नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित
काठमाडौं। असार १० गते सुरु भएको स्थायी कमिटी बैठक आज (शुक्रबार) पनि जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम सुरु भएको छ। अधिकांश सदस्यहरुले सरकारको कामप्रति असन्तुष्टि जनाइ रहँदा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली भने बैठकमा अनुपस्थित छन्।
स्थायी कमिटी बैठकको पहिलो दिन अध्यक्षद्वयले बैठकलाई सम्वोधन गरेका थिए। प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गरेको बताउँदा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने सरकारको आलोचना गरेका थिए।
‘आज स्थायी कमिटी सदस्यले आफ्नो धारणा राखिरहनु भएको छ। अधिकांश सदस्यले सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउनु भएको छ,’ स्रोतले डिसी नेपालसँग भने, ‘सदस्यहरुले सरकारको कार्यशैलीका बारेमा प्रश्न उठाएपनि बैठकमा प्रधानमन्त्री अनुपस्थिति हुनुहुन्छ।’
प्रधानमन्त्री अन्य काममा व्यस्त भएका कारण बैठकमा उपस्थित हुन नसकेको बताइएको छ। प्रधानमन्त्रीको अनुपस्थितिमा बैठक संचालनको जिम्मा अर्का अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिइएको छ।
Facebook Comment