तरकारी सङ्कलन केन्द्र निर्माण गरिने
ललितपुर । दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ मा वाग्मती प्रवेश गर्ने नाका तीनपाने भञ्ज्याङमा तरकारी सङ्कलन केन्द्र निर्माण गर्ने भएको छ ।
गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत गर्दै उक्त कुराको जानकारी गराए। गाउँपालिकाले अस्पताल निर्माण, वैदेशिक रोजगारीबाट फर्केर आउने युवाले व्यवसाय गर्न चाहेमा ब्याजमा अनुदानलगायतका कार्यक्रमलाई प्राथमिकता दिएको जनाइएको छ ।
गाउँसभामा उपाध्यक्ष रञ्जना घिमिरेले रु ४२ करोड ५६ लाखको बजेट प्रस्तुत गरिन् । कार्यक्रममा गाउँपालिकाले वित्तीय समानीकरणतर्फ सङ्घीय सरकारबाट रु सात करोड ३३ लाख र प्रदेश सरकारबाट ५८ लाख ९४ हजार, सशर्त अनुदानतर्फ सङ्घीय सरकारबाट रु १९ करोड ५२ लाख, प्रदेश सरकारबाट रु दुई करोड ३२ लाख ७५ हजार बजेट विनियोजन गरेको जानकारी दिइन्।
यसैगरी सङ्घीय सरकारको राजश्व बाडफाँटबाट रु पाँच करोड १३ लाख, प्रदेश सरकारको राजश्व बाडफाँडबाट रु एक करोड ५८ लाख ३४ हजार, गाउँपालिकाको आन्तरिक आयबाट रु पाँच करोड ६३ लाख र रजिष्टे«शन दस्तुरबाट रु ५० लाख आम्दानी हुने गाउँपालिकाको अनुमान छ ।
Facebook Comment