सत्तारुढ दलकै सांसदको दावी : ओम्नी प्रकरणमा भ्रष्टाचार भयो

डिसी नेपाल
८ असार २०७७ १७:२६

काठमाडौं। कोरोना महामारी निम्तिएपछि सरकारले हताहतारमा चीनबाट स्वास्थ्य सामाग्री ल्याउनका लागि ठेक्का दिएको ओम्नी समूह र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल तथा उनका विज्ञ सल्लाहाकार डा. खेम कार्कीको भूमिका शंकास्पद रहेको सासदहरुले दावी गरेका छन्।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा सोमबार भएको छलफलका क्रममा समितिका सदस्यहरुले स्वास्थ्यमन्त्री र सल्लाहाकारको भूमिका गलत रहेको बताएका छन्। सोमबार समितिले मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका सचिब नारायणप्रसाद बिडारी, स्वास्थ्य सचिब लक्ष्मण अर्याल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंह र स्वास्थ्य मन्त्रालयका प्रशासन प्रमुख रघुराम बिष्टसँग यो प्रकरणमा छलफल गरेको छ।

प्रधानमन्त्री कार्यालयका सचिब बिडारीले कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापनमा १० अर्ब रुपैयाँ विनियोजन गरेके जानकारी दिएपछि छलफलमा भाग लिएका सत्तारुढ दलका सांसद तथा विपक्षी दलका सांसदहरुले एकै स्वरमा ओम्नी समूहसँगको ठेक्का प्रकरणमा भ्रष्टाचार भएको बताए।

सत्तारुढ दल नेकपाका सांसद सूर्य पाठक, धर्मशिला चापागाईँ र विरोध खतिवडाले ओम्नीसँग हतारहतारमा ठेक्का सम्झौता गरिएको र सल्लाहाकारलाई सिफारिस समितिको संयोजक तोकिनुमा नीतिगत भ्रष्टाचार भएको देखिने बताए।

काँग्रेस सांसद डा. मिनेन्द्र रिजाल, राजन केसी र पार्वता चौधरी डिसीले पनि यो प्रकणमा मन्त्री ढकाल, राज्यमन्त्री नवराज राउतलगायत सबैमाथि छानविन हुनुपर्ने बताए। समाजवादीका सांसद मोहम्मद इस्तियाक राई र प्रदीप यादवले पनि यो प्रकणमा भ्रष्टाचार भएको दावी गरे।

सांसदहरुको प्रश्नपछि जवाफ दिएका स्वास्थ्य सचिब लक्ष्मण अर्यालले यो सम्झौता भएपछि आफू जिम्मेवारीमा आएको भन्दै यो विषयमा आफूलाई त्यति जानकारी नभएको बताए। ओम्नी समूहसँगको सम्झौतामा विवाद भएपछि सरकारले सम्झौता तोडेको थियो। तर, त्यतिबेलासम्म ओम्नीले पहिलो लट सामान ल्याइसकेको थियो।

पहिलो लटमा ल्याएको सामान पनि गुणस्तरीय नभएको चर्चा भए पनि त्यो सामाग्री भने सरकारले वितरण गरेको थियो। लेखा समितिमा यो विषय टुंगिएको छैन। समितिले फेरि यो विषयमा छलफल गर्न बैठक बोलाउने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *