चलह पहल बढेपनि व्यापार नहुँदा फुटपाथका व्यापारी समस्यामा
काठमाडौं। तीन महिला लामो लकडाउन खुलुको भएसँगै काठमाडौंका फुटपाथमा व्यापार गर्दै जीवन निर्वाह गर्ने व्यापारीले पुन व्यापार गर्न सुरु गरेका छन्। बिहान बेलुका छाक टार्न कठिन परेको भन्दै कोरोनाको महामारीमा पनि व्यापार सुरु गरिएपनि व्यापास नभएको उनीहरुको गुनासो छ।
कोरोना रोकथामको लागि लामो समयसम्म गरिएको लगडाउनमा सडकलाई सरकारले चासो नदिएको गुनासो उनीहरुले गरेका छन्। कलंकी रुद्रबजार अगाडिको सडकमा कपडा व्यापार गर्दै आएकी दोलखाकी चिनिमाया भन्छिन्, ‘कपडा बेच्न सडकमा निस्किएको आज १५ दिन भयो। तर एक रुपैयाँको पनि व्यापार छैन। घर भित्र छाक टार्ने सामानको अभाव छ। सडकलाई त सरकारले वास्तै गरेन। बुझिदिनु पर्ने हो।’
काठमाडौंमा लकडाउन खुकुलो भएसँगै फुटपाथमा सामान बेचेर जीवन निर्वाह गर्ने व्यापारीले सडकमा व्यापार सुरु गरेपनि व्यापार नहुँदा जीवन धान्न मुस्किल भएको गुनासो गर्छन्।
फुटपाथमा जुत्ता बेच्दै गरेकी धादिङकी एक महिला भन्छिन्, ‘ हामीले पो लकडाउन भयो भन्छौं, भोकले भन्दैन। छोराछोरी पाल्नु छ। अब भने साच्चै कठिन पर्ने भयो।’ बिहान बेलुका गाँस बासको व्यबस्था हुन्छ भन्दै कोरोनाको प्रवाह नगरी सडकसम्म आइपुग्दा पनि उपाय नलागेको सडक पेटीमा नाङ्लोमा केही समान बेच्दै गरेका ६५ वर्षीय वृद्ध भन्छन्, ‘कोरोनाको डर त छ। तर भोकले मर्नुभन्दा रोगले मर्ने बेस छ भनेजस्तै खानकै लागि सडकसम्म आउदा पनि केही लागेन। व्यापार छैन हामीलाई त धेरै कठीन हुने भयो।’
करिब तीन बर्ष अगाडिदेखि फुटफाटबाट नै जीविका चलाउँदै आएकी काभ्रेकी ३० वर्र्षीया शर्मिला श्रेष्ठको पनि गुनासो उस्तै छ। भन्छिन्, ‘तीन वर्ष भयो यही फुटफाटमा चिया व्यापार गरेको। लकडाउन पछि बल्ल व्यापार त गरु गर्यौं, त किनबेच ठप्प छ। बिहानबाट दुई कप चिया गयो। हामीलाई त खान नै धौ–धौ पर्ने भयो।’
काठमाडौं लकडाउन अवधीपछि केही चहलपहल बढेपनि व्यापार व्यावसाय फस्टाउन सकेको छैन। सोल्टिमोड, कालिमाटीमा गाढामा मकै व्यापार गरिरहेकी जनकपुरकी रस्मिता साह भन्छिन्, ‘मान्छे किनबेच गर्न डराएको हुन कि, हामी फुटफाटमा बस्नेसँग कोरोनाको जोखिम हुन्छ भन्ने सोचेको पनि हुन सक्छ। व्यापार नै छैन।’
Facebook Comment