भारतले प्रधानमन्त्री ओलीमाथि लगायो गम्भीर आरोप, थप अनुसन्धान गर्दै

डिसी नेपाल
११ असार २०७७ ११:२२

काठमाडौं। भारतले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि निकै गम्भीर आरोप लगाएको र यस विषयमा थप अनुसन्धान गर्ने जनाएको छ । इकोनोमिक टाइम्सका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि चीनलाई उपहारस्वरुप दिएको भारतको आरोप छ । चीनले त्यो भूमि प्रयोग गरेर भारतविरुद्ध गतिविधि गर्न सकोस् भन्ने नियतले नेपालले आफ्नो भूमि चीनलाई दिएको नयाँ दिल्लीले आशंका गर्दै यस विषयमा थप अनुसन्धान थालेको छ ।

लद्दाखमा भारतीय सेनासँग झडप भएकै बेला चीनले नेपाली भूमि लिएपछि यसले पार्ने रणनीतिक प्रभावबारे भारतले अनुसन्धान गर्ने रिपोर्टमा जनाइएको छ । नयाँ दिल्लीले चीनले लिएको नेपाली क्षेत्रको वास्तविक अवस्थिति, भारतीय सीमाबाट यो क्षेत्रको दूरीबारे अध्ययन गर्दैछ । यसका साथै यो भूमि नेपालको उच्च राजनैतिक तहले स्वेच्छाले चीनलाई दिएको हो वा नेपालको केपी ओली सरकारलाई झुक्याएर चीनले हत्याएको हो भन्ने बारे पनि भारतले अनुसन्धान गर्दैछ ।

यो भूमि नेपालले नै चीनलाई दिएको वा नेपाललाई झुक्याएर चीनले लिएको दुवै अवस्थामा यसले भारत–चीनको सम्बन्ध थप जटिल बनाउने समाचारमा दावी गरिएको छ । नेपाल वाचर्सको एक दस्तावेजले अब चीनसँग बलियो निकटता व्यर्थ भएको प्रधानमन्त्री केपी ओलीसहितका शीर्ष नेतृत्वले बुझ्नुपर्ने बताएको समाचारमा उल्लेख छ । उनीहरुका अनुसार प्रधानमन्त्रीले आफ्नो कुर्सी बचाउने प्रयासमा बेइजिङसँग निकटता बढाउँदा नेपाल–भारत सम्बनधमा छायाँ परेको विश्लेषण गरेका छन् ।

समाचारमा लेखिएको छ ‘भारत–चीन–नेपालबीच एकै ठाउँमा जोडिने त्रिदेशीय सीमा छ । सन् १९५४ मा भारत र चीन दुवैले कैलाश मानसरोवर जाने तीर्थयात्रीलाई लिपुलेक पास प्रयोग गर्न दिने विषयमा सहमति गरेका थिए । १९५० मा चीनले तिब्बत अधिग्रहण गरेपछि नेपालले भारतलाई उसको उत्तरी सीमामा १७ वटा सैन्य चेकप्वाइन्ट राख्न अनुमति दिएको थियो । २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको समझदारीमा लिपुलेक पासलाई भारत चीनबीचको एक पासको रुपमा उल्लेख गरिएको र यहाँबाट दुई देशले व्यापार गर्ने सहमति भएको थियो ।’

अगाडि लेखिएको छ ‘यही समय चीनले तिब्बतमा नेपाली भूमि अतिक्रमण गर्नको लागि विस्तारित सडक निर्माण गरिरहेको छ र सम्भवतः यी क्षेत्रमा बोर्डर आउटपोस्ट स्थापना गर्ने नेपाल सरकारको रिपोर्टमा जनाइएको छ । नेपालको कृषि मन्त्रालयको सर्वेक्षण विभागको रिपोर्टले ११ यस्ता ठाउँहरु देखाउँछ जसमध्ये १० स्थानमा चीनले लगभग ३३ हेक्टर नेपाली भूमि अतिक्रमण गरेको छ । यसका लागि चीनले प्राकृतिक सीमाको रुपमा रहेका नदीलाई डाइभर्ट गरेको छ ।’

इकोनोमिक टाइम्सले एक दस्तावेजको हवाला दिँदै अगाडि लेख्छ ‘चीनले तिब्बत स्वायत्त क्षेत्रमा वृहत रुपमा सडक संजाल विस्तार गरिरहेको छ जका कारण केही नदी र तिनका सहायक नदीले आफ्नो बाटो परिवर्तन गरी नेपालतर्फ बग्न थालेका छन् । नदीहरुको यो बहावले विस्तारै नेपालको क्षेत्र घटाउँदै गएको छ र यो क्रम अझै केही समयसम्म चल्नेछ जसले नेपालको ठूलो भूभाग तिब्बत स्वायत्त षेत्रतर्फ पर्नेछ ।’
इकोनोमिक टाइम्स अगाडि लेख्छ ‘तिब्बतमा चिनियाँ सडक निर्माणले संखुवासभा जिल्लामा सुमजुंग, कामखोला र अरुण नदीको बहाव पनि डाइभर्ट गरेको छ जसका कारण ९ हेक्टर नेपाली भूमि अतिक्रमण भएको छ । नेपालले समयमै उचित कदम नचाले नेपालको अझै थप भूमि अतिक्रमणमा पर्ने त्यो दस्तावेजले चेतावनी दिएको छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *