टर्कीबाट आफ्नै प्रयासमा २३ नेपाली फर्किए, अझै सयौं नेपाली टिकट काट्ने पैसा नभएर अलपत्र

बिनेश खनाल
२७ असार २०७७ १६:४५

काठमाण्डौँ । कोरोनाका कारण टर्कीमा अड्किएका २३ नेपाली स्वदेश फर्किएका छन् । उनीहरु अमेरिकाबाट इस्तानबुल हुँदै काठमाडौँ आउन लागेको टर्किस एयरलाइन्सको चार्टर्ड फ्लाइटमा स्वदेश फर्किएका हुन् । टर्कीमा कार्यरत नेपाली युवा राजन योञ्जनका अनुसार सो प्लाइटमा टर्कीबाट ५ महिला र १८ पुरुष स्वदेश फर्किएका हुन् । जसमा २ बिरामी र एक मानसिक सन्तुलन गुमाएकी महिला छिन् ।

टर्कीबाट तत्कालै स्वदेश फर्कन करिब २५० नेपालीले इस्लामाबादस्थित नेपाली दूतावासमा आवेदन दिएका थिए । टर्कीमा नेपाली दूतावास नभएकोले त्यहाँको काम पाकिस्तानस्थित नेपाली दूतावासले हेर्छ । आफूहरूले दूतावासमार्फत पटक-पटक आग्रह गरे पनि नेपाल सरकारले पहल नगरेको उनीहरूले गुनासो गरेका छन् । दूतावासले पर्यटन मन्त्रालयमा आग्रह गरेको भए पनि काठमाडौंबाट बेवास्ता भएको उनीहरूको गुनासो छ ।

‘त्यो देशबाट नेपाली स्वदेश फर्के, यो देशबाट नेपाली स्वदेश फर्के भन्ने समाचार धेरै सुन्यौं । तर, यहाँ रहँदाको अप्ठेरो, भोक–रोगको डर, बेरोजगारी हामीले भोगेका छौं । आफ्नै जन्मभूमि फर्कने रहर र इच्छाहरु मनमै मार्दै बस्यौ,’ योञ्जनले डिसीनेपालसँग भने, ‘हामी टर्कीमा रहेका नेपालीहरुको दुखपीडालाई नेपाल सरकारले कहिल्यै सुनेन, सुनाउँदा पनि कान थुनेर बसिदियो । हामीलाई कस्तो छ भनेर सोध्दा पनि सोधेन।’ आफ्नै मुलुकले उपेक्षा गर्दा आफूहरु दुःखी भएको समेत उनले बताए ।

योञ्जनले टर्कीबाट नेपाली फर्काउँदा फाइदा नहुने देखेपछि सरकारले वास्ता नगरेको आरोप पनि लगाए । धैरे प्रयासपछि अमेरिका हुँदै नेपाल आउन लागेको जहाजमा थोरै भएपनि नेपाली फर्काउन सफल भएको उनले बताए । ‘सरकारले वास्ता नगरे पनि हामीले हिम्मत हारेनौं । घर फर्कने प्रयास गरिरह्यौं,’ उनी भन्छन्, ‘तर,सजिलो थिएन, कति दौड्यौं, कति तनाबमा पनि आयौं । भोकैप्यासै दिनहु के के मात्र गरेनौं । अन्ततः थोरै भएपनि नेपाली फर्काउन सफल भयौँ ।’

उनका अनुसार टर्कीमा रहेका सयौँ नेपालीहरुको रोजगारी गुमेको छ । उनीहरु स्वदेश फर्कन चाहान्छन् । कैयौँ नेपालीले दूतावासमा आवेदन दिएपनि टिकट काट्न नसकेर उतै बस्न बाध्य भएका छन् । ‘फर्कन चाहने धेरै छन् । २५० जनाले त आवेदन नै दिएका हुन्,’ योञ्जनले भने, ‘हालखबर समेत नसोध्ने सरकारले चार्टर्ड विमान पठाउने त कुरै भएन । बल्लतल्ल अमेरिकाबाट यहाँ (टर्की) हुँदै नेपाल जान लागेको फ्लाइटमा ५० सिट मिलाइदिन आग्रह गरेका थियौँ । तर, टिकट काट्ने पैसा नहुँदा ५० जनालाई पनि पठाउन सकिएन ।’

उनका अनुसार पूर्ण लकडाउनका बेला त्यहाँ रोजगारी गुमाएकाहरूलाई विभिन्न संघ संस्थाहरूले सहयोग गरेका थिए । तर, लकडाउन खुकुलो हुँदै गएपछि सहयोग विस्तारै घट्दै गएको छ । रोजगारी गुमाइसकेको र सहयोग पनि घट्दै गएको अवस्थामा त्यहाँका नेपालीको समस्या झन् बढ्दै गएको योञ्जनले बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *