गुरुहरू, गुरु पूर्णिमा र म
म त लकडाउनले पूरै “डाउन” भएको छु । अर्थात्, “लकडाउन” अघिको जस्तो माधब छैन । पूर्वावस्थामा आउन शायद दशैँसम्म लाग्छ होला । अहिले त मेरो न सुत्ने ठेगान छ न उठ्ने । न खाने समयको ठेगान छ न जानेको । बेमाथवरको नभए पनि बेठेगानको छु म । बेठेगाने भएपछि न त समय सम्झिनु पर्ने न कुनै तिथिमिति सम्झनु पर्ने । एउटा कुराको ज्ञान लिएको छु– परिस्थितअनुसारको आनन्द लिनुपर्छ । आनन्दीले कहिल्यै बिगार्दैन । अहिलेको परिस्थिति त झन मेरो लागि र मेरो बुझाइमा अमूल्य छ किनभने मसँगै सबै सुतेको छ । सबै मानवको मेरैजस्तो अवस्था छ । “स्पेनिश फ्लु”ले पाँच करोड मानिसले ज्यान गुमाएरे । तर त्यत्रो संख्यामा क्षति हुँदा पनि धर्तीको अर्को पाटोका मानिसले त्यो दुःख महसुस गरेनन् । तर अहिले धर्तीका सबै एउटै कारणमा एकीकृत छन् । को धनी को गरीब सबैको एउटै कारणले समान छन् । त्यसैले म पनि धर्तीका सबैसँग मेरो समानता छ भनेर सन्तुष्टि लिएको छु । यो कोरोनाले जुराइदिएको संयोगलाई किन उपयोग नगरूँ भनेर आनन्द लिएको छु ।
त्यही भएर आज गुरु पूर्णिमा भन्ने पनि थाहा पाइन । २०७६चैत्र १२ गतेदेखि “डिजिटल नसा” (फेसबूक) मा सम्मिलित भएर बिस्तारै अभ्यस्त हुँदै गएकोले फेसबूकबाटै थाहा पाएँ– आज त गुरु पूर्णिमा पो रहेछ ! उसै त भस्याङ्ग्रे र अलमस्ती मान्छे त्यसमाथि पनि लकडाउन लागेको ! कुनै तिथिमिति सम्झनु पर्ने अवस्था नै परेन ! त्यसमाथि स्वाभावैले औपचारिकता नरुचाउने मान्छे ! यति भएपछि बिर्सिनु कुनै आठौं आश्चर्य नै भएन । बिर्सेछु ।
∞∞∞∞∞∞∞∞∞
मैले ज्ञानहरू धेरै गुरुहरू र धेरै किसिमका गुरुहरूबाट लिएँ । केही ज्ञान कसैले नसिकाई आफैँ लिएँ । त्यसैले आफैँ गुरु भएँ । केही अरूले सिकाएर लिएँ । अरूहरू गुरु हुनुभयो । केही ठक्कर खाएर लिएँ । ठक्करै गुरु भए । कतिपय ज्ञान अक्करमा परेर लिएँ । अक्करै गुरु भए । केही रहरमा लिएँ । केही करमा लिएँ । कति ज्ञान आफ्नै गल्तीबाट पनि लिएँ । गल्ती पनि गुरु ! केही देखेर लिएँ । केही सिकाएर लिएँ । कति गुरु कति ! दिमागमा एउटै कुरा छ– ज्ञान लिनुपर्छ । वश यत्ति हो । गुरुहरू बेहिसाब छन् !
जीवनमा चाहिने ज्ञान विभिन्न स्रोतहरू र माध्यमबाट लिएँ र घाटमा बिलिन नहुञ्जेलसम्म केही न केही ज्ञान लिइरहिन्छ पाइरहिन्छ । महात्मा र ब्रह्मज्ञानीहरूलगायत सबैले सबै कुरा सबै बुझ्दैनन् । म जाबोले त झन बुझ्ने कुरै भएन । मानिसले लिएका सबै किसिमका ज्ञानहरू सबै अवस्था र परिस्थितिमा काम लाग्दैनन् । त्यसैले ज्ञानको उपयोगको पनि आफ्नो समय र स्थान हुन्छ । त्यसैले गुरु पनि समयअनुसारका र उपयोगिताअनुसारका हुने रहेछन् । यो पनि आफैँ गुरु भएर लिएको ज्ञान हो । उडान जतिमाथि पुगेको भए पनि उडान शुरू हुनुभन्दा अघि भुइँमै थिइयो र उडेपछि पनि आकासमै सधैँ अडिइरहन सकिदैन बैठान हुनैपर्छ र बैठानको लागि पनि भुइँ नै चाहिन्छ । त्यसैले भुइँ कहिल्यै छोड्नु हुँदैन । यो पनि आफैँले लिएको ज्ञान हो ।
यति कुराको ज्ञान भए पनि अहिलेसम्म मेरो दिमागमा उठेका केही प्रश्नहरूको समाधान गरेर ज्ञान दिने गुरु मैले पाएको छैन– ज्ञान के हो ? गुरु को हो ? र, गुरु माध्यम हो कि वा स्रोत हो कि वा दुवै ? यी प्रश्नहरूको उत्तर दिने गुरु अहिलेसम्म मैले पाएको छैन । अनि, यो गुरु पूर्णिमा कुन गुरुको सम्मानको तिथि वा पर्व हो ? यिनै प्रश्नमा मन अल्मलियो । त्यसैले कुन गुरुको पूर्णिमा हो यो र कुन गुरुप्रति सम्मान जनाउँन गुरु पूर्णिमा मान्ने भन्ने प्रश्नले उत्तर नपाएकोले तत्कालै गुरुहरूप्रति विद्युतीय सम्मान जनाइहाल्न पनि मन लागेन र तै बेलुकासम्म दिमागले कुनै उत्तर सुझाउँछ कि भनेर पर्खेँ । तर, अहँऽ, दिमागले मरिगए कुनै उत्तर सुझाएन । त्यसैले यी प्रश्नको उत्तर दिने गुरु पनि भेट्न सकिने र गुरुको सम्मान पनि हुने भएकोले प्रश्नकै बिस्कुन सुकाएरै भए पनि गुरुहरूको सम्मान गरुँ भनेर बेलुका भए पनि लेखिदिएको छु ।
∞∞∞∞∞∞∞∞∞
प्रसवको आलो पीडामा हुँदाहुँदै पनि जन्मिने बित्तिकै दूधको मुन्टोमा मुख लगाइदिएर जीउन र संसार हेर्न-भोग्नको लागि पहिला बाँच्नु पर्छ र बाँच्नको लागि खानुपिउनु पर्छ भनेर भाषा नबुझ्ने भए पनि व्यवहारले ज्ञान दिने र पछिका गुरुहरूले बुझाउने भाषा अक्षर–अक्षर र शब्द(शब्द गरेर सिकाउने आमा गुरु हुन् कि होइनन् ? अलि ठूलो भएपछि काखमा राखेर दूध खुवाउँदै गर्दा दूध चुस्दै आमाको चिउँडोमा लात्ति हान्दा पनि खुसी हुने र अमीट र अमर प्रेम भनेको यस्तो हुन्छ भनेर ज्ञान दिने आमा गुरु हुन् कि होइनन् ? हुन् भने यो गुरु पूर्णिमामा किन आमा (महिला) को तस्बीर वा आकृति रहँदैन र पुरुष नै गुरुको रूपमा चित्रित हुन्छ रु मैले यसलाई महिलावादी (फेमिनिष्ट) बन्न खोजेर लेखेको होइन र फेमिनिष्टहरूलाई “मसला” मिलोस् भनेर लेखेको पनि होइन । म कुनै वादमा विश्वास गर्दिन तापनि किन लेखेको भने ज्ञान दिने गुरु हो भने पहिला त आमा हुन् । पहिलो र सबैभन्दा महत्त्वपूर्ण ज्ञान दिनेलाई आमालाई के मातातीर्थ औंसीको अधेँरोमा सम्झेर मात्र पुग्छ ? यत्ति भन्न खोजेको । भनिँहाले, म “फेमिनिजम” वा कुनै वादमा विश्वास गर्दिन र सीमित हुन चाहन्न ।
ठिङुरे (लेकमा हुने एकजातको रुख–काठ) को पाटीमा खरीले लेखाउँदै मलाई कखरा घरमै सिकाइयो । गुरु हुनुहुन्थ्यो बा र दाजुहरू । त्यसपछि स्कूलमा “एई, माधे यसरी तैँले गरी खाँदैनस्, पाजी !” भन्दै कहिले “कान कि मान” र कहिले “ठोकठाक” गर्दै सिकाउने यदुविक्रम कार्की (एउटै शिक्षकबाट “स्कूल” चल्थ्यो र सबै विषयहरू एउटै शिक्षकबाट पढाइ हुन्थे) गुरु ठूलो कि मलाई स्नातकोत्तर तह (मैले यही तहसम्म मात्रै पढेको र यसभन्दा माथि जाने लालसा पनि नभएकोले स्नातकोत्तर भनेको) मा देश विदेशका कुराहरूसमेत सिकाउने गुरुहरूमध्ये कुन ठूला होलान् ? जीवनमा कहिल्यै नदेखेका र नदेखिने पनि तर उनीहरूको लेखरव्याख्यान–पुस्तक आदिको माध्यमबाट ज्ञान प्राप्त हुन्छ गरिराखिएको छ, तिनीहरू कुन दर्जाका गुरु होलान् ? उनीहरूको सन्दर्भमा म चेलो, शिष्य, विद्यार्थी वा खरिदकर्ता कुन कोटीमा पर्दो हुँ ? एक चरण पार गरेपछि यस्तै “गुरु” धेरै हुन्छन् कक्षामा राखेर पठाउने भन्दा । अरूलाई अर्ती दिने तर आफू पालना नगर्ने गुरुको कोटीमा पर्छन् कि पर्दैनन् ?
∞∞∞∞∞∞∞∞∞
शुरूमा औपचारिक शिक्षाअन्तरगत कखरा पढियो । पछि विषयहरू पाँजिदै गएर धेरै भए । पछि फेरि साँघुरिदै गएर एउटा विषयमा “विशेष अध्ययन” गरेको भनेर प्रमाण(पत्र पाएर झण्डै(झण्डै शुरूकै अवस्थामा पुगियो । अर्थात्, बीचमा लिएका कतिपय ज्ञान काम नलाग्ने अवस्थामा पुगे । एक पटक ज्ञान दिएका यस्ता विषय पढाउँने गुरुलाई यस पूर्णिमाले समेट्ला कि नसमेट्ला ? अर्थात् यो कुन गुरुप्रति समर्पित होला ? मनामा जानकारीको रूपमा रहने ज्ञान, “कुनै कुराको जानकारी यसले पनि राख्छ” भन्ने भान पार्नलाई र “गफ दिन”को लागि लिइने टुक्राटुक्री ज्ञान, जीविकोपार्जन गर्न काममा आउने ज्ञान, आत्मसन्तुष्टिको लागि दिइने ज्ञान आदिमध्ये, साँच्ची, कुन ज्ञान दिनेलाई समेट्दो हो यस पूर्णिमाले ?
अब कुरा रहन्छ– ज्ञान के हो ? ज्ञानले कस्ता कस्ता कुरालाई समेट्छ ? हिजो छोइछिटो गर्नुपर्छ भनेर शिक्षा दिने गुरु थिए । तिनीहरू आज ढोंगी र रुढीवादीको रूपमा तिरस्कृत छन् । तिनीहरू गुरु हुन् कि होइनन् ? यसको तात्पर्य– ज्ञान र गुरु सामयिक हुन्छन् ? हिजोको ज्ञान आज काम लागेन भने ती हिजोका गुरु आज गोरु भए त ? त्यसो भए ज्ञान र गुरु आवधिक हुन्छन् ?
कुनै अनुभवी चोर, डाँका, लुटाहाले पनि आफ्नो समूहका सदस्यलाई त्यसै सम्बन्धमा दिने शिक्षालाई ज्ञान भन्न मिल्ला कि नमिल्ला ? अर्थात् त्यस्तो ज्ञान प्राप्त गर्नेले चोर, डाँका र लुटाहालाई गुरु भनेर आजको दिनमा सम्झिन्छ होला कि सम्झिदैनन् होला ? भरखर गाउँबाट आएकी वा ल्याइएकी कुनै युवतीलाई उनको अञ्जान र बाध्यताको फाइदा उठाउँदै नगरबधु बनाइएकी र पछि त्यसैलाई पेशा बनाएर त्यसैबाट सन्तुष्ट कुनै युवती–महिलाले त्यस्तो कर्म सिकाउनेलाई गुरु मानेर आजको दिनमा गुरुभावका साथ सम्झिन्छिन् होला कि सम्झिनन् होली ? यो कुन प्रकारको गुरु पूर्णिमा हो ? मेरो मनको जिज्ञासा ।
∞∞∞∞∞∞∞∞∞
सम्झिँदै जाँदा गुरु र ज्ञान दुवै सामयिक हुँदो रहेछ । गुरुको आकार प्रकार हुँदैन । गुरुको सम्बन्ध ज्ञानसँग हुन्छ । गुरु पलपलका र पगपगका हुन्छन् । गुरु अरू पनि हुँदा रहेछन् । आफ्नै गुरु आफू पनि भइँदोरहेछ । मान्छे पनि गुरु हुँदो रहेछ । समय, परिस्थिति, घटना, दुर्घटना सबै गुरु हुँदारहेछन् । एउटै र एकै किसिमको गुरुले जिन्दगी चल्दो रहेनछ । त्यसैले सत्मार्गमा लाग्नलाई ज्ञान दिने चराचर सबै गुरुहरूमा मेरो अमाप्य र सदाबहार सम्मान ! सबै गुरुहरूको जय होस् ११ गुरुहरूको गुरुत्व झन्झन झाँङिइरहोस् !!!
२०७७ को गुरु पूर्णिमा ।
Facebook Comment