विद्युतीय भुक्तानी थप सजिलो, राजश्व, शेयर र विलको भुक्तानीमा सीमा हटाइयो
काठमाडौं। कोरोना संक्रमण रोकथामका लागि लकडाउन गरेसँगै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै आएको नेपाल राष्ट्र बैंकले थप सजिलो बनाएको छ। केन्द्रीय बैंकले निर्देशन जारी गर्दै शेयर कारोबारको भुक्तानीका साथै सरकारी राजश्व र विभिन्न प्रकारका विल भुक्तानीमा कारोबार सिमा हटाएको छ।
यसअघि राष्ट्र बैंकले मोवाईल बैंकिङबाट प्रतिदिन एक लाख र प्रतिमहिना १० लाख कारोबार सीमा तोेकेको थियो। यसैगरी इन्टरनेट बैंकिङका ग्राहकहरुले व्यापारिक भुक्तानीमा प्रतिदिन १० लाख र मासिक ३० लाख तथा बैंकिङ खातामा भुक्तानीमा प्रतिदिन १० लाख र मासिक ५० लाख सिमा ताकेको थियो।
अब ग्राहकहरुले आफ्नै बैंकको एक खाताबाट अर्को खातामा पठाउदा र नेपाल सरकारका कार्यालयहरुमा राजश्व, कर, दस्तुर तिर्दा उक्त सिमा लागू हुँदैन। दूरसञ्चार, खानेपानी, विद्युत, बिमा प्रिमियम, अस्पताल, विद्यालय, रेस्टुरेन्टको विललगायतका भुक्तानीका लागि समेत सीमा लागू नहुने व्यवस्था गरिएको छ।
यसैगरी शेयर कारोबारमा मोवाइल बैंकिङबाट प्रति कारोबार एक लाख र इन्टरनेट बैंकिङबाट प्रति कारोबार १० लाख भुक्तानी दिन सकिने गरी सिमा भने हटाइएको छ।
अनलाईन भुक्तानीमा सिमा तोकिएको कारण देखाउँदै अहिलेसम्म शेयर बजार बन्द रहेको छ। लकडाउनको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले समेत विद्युतिय कारोबारलाई प्रोत्साहन गर्दै आएका छन्।
Facebook Comment