चीनमा बन्यो अर्को कोरोना भ्याक्सिन, ‘सुरक्षित र प्रभावकारी’ रहेको कम्पनीको दावी

डिसी नेपाल
१५ असार २०७७ १०:२९

काठमाडौं। चीनले अर्को कोरोना भ्याक्सिन तयार गरेको जानकारी दिएको छ । रोयटर्सको रिपोर्टअनुसार चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी)ले आइतबार यसबारे जानकारी दिएको हो । कम्पनीका अनुसार भ्याक्सिनको मानवमा गरिएको परीक्षणको नतिजा आएको छ । क्लिनिकल ट्रायलको क्रममा भ्याक्सिन सुरक्षित र प्रभावकारी देखिएको कम्पनीले जनाएको छ ।

चाइना नेशनल बायोटेक ग्रुपको तर्फबाट तयार गरिएको यो दोस्रो कोरोना भ्याक्सिन हो । कम्पनीको बेइजिङस्थित युनिटमा यो नयाँ भ्याक्सिन तयार गरिएको हो । यसअघि कम्पनीको वुहानस्थित युनिटमा अर्को भ्याक्सिन तयार गरिएको थियो । सीएनबीजीले दिएको जानकारीअनुसार ट्रायलको फेज १ र २ मा ११२० जना स्वस्थ व्यक्तिलाई यो भ्याक्सिन दिइएको थियो । भ्याक्सिन दिइएका सबैमा उच्च मात्रामा एन्टिबडी उत्पादन भएको कम्पनीले जनाएको छ ।

रिपोर्टअनुसार अहिलेसम्म चीनका ८ भ्याक्सिनले ह्युमन ट्रायलको अनुमति पाइसकेका छन् । यस हिसाबले सफल भ्याक्सिन तयार गर्ने दिशामा चीन धेरै अगाडि पुगिकेको मानिएको छ । सीएनबीजी चीनको सरकारी कम्पनी चाइना नेशनल फर्मास्युटिकल ग्रुपबाट मान्यता प्राप्त छ । कुनै पनि भ्याक्सिन सफल हुनको लागि पहिलो र दोस्रोसँगै तेस्रो चरणमा सुरक्षित र प्रभावकारी देखिनुपर्छ । तेस्रो चरणमा हजारौं मानिसहरुलाई भ्याक्सिन दिइन्छ । तेस्रो चरण पनि सफल भएमा भ्याक्सिन आम मानिसहरुलाई दिइन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *