सुरक्षा निकायको दैलोमा जन्तर दलालहरु

डिसी नेपाल
१७ असार २०७७ ९:४८

कोरोना निको पार्न बेसार अचुक दवाई हुन्छ भनेर सरकार प्रमुखले पटक पटक फलाकेपछि आफ्ना मित्रजन किसानहरु धमाधम बेसार खेती गर्ने होमवर्क गर्दैछन्। सरकार प्रमुखको दाबी जनतालाई कानून बराबर।

जनविश्वासको ओइरो पहिरो। एकजना किसानले गुनासो गरे–‘नेपालको हिमाली हावापानीको अर्गानिक बेसार बिचौलियाहरुले बिदेश निर्यात गरिदिने र नेपालीहरुको लागि सस्तो नक्कली बेसार भान्छा भान्छामा पुर्याइदिने व्यापारिक शोषण अन्त्य हुन जरुरी छ।’

.यो एउटा प्रतिनिधि उदाहरणमात्र हो। लसुन, टिम्बुर, च्याउ, यार्चागुम्बा, अदुवा, चिया, कफी लगायतका धेरै औषधिजन्य जडिबुटी र खाद्य बस्तुहरु कौडीको भाउमा निर्यात हुन्छन्।

जनताको मनोविज्ञानको स्याबोटाज

महामारीमा आम जनताहरुको मनोविज्ञान अन्यौलग्रस्त, दुविधायुक्त र नाजुक छ। जनताको नाजुक मनोविज्ञानको फाइदा उठाउन दलालहरु सक्रिय छन्। ती चतुर दलालहरुले राजधानीमा शासकहरुको गलामा ‘कोरोना रिमुभिङ माला’ लगाइदिएका छन्।शासकहरुलाई मञ्चमा आसन ग्रहण गराएर ‘कोरोना जन्तर’को प्रचार प्रसार गरिएको छ। संचारकर्मीहरुको चलाखीका साथ सहयोग लिइएको छ।

शासक र नेतृत्ववर्गको नसा छामिसकेपछि दलालहरु सुरक्षा निकायहरुका मूलगेटमा लामबद्ध छन्। पंक्तिकारले ५० थान जन्तर उपहार दिन अनुमति माग्दै गरेको २ जना मान्यजन दलालहरुलाई भद्रकाली पेट्रोल पम्प नजिक भेटेपछि पूर्वानुमान लगाएँ तिनीहरुको अर्को टार्गेट् समूह सैनिक अधिकारीहरु हुनेछन्।

दलालहरुको मालालाई सरकार नेतृत्वबर्गले घाँटीमा भिरेर देखाइदिएपछि त्यो मालाले कानूनी संजिबनी बुट्टीको मान्यता पाइसकेको छ। अब त्यो माला सुरक्षा निकायहरुमा प्रबेश गर्न खोज्दै छ। त्यसपछि सबै मन्त्रालय, बिभाग, महानिर्देशनालय र निर्देशनालयका कर्मचारीहरुको पालो आउने छ।

नेपाललाई प्रोपोगाण्डाको सस्तो र रमाइलो बजार बन्न दिनु भएन। सरकार सतर्क, सजग र जिम्मेवार भएर उभिनुपर्यो। सुशासनको प्रत्याभूति दिन धेरै ढिलो भइसकेको छ। भ्रष्टाचारको ऐँजेरुसँग जनता आक्रोशित भइसकेका छन्।

यो जन्तर माला सँगसँगै बजारमा विभिन्न बुट्टी, गोली, पाउडर, झोल बिक्री हुन थालेको अवस्था छ। खोला, चौतारी, देउराली, मन्दिरलगायत गाउँघरमा कोरोना देवी थापना गरेर धामी झाँक्री पूजापाठ शुरु भइरहेको कोरोना नियन्त्रणका घरेलु बिधिहरु विज्ञान बिरोधीमात्र होइन ज्यादै रहस्यमय र रोचक छन्। नेपाल प्रोपोगाण्डा र स्याबोटाज्को अनौठो, अपत्यारिलो र अध्ययनलायक भूमि भएको छ। ढुङ्गे युगको अवशेष बाँकी रहेको बिचित्रको दुर्लभ मुलुक।

दलालहरुको परिचय र दैनिकी

को हुन् यी दलालहरु? सर्वाधिक चासो र जिज्ञासाको बिषय भएको छ। दलालहरुको वर्ग र श्रेणी छ। स्थानीय तहदेखि संघीय सरकार बनाउने, खेलाउने, भत्काउने, फुटाउने र जोड्ने दलालहरु सरकारभन्दा शक्तिशाली छन्। ती शासकहरुका आफ्नै हाड नातागोता भित्रका मान्छेहरु हुन्। सरकार आफैं चल्न सक्दैन अथवा सामथ्र्य राख्दैन अथवा परनिर्भर छ।

त्यसैले सरकार दलालहरुद्वारा निर्देशित संचालित र नियन्त्रित् छ। तिनै दलालहरु हुन् चुनौतिलाई अवसरमा बदल्ने। चुनौतीभित्र दुलो, चिरा र छिद्र प्वाल खोजेर पस्ने र लकडाउन् व्यापार गरेर मालामाल हुने।

झोले यी दलालहरुले सरकारको दिमाग भुटेर जोकर बनाउँदै कोरोनाको झुट व्यापार गरिरहेका छन्। तिनका गड्फादरहरु सत्ताको कुर्सीमा पदासिन छन्। त्यही कुर्सीको दुरुपयोग गरेर दलालहरु सुरक्षा निकायका मुख्यालयको ढोका ढक्ढक्याइरहेका छन् । यो नयाँ नेपालको विधि बनेको छ। प्रजातन्त्र र गणतन्त्रको महत्वपूर्ण चरित्र तथा बिशेषता बनेर जनजनमा जरा गाडेको छ।

बिषयान्तरको अस्त्र
सरकार पनि के कम ? ऊ पनि प्रसंग र बिषयान्तरको तीब्र खोजिमा छ। १० अरबको हिसाबकिताब खोज्ने हुन् वा स्वास्थ्य सामग्री। क्वारेन्टाइन् माग गर्ने हुन् वा स्वदेश फिर्ताको मागवाला। तिनलाई अलमल्याएर तिरीमिरी खेलाउन अचुक अस्त्र भएको छ बेसारपानी र घाँटीको जन्तर। जस्तो देश उस्तै भेष ∕ नेपाली जनताको ध्यान अन्यत्र मोड्न यस्तै तुक्का र चुट्की रुचिपूर्ण हुन्छ भन्ने कुराको ज्ञान नहुने कुरै भएन सरकारलाई ।

एम्बुसमा नेपाली सेना
स्वास्थ्य सामग्री खरिदको योजना बिफल भएर भ्रष्टाचारको पोल खुल्नासाथ दलालहरुले नेपाली सेनामाथि स्याबोटाज गर्ने योजना बनाए। छिनमा सरकारलाई बोल्न लगाए–‘भ्रष्टाचार भएको छैन। स्वास्थ्य सामग्री खरिद र आपूर्तिको जिम्मेवारी नेपाली सेनाले गर्नेछ।’

पंक्तिकारले यो सुन्नासाथ संगठन प्रमुख लगायत वहाँको टीमको ध्यानाकर्षण गराएँ–“यो दलालहरुको भयानक खतरा एम्बुस हो। सुरक्षित, गोप्य र फाष्ट ट्रयाकबाट नेपाली सेनाको बुईचढेर एकद्वार प्रणालीबाट व्यापार र घोटाला गर्ने षडयन्त्र हो।

लजेष्टिक पक्षको ढुवानी, आपूर्ति र बितरणको काम आफ्नो हवाई र सडकसाधनको प्रयोग गरेर गर्न सकिन्छ। तर, खरिदको काममा नेपाली सेनाले हात हाल्नु हुँदैन। जि टू जि को काम फत्ते गर्न नेपालको कुटनीतिक तागत, कुटनीतिक धरोहर त्यहाँको राजदूत र नेपाल सरकारको भरोसा र विश्वास सबै कमजोर छ। सैन्य सहचारीहरुको प्रयोग, परिचालन र मद्धत लिनु राष्ट्रिय असफलता र लज्जाको कुरो हो।”

सैनिक नेतृत्व धर्मसंकटमा पर्यो। सरकार र जनतालाई बिपद् व्यबस्थापन र राहत् दिने पबित्र उद्देश्यले अगाडि सर्यो। चतुर दलालहरुले सरकार र सेना दुबैलाई एउटै खाल्डोमा हाले। व्यर्थ व्यापारिक प्रयोजनको फोहोरी खेलमा नेपाली सेनाको दुरुपयोग गरियो।

सिक्नुपर्ने पाठ

नेपाललाई प्रोपोगाण्डाको सस्तो र रमाइलो बजार बन्न दिनु भएन। सरकार सतर्क, सजग र जिम्मेवार भएर उभिनुपर्यो। सुशासनको प्रत्याभूति दिन धेरै ढिलो भइसकेको छ। भ्रष्टाचारको ऐँजेरुसँग जनता आक्रोशित भइसकेका छन्।

दलाल र बिचौलियाहरुको चकचकी र घेराबन्दीबाट सरकार र सरकारी संयन्त्रहरु छिटो मुक्त हुन जरुरी छ। त्यसको लागि सुशासनको प्रत्याभूति जरुरी छ। शासकको जिद्धिपन, अदुरदर्शिता र असहिष्णुताले अमेरिकामा अनपेक्षित मानवीय र भौतिक क्षति भयो।

नेपालको शासन केन्द्र घेराउ भयो । सत्तापलटको प्रयास र अभ्यास भयो। अमेरिकादेखि नेपालसम्म जनताले जनउत्तरदायी, लोकप्रिय, जवाफदेही र त्यागी सरकार माग गरे। ‘सरकारको लिटल नलेज र मेरा गोरुको बाह्रै टक्का’ प्रबृत्तिलाई तिरस्कार गरे। नेपालमा सुरक्षा निकायहरु गम्भीर र चौचर्फी निशानाको चौबाटोमा फगत उभिएका छन्।

प्रजातन्त्रको पहिलो आक्रमण कर्मचारीतन्त्र हुँदा त्यो एकै गाँस भयो। अहिले कर्मचारीतन्त्र पहिचान र अस्तित्व हराएको पार्टी भर्ती केन्द्र र नेताहरुको बफादार सेवकको सेवा केन्द्र भएको छ। स्थायी सरकारको त्यो दूरदशाले सुशासनलाई धकेलेर कल्पना बाहिर पुर्याएको छ। स्थायी सरकारको निर्मलीकरण, शुद्धिकरण र सबलिकरण अबिलम्ब गर्न जरुरी छ।

नेपाल प्रहरी त्यसपछि सशस्त्र प्रहरी माथिको राजनीतिक कब्जा र दलाली हावी छर्लङ्गै छ। संगठन प्रमुखहरुलाई जेल नेल ठोक्ने दलालहरुको पर्दाफास गर्न र आफूँलाई व्यापारिक घोटालाको निमित्त दुरुपयोग गरेर रकम कुम्ल्याउनेहरुको गोपनीयता ती ‘युज एण्ड थ्रो’ मा परेका संगठन प्रमुखहरुले खोलेर जनतालाई सुसूचित गरिदिनुपर्दछ।

महाअभियोग लगायतका तानाबुना र त्राशले न्याय क्षेत्रमाथि कब्जा जमाएपछि अबको तार्गेट नेपाली सेना हो। नेपाली सेनामाथि श्रृङ्खलाबद्ध आक्रमणका प्रयासहरु भएपनि सैनिक नेतृत्वको सुझबुझ, सावधानी, कर्तव्यबोध र जवाफदेहिताले यो संगठन आजसम्म जोगिएको छ। तर संगठन कब्जाका धक्काहरु अनवरत एकपछि अर्को आइरहने छन्।

सरकार चलाउने दलालहरुका नाफाखोरी व्यापारिक धक्का र राजनीतिकरणको धक्काले संगठनलाई निरन्तर कमजोर पार्नेछन्। राजनीतिक नेतृत्वको जन्तर फोटोकपी गरेर विश्वमा चर्चित नेपालका सुरक्षा निकायहरुले दलाल मार्फत सरकारको पक्षपोषण गर्न र जग हँसाउनु हुँदैन।

बरु, सुरक्षा निकायहरु एक ठाउँमा उभिएर सरकारलाई प्रोपोगाण्डा र दलाली स्याबोटाजबाट सुरक्षित रहन र छिटो सुशासनको प्रारम्भ गर्न दबाव दिनुपर्दछ। होली वाईनदेखि बेसार अस्त्र हुँदै जन्तर संजिबनी बुट्टीको खेलौना भई बदनाम भएको दलको सरकार होइन, मुलुकको संबिधान र जनताको सेवक भई मुलुक र मुलुकबासीको रक्षा कल्याण सेवामा समर्पित हुनुपर्दछ।

राज्यका ती सबै अंग र संयन्त्रहरु जन्तरका पछि नलागी आफूँ सबल र सक्षम भएर मुलुकको शासन व्यवस्थालाई उत्तरदायी भई सफल र जनपक्षीय बनाउन बिशेष योगदान र त्याग गर्नु राष्ट्रको हितमा हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *