एमसीसी नेकपाको सत्ता संघर्षको औजार भएको छ : एनपी साउद
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एनपी साउदले एमसीसी सहयोग नेकपाको सत्ता संघर्षको औजार भएको बताएका छन्। डिसी नेपालसँग कुरा गर्दै उनले भने, ‘नेकपा भित्र अहिले एमसीसीका बारेमा जतिपनि छलफल भइरहेको छ, यो राजनीतिक पूर्वाग्रहबाट ग्रसित छ।’
नेता साउदले एमसीसी बस्तुगत राष्ट्रिय स्वार्थ भन्दा पनि नेकपाको अन्तर्राष्ट्रिय शक्तिहरुलाई हेर्ने दृष्टिकोणको आधारमा धेरै परिचालित भएको आरोप लगाए।
अहिलेको एमसीसीको बारेमा नेकपाको परराष्ट्रनीति अन्तर्गत उनीहरुले कुन देशवाट सहयोग लिनु पर्दछ र कुन देशबाट लिनु हुँदैन भन्ने दृष्टिकोणको आधारमा पार्टीभित्र छलफल गरेर टुंग्याउन चाहेको साउदको तर्क रहेको छ।
एमसीसी पास हुन्छ वा हुन्न भन्ने प्रश्नमा साउदले भने, ‘प्रधानमन्त्री केपी ओली पार्टीभित्र डिफेन्सिभ देखिनु भएको छ। अन्तर्राष्ट्रिय गतिविधिमा भारतसँग अहिले द्वन्द्व बढेकाले प्रधानमन्त्री ओलीको चीनसँगको निकटता बढेको छ।’ साउदले थपे, ‘त्यसैले उहाँ एमसीसी ल्याउँदा चीनसँग सहजिकरण गरेर ल्याउने पक्षमा हुनुहुन्छ जस्तो मलाइ लागेको छ।’
प्रधानमन्त्री ओलीको वर्तमान यथार्थताको चित्रण गर्दै पूर्वमन्त्री साउदले भने, ‘प्रधानमन्त्री ओली एमसीसीको सन्दर्भमा पछिल्लो समयमा अलिकति हिच्किचाइ रहनु भएको छ की भन्ने मलाइ लाग्छ। तर अझैपनि मलाइ पूरा विश्वास छ कुनै पनि जिम्मेवार सरकारले गैरजिम्मेवारीपूर्ण काम गर्न सक्दैन।’
साउदले नेपाल जस्तो गरिब मुलुकले यत्रो ठूलो ५५ अरब रुपैयाँ अनुदानको रुपमा आउने रकमलाई वाइपास गर्न नहुने बताएका छन्। उनले प्रधानमन्त्रीको पहलमा एमसीसी सदनमा पेश हुने समेत जनाए। सत्ताधारी कम्यूनिष्ट पार्टी भित्र एमसीसीका बारेमा भएको बहस प्रति असन्तुष्टि प्रकट गर्दै नेपाली कांग्रेसका नेता साउदले भने, ‘यो वहसले हाम्रो राष्ट्रिय स्वार्थलाई प्रतिविम्बित गर्दैन।’
एमसीसीको शुरुवात झलनाथ खनाल प्रधानमन्त्री हुँदा भएको र शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा त्यसले स्वीकृति पाएको हो। साउदको तर्क छ, ‘अहिले केपी ओली प्रधानमन्त्री हुँदा त्यसलाई फलोअप गरिराख्नु भएको छ। सदनबाट पारित गर्न खोजी राख्नु भएको छ। त्यसकारण यसको एउटा श्रृंखला छ। गएका सरकार र अहिलेको सरकारले पनि यसलाई सकारात्मक रुपमा लिएको र यो अनुदानले नेपाललाई फाइदा नै गर्दछ भन्ने दृष्टिकोण सम्प्रेसित गरेको छ।’
साउदले नेपाली कांग्रेसको सरकार हुँदा हरेक प्रोजेक्ट राजनीतिक पार्टीले नहेर्ने भन्दै अहिलेको सरकारमा रहेको कम्युनिष्ट पार्टी सीचीन मोडल ( चाइनिज मोडल) मा गइरहेको आरोप लगाएका छन्। साउदका अनुसार चाइनिज मोडल भनेको सरकारलाई संसदले होइन सरकारलाई पार्टीले चलाउँछ , एकै पार्टीले चलाउँछ भन्ने हो। कम्यूनिष्ट पार्टीले एमसीसीको सदनमा हुनुपर्ने बहस पार्टीमा गराएर संसदमा बहसलाई प्रवेश गर्न नै बन्देज लगाउनु संसदीय मूल्य मान्यताको विपरित भएको साउदको दावी छ।
कांग्रेसका नेता साउदले एमसीसीका राम्रा पक्षहरुलाई बुँदागत रुपमा व्याख्या गर्दै भनेका छन्, ‘एमसीसीको सबैभन्दा राम्रो कुरा यो ऋण होइन अनुदान हो। हामीले पैसा लिइसकेपछि फर्काउनु पर्दैन।’
Facebook Comment