सोलुखुम्बुमा सत्ताको आडमा जनप्रतिनिधलाई फसाएको काँग्रेसको आरोप
काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस नेकपा नेतृत्वको सरकारले राष्ट्र सेवक कर्मचारीहरुलाई आफ्नो पार्टीको कार्यकर्ता जसरी परिचालन गरेको आरोप लगाएको छ।
काँग्रेसले भनेको छ, ‘श्रृखंलावद्ध रुपमा अधिनायकवादतर्फ उन्मुख कम्युनिष्ट सरकारको निर्देशनमा जिल्लामा कार्यरत कर्मचारी तथा सुरक्षा निकायका व्यक्तिहरु समेत नेकपाको पूर्णकालीन सदस्य जस्तो गरी प्रयोग हुँदैछन् ।’
नेपाली कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरु, कांग्रेसका जिल्लास्तरीय नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई अनाहकमा दुःख दिने, झुठ्ठा मुद्दामा फसाउने, कुटपिट एवं दुव्र्यवहार गर्ने जस्ता घटनाहरु भएको काँग्रेसले आरोप लगाएको छ।
काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै सोलुखुम्बु जिल्लाका सोलुदुधकुण्ड न.पा., लिखुपिके, थुलुक, खुम्बु पासाङ्ग ल्हामु, नेचा सल्यान गा.पा. र सो गा.पा.हरु अन्तर्गतका जलविद्युत आयोजना र विकास निर्माणका कार्यहरुमा भएको भ्रष्टाचार र अनियमितताको विरोध गर्दा आफ्ना कार्यकर्तामाथि कुटपिट भएको जनाएका छन्।
उनले कोभिड—१९ का कारण रोग र भोकसँग जुधिरहेको संवेदनशील अवस्थामा समेत राहत वितरणमा व्यापक अनियमितता, पक्षपातपूर्ण व्यवहार भएको दावी गरेका छन्।
नेकपाका कार्यकर्ताहरुले प्रहरी प्रशासनको आडमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरु, पार्टीका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुलाई कुटपिट गर्ने, दुव्र्यवहार गर्ने, झुठ्ठा मुद्दामा फसाउने कार्य भएको भन्दै काँग्रेसले त्यसको भत्र्सना गरेको छ।
Facebook Comment