प्रेमी आफूले त बिहे गर्न मानेनन्, प्रेमिकाले अर्कैसँग बिहे गर्न लाग्दा समेत ब्ल्याकमेल गरेपछि…

डिसी नेपाल
१० असार २०७७ १४:००

विराटनगर । आफूले बिहे गर्न नमानेका प्रेमीले अरुसँग बिहे गर्न लाग्दा समेत ब्ल्याकमेल गरेर तनाव दिएपछि एक युवतीले प्राण त्यागेको खुलासा भएको छ । आइतबार झुण्डिएर मृत अवस्थामा भेटिएकी विराटनगर महानगरपालिका–३ मा बस्दै आएकी २४ वर्षकी श्वेताको मृत्यु आत्महत्या नभए ‘आत्महत्या दुरुत्साहन’का कारण भएको खुलासा भएको हो ।

प्रहरीले श्वेतालाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा उनका प्रेमी भनिएका मोरङको सुन्दरहरैंचा नगरपालिका–१० का २५ वर्षीय सविन पराजुलीलाई पक्राउ गरेको छ । सविनले बिहे गर्न नमानेपछि श्वेताको विवाह अर्कै युवकसँग तय गरिएको परिवारले जनाएको छ । तर, बिहे तय भएपछि नै सविनले श्वेतालाई विभिन्न धम्की दिँदै ब्ल्याकमेल गर्न थालेको पाइएको छ ।

सविन श्वेतासँग एउटै कलेजमा पढ्थे । उनहिरुको सम्बन्ध ३ वर्ष अघिदेखि रहेको अनुसन्धानमा पाइएको छ । सविनले विवाह गर्न नमानेपछि श्वेताको अन्यत्रै बिहे तय गरिएको थियो । बिहे असार १४ गतेका लागि तय थियो र सोमबार फूलमालाको कार्यक्रम थियो । त्यसको ठिक अघिल्लो दिन श्वेताले आत्महत्या गरिन् ।

अनुसन्धानमा श्वेताको बिहे तय भएपछि सविनले श्वेता र आफ्नो पुराना फोटोहरु सार्वजनिक गर्न थालेका थिए । ती फोटोहरु श्वेताले बिहे गर्न लागेका युवकले समेत देखेपछि उनले श्वेतासँग बिहे नै तोड्न समेत प्रस्ताव गरेका थिए । उता हुनेवाला पतिले बिहे तोड्न प्रस्ताव गर्ने र यता सविनले निरन्तर तनाव दिने भएपछि श्वेताले बाध्य भएर आत्महत्या गरेको अनुसन्धानमा खुलासा भएको छ । श्वेताकी बहिनी सरिताले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले सविनलाई मंगलबार पक्राउ गरेको हो । उनलाई आत्महत्या दुरुत्साहन मुद्दा चलाउन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *