विदामा आएका युवा विदेश फर्किन थाले, भन्छन–‘बरु उतै मरौँला, विदेश जानुको विकल्प पाएनौं’

डिसी नेपाल
२३ असार २०७७ ११:०१

काठमाडौँ । कोरोनाभाइरसको महामारीका कारण वैदेशिक रोजगारीमा गएका धेरै युवाले रोजगारी गुमाए । रोजगारी नभएपछि उनीहरु नेपाल फर्किए । रोजगारी गुमाएर विभिन्न देशमा अलपत्र परेका करिब २० हजार नेपालीलाई सरकारले स्वदेश फर्काइसकेको छ । अझै हजारौंको संख्यामा नेपाली स्वदेश फर्किन चाहेका छन् । तर, यसको विपरित लकडाउनअघि नै नेपाल आएका युवाहरु भने विदेश फर्किन थालेका छन् ।

जसरी हुन्छ विदेशमै फर्किने सोच बनाएर उनीहरु श्रम कार्यालयमा श्रम स्वीकृतिका लागि आउन थालेका छन् । सरकारले गएको बिहीबारबाट वैदेशिक रोजगारीको लागि श्रम स्वीकृतिको प्रक्रिया सुचारु गरेको छ । ४ महिनादेखि बन्द श्रम स्वीकृति सुरु भएसँगै अहिले श्रम कार्यालयहरुमा सेवाग्राहीको चाप बढेको छ ।

सोमबार डिसीनेपाल टिम श्रम कार्यालय ताहाचल पुग्दा त्यहाँ पुनः श्रम स्वीकृतिका लागि लाइनमा लागेका सयौँ युवायुवतीको एउटै स्वर थियो ‘हामीलाई यहाँ भन्दा विदेशमै ठिक छ ।’ विदेशमा रहेका नेपालीहरू स्वदेश फर्कन खोजिरहेका बेला किन विदेश जान हतार गर्नु भएको ? भन्ने डिसीनेपालको प्रश्नमा अधिकांशको जवाफ थियो– ‘नेपालमा बरु हामीलाई धेरै डर छ, यता कोरोना लाग्यो भने उपचार नपाइन पनि सकिन्छ । उता त कम्पनीले बिमा गरिदिएको हुन्छ । त्यहाँको सरकारले पनि निःशुल्क गुणस्तरीय उपचार गर्छ ।’

नेपालमा योग्यता अनुसारको अवसर नभएकाले पनि यहाँ बसेर समयको दुरुपयोग गर्नु बेकार रहेको यूएई फर्कन लागेका सर्लाहीका एक युवा बताउँछन् । सरकारले विदेशबाट फर्केकाहरुलाई स्वदेशमै व्यवस्थापन गछौँ भनेकोप्रति लक्षित गर्दै उनले भने ‘हाम्रो योग्यता अनुसारको अवसर खोइ ?’ नेपालमा उचित पारिश्रमिक नपाइने र कमाइभन्दा महंगी बढी भएकोले आफू विदेश फर्किन चाहेको उनले बताए ।

पुनः श्रम स्वीकृति लिन आएका युवाले विदेशमा रहेका नेपालीहरुलाई नआत्तिइ उतै बस्न सुझाव समेत दिए । कम्पनी ठप्प भएर रोजगारी गुमाउनु परे मात्रै स्वदेश फर्कन उनीहरुले सुझाए । ‘भावनामा बहकिएर वा अत्तालिएर फर्किएर यहाँ के गर्ने ? सबै कम्पनी राम्रो नहोला, कसैको भिसा म्याद सकिएको होला । बाध्यतामा भएका फर्कनु पर्छ । तर, कम्पनी राम्रो भएकाहरु, काम चलेकाहरु उतै बस्नुको बिकल्प छैन,’ लाइनमा बसेका एक युवाले भने ।

साउदी फर्कन खोजिरहेका अर्का युवा भन्छन– ‘हाम्रो कम्पनी राम्रो छ हामी बिदेश नै जान चाहन्छौ । फर्कन खोज्नेहरु सबैको राम्रो भएर नै हो । कम्पनीले उडान खुल्नासाथ आउन भनेको छ ।’ कोरोना संक्रमण नेपालमा पनि बढिरहेको अवस्थामा मृत्युसँग डराएर बाँच्न नसकिने उनले बताए । फर्कन लागेका उनीहरुमा कोरोना संक्रमणको चिन्ता भने अलिकति पनि देखिँदैन । ‘त्यहाँ पुगेर हामीले दुःख पाउँदैनौँ भन्नेमा हामी ढुक्क छौँ,’ यूएईबाट विदामा आएकी काभ्रेकी एक युवतीले भनिन्, ‘कोरोना भन्दा पनि हाम्रो परिवार चलाउने चिन्ता बढेको छ । हाम्रो आफ्नै व्यवहार हुन्छ, योजना हुन्छ ।’

सोमबार श्रमको लागि लाइनमा बसेका सबैजसोले सरकारले उडान पनि खोलिदिनुपर्ने बताएका छन् । ‘हाम्रो कम्पनीले उडान खुल्ने बित्तिकै आउनु भनेर सम्पर्क गरेको छ । यताबाट उडान रोकिनाले मात्रै हामी रोकिएका हौँ,’ कतारबाट बिदामा आएका एक युवाले भने, ‘उडान चाँडै खुलाउन सम्बन्धित निकायको ध्यान जाओस्।’

सोमबार काठमाडौँबाट ४१० जनाले पुनः श्रम स्वीकृति लिएका छन् । सोमबार एकैदिन ३६३ पुरुष र ४७ जना महिलाले पुनः श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहचलले जनाएको छ । सरकारले गएको बिहीबारबाट एकपटक विदेश गइसकेकाहरुलाई पुनः सोही काममा फर्किन श्रम स्वीकृति दिन सुरु गरेको हो । नयाँ श्रम स्वीकृति भने दिइएको छैन ।

सरकारले पुनः श्रम स्वीकृति दिएपनि उडान नखुल्दा उनीहरु विदेश फर्किन पाएका छैनन् । सरकारले आगामी साउन ७ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्ध लगाएको छ । पुनः श्रम स्वीकृती लिएका केही श्रमिक भने सम्भव भएसम्म मंहगो भाडा तिरेर चार्टर्ड फ्लाइटमा फर्कन थालेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *