नेकपा स्थायी कमिटी बैठक शुक्रबारसम्मका लागि स्थगित
काठमाडौं। आज बस्ने तय भएको नेकपा स्थायी कमिटी बैठक असार २६ गते शुक्रबारसम्मका लागि स्थगित भएको छ। मंगलबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार (आज) ११ बजे स्थायी कमिटी बैठक बोलाउने सहमति भएको थियो।
नेकपा स्थायी कमिटी बैठक असार १० देखि सुरु भएको हो। तर पार्टी भित्रको विवाद बढ्दै गएपछि स्थायी कमिटी पनि प्रभावित हुँदै आएको छ। आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।
केही समय अगाडि प्रधानमन्त्री ओलीले भारतले आफूलाई पदबाट हटाउन खोजको भन्ने अभिव्यक्ति दिएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ। जारी स्थायी कमिटीमा बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्रीको राजीनामा भागेपछि विवाद उत्कर्षमा पुगेको हो।
बहुमत स्थायी कमिटी सदस्यले प्रधानमन्त्रीको राजीनामा भागेपछि प्रधानमन्त्री ओलीले संसदको बजेट अधिवेशन अन्त्य गरेका थिए। त्यसपछि नेकपा विभाजनको संघारमा पुगेको नेताहरुले नै बताएका थिए।
त्यसपछि दोस्रो तहका नेताहरुले पार्टी विभाजन हुन नदिन भन्दै मध्यमार्गी भूमिका निर्वाह गरेका छन्। पछिल्ला दिनमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच पनि दैनिक भेटवार्ता भइरहेका छन्। प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच आज पनि छलफल हुने बताइएकाे छ।
Facebook Comment