पहिलो पटक काठमाडौँका लागि चार्टर्ड उडान गर्दै कोरियाको जिनएयर

डिसी नेपाल
९ असार २०७७ १०:०३

सउल । दक्षिण कोरियामा सञ्चालित जिनएयरले पहिलोपटक काठमाडौँमा उडान भर्ने भएको छ। इन्छन-काठमाडौँ–इन्छन दुइतर्फी चार्टर्ड उडान गर्ने भनिएको जिनएयरले ३० जुनमा पहिलो उडान गर्ने गरी तयारी गरेको छ।

जिनएयरको चार्टर्ड उडानका लागि सउलस्थित नेपाली राजदूतावासमार्फत उडान स्वीकृति प्रक्रिया नेपालको परराष्ट्र मन्त्रालयमा पुगिसकेको बताइएको छ।

उडानको व्यवस्थापन एनआरएनए कोरिया र नेपाली राजदूतावासको समन्वयमा कोरियामा रहेका दुई ट्राभल एजेन्सी नेपाल टूर कम्पनी र लिङ्क एशिया टुर्सले गर्ने भएका छन्। जिनएयरको यो चार्टर्ड उडान यात्रुका लागि सहुलियतपूर्ण हुने देखिएको छ ।

यसअघि दुईपटक चार्टर्ड उडानमार्फत कोरिया–काठमाडौँ–कोरिया गरेको कोरियन एयरमा एकतर्फी भाडावापत नेपालबाट कोरिया जाने यात्रुले एक हजार २५० अमेरिकी डलर तिरेका थिए तर जिनएयरमा ७५० अमेरिकी डलर मात्र लाग्ने बताइएको छ भने कोरियाबाट नेपाल फर्किने यात्रुले ७०० अमेरिकी डलर मात्र तिरे पुग्नेछ।

जिनएयरको पहिलो उडान ३० जुनमा कोरियाली समयानुसार दिउँसोको १‌.३० बजे इन्छनबाट हुनेछ र नेपाली समयानुसार ४ः५५ मा काठमाडौँ अवतरण गर्नेछ।

साथै नेपालबाट यात्रु बोकेर सोही दिन साँझ ६ः५५ मा उक्त जहाज कोरिया उड्नेछ। जिनएयरको दोस्रो उडान ५ जुलाइमा हुने गरी तयारी गरिएको समेत बताइएको छ।

कोरोना महामारीका कारण हवाई उडान बन्द हुँदा गत तीन महिनामा प्रवेशाज्ञा अवधि सकिएका चार हजार ५०० युवा दक्षिण कोरियामा रोकिएका छन् भने लकडाउनअघि कोरियाबाट छुट्टी लिएर नेपाल गएका एक हजार ५०० बढी यात्रु पनि नेपालमै अड्किएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *