चीनका अनुसन्धानकर्ताले नयाँ संक्रमणको खोजी गरे, महामारी झन् बढ्ने वैज्ञानिकको निष्कर्ष
काठमाडौं। विश्वभरमा कोरोना संक्रमितको संख्या १ करोड ४ लाख ७ हजार ५५ पुगेको छ। तीमध्ये ५६ लाख ६४ हजार ३५५ जना उपचारपछि निको भएका छन् भने पाँच लाख ८ हजार ७७ जनाको मृत्यु भएको छ। कोरोना कहरबीच संयुक्त अरब इमिरेट्स (युएइ) मा १ जुलाइदेखि धार्मिक स्थल खुल्ला गरिने भएको छ। यहाँ संक्रमितको संख्या ४ हजार नाघेको छ। उता डब्ल्यूएचओले विश्वभरका मुलुकहरुको अर्थव्यवस्था निकै खराब स्थितिमा पुगेको र अझै खराब अवस्था आउन बाँकी रहेको जनाएको छ।
डब्ल्यूएचओ प्रमुख टेड्रोस एडहोमन गोब्रेसियोसिसले यदि सरकारले सही नीतिको पालना गरेनन् भने संक्रमितको संख्या झन बढ्ने चेतावनी दिएका छन्। आफूहरु सबैको चाहना महामारी अन्त्य होस भन्ने रहेपनि त्यस्तो संभावना तत्काल नरहेको उनले जनाए।
उता चीनमा अनुसन्धानकर्ताहरुले एउटा नयाँ प्रकारको स्वाइन फ्लूको खोजी गरेका छन्। द गार्डियनका अनुसार अनुसन्धानले जारी महामारी झन बढ्न सक्ने निष्कर्ष निकालेको छ। सोमबार अमेरिकी साइन्स जर्नल पीएनएएसमा यो रिपोर्ट प्रकाशित भएको छ। यसलाई जी–४ को नाम दिइएको छ। वंशाणुगत रुपले यो एन१एच१ को स्वरुप हो, जसले २००९ मा विश्वभर आतंक मच्चाएको थियो। अनुसन्धानकर्ताहरुले यो भाइरस पनि एकबाट अर्को मानिसमा फैलिन सक्ने जनाएका छन्। यसको लक्षण पनि रुघा, खोकी र ज्वरो आउने नै हो।
अमेरिकाको क्यालेफोर्निया प्रान्तको जेलमा करिब २६ सय कैदीमा कोरोना संक्रमण देखिएको छ। गभर्नर गोभिन न्यूसामका अनुसार तीमध्ये एक हजार कैदी स्यान क्विनटिन जेलमा रहेका छन्। क्यालिफोर्नियाको जेलमा करिब १ लाख १३ हजार कैदी रहेका छन्। महामारीका कारण जेलबाट अहिलेसम्म करिब ३५ सय कैदीलाई रिहा गरिएको छ।
Facebook Comment