कोरोनाभाइरसबाट मृत्यु भएका नेपालीको शव भारतीय क्षेत्रमा लगेर गाडिएपछि…

डिसी नेपाल
८ असार २०७७ १०:३२

काठमाडौं। कैलालीमा कोरोनाभाइरसबाट मृत्यु भएका एक नेपालीको शव सीमापारी भारतीय क्षेत्रमा लगेर गाडिएको पाइएको छ । यद्यपि यो घटना जानेर नभइ झुक्किएर भएको हो । यहाँको मोहना नदी किनारको श्मशान घाटमा शव गाड्ने क्रममा झुक्किएर भारतीय क्षेत्रमा पुगेर शव गाडिएको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार शव विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार व्यवस्थापन गरिएको हो । ‘खासमा त्यो क्षेत्र मसानघाट नै हो र त्यहाँ लगेर शव व्यवस्थापन गरिएको हो । यस क्रममा झुक्किएर भारतीय क्षेत्रमा पर्न पुगेको हो’ बोहराले डिसी नेपालसँग भने । उनका अनुसार शव गाडिसकेको हुँदा त्यस विषयमा थप केही नगरी शव त्यहीँ गाडिएकै अवस्थामा रहन दिइएको छ ।

तर, केही भारतीय मिडियाले भने नेपाली अधिकारीहरु लाश निकाल्न तयार भएको भनेका छन् । टाइम्स अफ इण्डियाले नेपाली अधिकारीहरु लाश निकाल्न सहमत भएको लेखेको छ तर लाश निकालिसकिएको भने भनेको छैन । उसले डिटीआरका फिल्ड डाइरेक्टर संजय पाठकलाई उद्धृत गर्दै त्यहाँ अर्को लाश पनि गाड्न लागिएकोमा दोस्रो लाश भने एसएसबीको सहयोगमा गाड्न रोकिएको लेखेको छ ।

टेलीग्राफ इण्डियाले भने नेपाली अधिकारी र भारतीय अधिकारीहरुको गौरीफन्टामा वार्ता भएको र नेपाली अधिकारीहरुले फेरि यस्तो नदोहोर्याउने भनेको उल्लेख गरेको छ । लखिमपुर खिरी जिल्लाका मजिस्ट्रेट शैलेन्द्र कुमार सिंहलाई उदृत गरिएको उसको समाचारमा भने समस्या समाधान भएको लेखिएको छ तर लाश निकालिएको उल्लेख गरिएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *