विश्वकप छनोट : आइतबार नेपालले प्रतिद्वन्द्वी थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । मलेसियामा जारी आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट समूह बी अन्तर्गत तेस्रो खेलमा नेपालले आइतबार थाइल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ।
अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेपालले तेस्रो खेलमा थाइल्याण्डसंग खेल्न लागेको हो। यसअघि नेपालले शनिबार आयोजक मलेसियालाई ८ विकेटले हराएको थियो। त्यसअघि पहिलो खेलमा नेपालले म्यानमारलाई पनि ८ विकेटले हराएको थियो।
क्वालालम्पुरस्थित वायुमास ओभलमा नेपाल र थाइल्याण्डबीचको खेल नेपाली समय अनुसार अपरान्ह १२ः१५ मा सुरु हुनेछ। र, थाइल्याण्डविरुद्ध मैदान उत्रदा नेपाल तेस्रो जितको खोजीमा हुनेछ।
थाइल्याण्ड नेपालको लागि नौलो प्रतिद्वन्द्वी समेत हो। महिला र उमेर समूहमा नेपालले थाइल्याण्डसंग प्रतिस्पर्धा गरिसकेको छ। तर, पुरुष टोलीले भने दोस्रो पटक खेल्न लागेका हुन्।
यसअघि सन् १९९८ को एसीसी ट्रफीमा नेपाल र थाइल्याण्डबीचको खेल तय भएको थियो। तर, वर्षाको कारण उक्त खेल टस समेत नभई स्थगित भएको थियो।
जारी छनोटमा थाइल्याण्ड शीर्ष स्थानमा रहेको छ। थाइल्याण्डले ३ खेलबाट ५ अंक जोडेको छ। २ खेलबाट नेपालले ४ अंक जोडेको छ । नेपाल तेस्रो स्थानमा छ। २ खेलबाट ४ अंक जोडेको सिंगापुर दोस्रो स्थानमा छ।
नेपालले थाइल्याण्डपछि मंगलबार भुटानसंग प्रतिस्पर्धा गर्दा बुधबार चीन र शुक्रबार सिंगापुरसंग खेल्नेछ । छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटमा स्थान बनाउने छन् । एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । एसिया छनोटमा ७ टोलीले खेल्नेछन् ।
अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् ।
Facebook Comment