि उसले आफ्नो वंश अगाडि बढाउन सकोस् ।
गेलापेगोस नेशनल पार्कका निर्देशक डेनी रुएडाका अनुसार १५ कछुवाको समूहलाई जंगलमा छोडिएको छ । यीमध्येको एक डेगो पनि हो । डेगोलाई अन्य १४ कछुवासँग जंगलमा छोडिएको हो । यी कछुवाहरुको तौल १८० किलोसम्म हुन सक्छ । यी कछुवाहरु खासगरी सिउँडी पाइने ठाउँमा पाइन्छन् । जंगलमा छोडिएका कछुवालाई निगरानी गर्नको लागि उनीहरुको शरीरमा जीपीएस ट्रयाकर पनि लगाइएका छन् ।
विशालकाय गेलापेगोस कछुवाको प्रजातिले महान वैज्ञानिक चार्ल्स डार्विनलाई पनि प्रेरित गरेका थिए । डार्विनले जैविक विकासको अध्ययनमा सन् १८५९ मा यो कछुवाको प्रजातिको उत्पत्तिबारे उल्लेख गरेका थिए । कछुवाको यो दुर्लभ प्रजाति लामो समयसम्म खाना पानीबिना पनि बाँच्न सक्छ । १८ औं र १९ औं शताब्दीमा यी कछुवाको संख्यामा तीब्र रुपमा कमी आएको थियो ।
बिना खाना पानी लामो समय जीवित रहन सक्ने भएकोले डुंगामा समुद्र यात्रा गर्नेहरुले यी कछुवालाई आफ्नो साथमा लैजान्थे र आवश्यक पर्दा खान्थे । आइल्याण्डमा पाइने मुसा, सुँगुर र कुकुरहरुले प्रायः यी कछुवाका अण्डा खाइदिन्थे । यी विभिन्न कारणले यी दुर्लभ कछुवाको संख्या तीब्र रुपमा घट्यो र यी कछुलाई अत्यन्तै दुर्लक प्रजातिको श्रेणीमा राखियो ।
Facebook Comment