बैंकर्सको सुझाव : अर्थतन्त्र बचाउन बैंक तथा वित्तीय संस्था जोगाउनुपर्छ

डिसी नेपाल
९ असार २०७७ २१:३०

काठमाडौं । कोरोना (कोभिड–१९) बाट प्रभावित अर्थतन्त्रलाई बचाउनका लागि बैंक तथा वित्तीय संस्थालाई जोगाउनुपर्ने सरोकारवालाहरुले बताएका छन् । बैंकिङ क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएकाले यो क्षेत्र बलियो भएमात्र अन्य क्षेत्रलाई सहयोग गर्न सक्ने उनीहरुको भनाइ छ ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिको बारेमा नेपाल आर्थिक पत्रकार समाजले गरेको अन्तरक्रियामा बोल्दै बैकर्सहरुले उद्योगीहरुलाई राहत दिँदा बैैंक तथा वित्तीय संस्था बचाउनका लागि समेत सोच्नुपर्ने बताए ।

नेपाल बैकर्स संघका अध्यक्ष समेत रहेका सानिमा बैंकका प्रमूख कार्यकारी अधिकृत भुवन दाहालले ऋणीलाई सहुलियत दिने नाममा निक्षेपकर्तालाई मर्कामा पार्न नहुने बताए । बैंक सर्वसाधारण निक्षेपकर्ताको रकमबाट संचालन हुने भन्दै उनीहरुलाई पनि न्याय हुनेगरी कार्यक्रम अघि बढाउनुपर्ने उनको भनाइ छ ।

कोरोना संक्रमण रोक्न गरिएको लकडाउनपछि आत्तिएर चैत र बैंशाखमा निक्षेप बाहिरिएपनि जेठ लागेपछि बैंकमा फर्किएको अध्यक्ष दाहालले बताए । अहिले नयाँ ऋण विस्तार गर्नका लागि बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहेको समेत उनले जानकारी दिए । व्यापारीहरुले माग गरेजस्तो कर्जाको व्याजदर ५ प्रतिशतमा झर्ने सम्भावना नभएपनि ६ महिनापछि सिंगल डिजिट झर्ने उनले दावी गरे ।

डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष समेत रहेका गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले उद्योगी व्यवसायी अप्ठ्यारो परे भन्दैमा बैंकहरु आफु डुबेर राहत दिन नसक्ने बताए । मौद्रिक नीतिले व्यवसायी र बैंकलाई एउटै स्थानमा राखेर दुवै पक्षलाई अप्ठ्यारो नपर्ने गरी नीतिगत व्यवस्था गर्नुपर्ने उनले सुझाव दिए ।

राष्ट्र बैंकले कोरोनाबाट प्रभावित, कम प्रभावित र अति प्रभाभित गरेर ऋणीको वर्णिकरण गर्ने र उनीहरुलाई दिने सुविधाको निर्णय बैंक तथा वित्तीय संस्थाले गर्न पाउनुपर्ने ढकाललले बताए ।

नेपाल वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले कोरोनाबाट प्रभावित व्यापार व्यवसाय पनि पुनःस्थापित हुने र बैंकहरुको व्यालेन्स सिट पनि नेगेटिभ नहुने गरी मौद्रिक नीति आउनुपर्ने बताए । व्यापारीले व्याज महंगो भयो बेस रेट घटाउनुपर्छ भनिरहदा निक्षेपकर्तालाई पनि बिचार पुर्याउनुपर्ने उनको सुझाव छ ।
यस्तै नेपाल लघुवित्त संघका अध्यक्ष बसन्त लम्सालले लघुवित्त संस्थाहरु संस्थागत रुपमा सानो भएपनि नेटवर्क ठूलो र प्रत्यक्ष रुपमा दुर्गम परिवारसँग जोडिएकाले सहुलियत कर्जा लघुवित्तमार्फत समेत परिचालन गर्नुपर्ने आवश्यक्ता औल्याए ।

बैंकिङ विज्ञ सञ्जीव सुब्बाले बैंक तथा वित्तीय संस्था नबचाए उद्योग पनि नबाच्ने भन्दै दुवै क्षेत्रलाई सन्तुलनमा राख्नेगरी मौद्रिक नीति आउनुपर्ने बताए । कोरोनाका कारण वित्तीय पहुँच, वित्तीय समावेशीकरणमा प्रवेश गर्न पाठ सिकाएको भन्दै डिपोजिट लिन र दिन शाखा खोल्नुपर्ने अवस्था रहनु विडम्बना रहेको उल्लेख गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *