सशस्त्रद्वारा राप्ती नदीको बाढीमा फसेका ६ जनाको उद्धार
बाँके। राप्ती नदिमा छेउमा भैसी चराउन जाँदा बाढीमा फसेका बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ राजपुरका स्थानीयहरुलाई सशस्त्र प्रहरीले शनिबार साँझ उद्धार गरेको छ।
नदीमा एक्कासी बाढी आएपछि भैंँसी चराउन गएका ३ जना नदीको बिचमा फसेका थिए। नदिको पानी बढेर विचमा स्थानियहरु रोकिएपछि थप गाउँका ३ जना उद्धार गर्न गएका पनि फर्कन नसकेपछि शसस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प शमसेरगन्जका डीएसपी टोप बहादुर डाँगीसहित १५ जनाको टिमले ६ जनाको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
राप्ती नदी अहिले तीन स्थानबाट बगिरहेकोले विचमा तीन घन्टासम्म अड्किएका १६ वर्षिय धुव्र पुन, १६ वर्षीय मदन बोहरा, २९ वर्षीय अमृत विक, ३४ वर्षीय रेशम खत्री, ३५ वर्षीय गोमन पुन, र ४० वर्षीय रतन पुनलाई सशस्त्र प्रहरीले रातको समयमा पनि सहजै उद्धार गरेको हो । भैंसी चराउन गएकाहरु साझ ५ वजे नै राप्ती नदिको पानिको घेरामा परिसकेका थिए ।
सशस्त्र प्रहरीलाई ७ बजेर ३५ मिनेटमा स्थानीयहरु नदीमा फसेको भन्ने खबर आएको थियो।
उद्धार गरि ल्याइएका स्थानीयहरुलाई गाउँसम्म सुरक्षित रुपमा ल्याउन सफल भएको गोताखोर टिमका रमेश थापाले जानकारी दिए । राप्ती नजिकका गाउँहरु वर्षेनी वर्षायाममा डुवानमा पर्ने गरेका छन् । नदि बढिरहेकोले सचेत रहन स्थानीय प्रशासनले चेतावनी जारी गरेको छ।
Facebook Comment