गृहमन्त्री बादलको स्पष्ट अडान
काठमाडौं। सत्तारुढ दल नेकपाभित्र बढ्दो अन्तर संघर्षकाबीच सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले आफ्नो अडान स्पष्ट पारेका छन्।
स्थायी कमिटी बैठकमा अधिकांश सदस्यहरुले केपी शर्मा ओलीलाई प्रधानमन्त्री र अध्यक्षबाटसमेत हटाउनु पर्ने बताइरहेका बेला गृहमन्त्री मन्त्री थापाले भने अहिले सरकार र पार्टीको नेतृत्व परिवर्तन गर्ने पक्षमा आफू नरहेको बताएका हुन्।
‘अहिले सरकार र पार्टीको नेतृत्व परिवर्तनको कुराले प्रतिक्रान्तिलाई मलजल पुग्छ,’ गृहमन्त्री थापाको भनाइ उद्धृत गर्दै नेकपा केन्द्रीय सदस्य एवं राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले डिसी नेपालसँग भने, ‘दुई अध्यक्षबीच बैशाख २० मा जे सहमति भएको थियो। त्यसै अनुसार चल्नुको विकल्प छैन। उक्त सहमतिलाई थप ब्याख्या गर्न सकिन्छ। तर नेतृत्व परिवर्तनको कुरा अहिले संभव छैन।’
उनले पार्टी एकतालाई असर पार्ने कुनै पनि काम क्रियाकलाप गर्न नहुने भन्दै पार्टी एकताको पक्षमा सबैले भूमिका खेल्नु पर्ने बताएका थिए। गृहमन्त्री थापाले भम्सिखेल भेलाका विषयमा पार्टीभित्रका गुटले आफ्नो बारेमा कु प्रचार गरेको भन्दै गुनासो समेत गरेका छन्।
उनले अहिलेको स्थितिमा कसैलाई पनि निषेध गरेर जाने अवस्था नरहेको उल्लेख गर्दैै सबै मिलेर पार्टी एकतामा खलल् पुग्ने काम कसैले पनि गर्न नहुने बताए।
‘झम्सिखेल भेलाका विषयमा पार्टीभित्रका गुटले मेरो बारेमा कुप्रचार गरे। अध्यक्षले बोलाउँदा जाने गरेको छु। तर तर पार्टीभित्रका गुटले मेरो बारेमा सहजता अनुसार व्याख्या गरे,’ थापाको भनाइ उद्धृत गर्दै भट्टराईले भने। थापाले आफूले यही भनाइ स्थायी कमिटीमा राख्ने पनि बताएका थिए।
भट्टराईको नेतृत्वमा राष्ट्रियसभा सदस्य गृहमन्त्री थापालाई भेट्न मंगलबार गृहमन्त्रालय पुगेका थिए। गृहमन्त्री थापालाई भेट्न भट्टराई, सुुमनराज प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, जीवन बुढा नरपति ल्वार गएका थिए। उनीहरुले पार्टी एकताको पक्षमा भूमिका खेल्न गृहमन्त्री थापालाई आग्रह गरेका थिए।
Facebook Comment