उपत्यकामा कोरोना : ‘घरबेटीलाई डर छ, भाडामा बस्नेलाई कर छ’
काठमाडौं। ‘मान्छे बसेको घरमा कोही आउनै नहुने हो र? मान्छे बसेको घरमा मान्छे आइहाल्छ नि! कि गएर जंगलमा बस्नुपर्यो,’ एक २० वर्षीया युवती बिहानै रिसाएर ठूलो आवाजमा बोल्दै थिइन्, ‘कोरोना लाग्छ भनेर कोठा आउन जान नै छोड्नु त? हामीलाई कसले पालिदिने काम गर्नै पर्यो।’
‘भाडा चाहिँ तिर्नुपर्ने, फेरि कोठा आउने जाने कुरामा चाहिँ किचकिच गरेर हुन्छ’, उनै दिदीले थपिन्। काठमाडौ कलंकी डेरामा बस्दै आएका यी दिदी बहिनी पेसाले सेक्युरिटी गार्ड हुन्। कलंकीमै रहेको निजी विद्यालयमा सेक्युरिटी गर्दै आएका उनीहरुको काम लकडाउनमा पनि चलि रहेकै थियो।
कोरोनाका कारण सबै मानिस आक्रान्त छन्। नेपालमा कोरोना संक्रमित हुनेको संख्या घट्दै गएपनि डर र त्रास भने घटेको छैन। काठमाडौं उपत्यकाको बसाई सबैलाई महङ्गो नै लाग्छ। काम गरेन भने कोठाको भाडासम्म तिर्न सकिने अवस्था हुँदैन। त्यही समस्याबाट ग्रसित छन्। यी दिदी बहिनीहरु पनि।
डेरामा बस्ने उनीहरुलाई कोरोनाको उच्च जोखिम हुने भन्दै घरबेटीले तनाव दिनेगरेका छन्। ‘यसरी त कोरोना लाग्छ, भन्नुहुन्छ। हामी काम गर्न जान छोड्न त भएन नि। काठमाडौ जस्तो ठाउमा खान पर्यो, भाडा तिर्नै पर्यो।’ उनीहरु गुनासो गर्दै थिए।
कोरोनाको महामारीमा कतिपय को कार्यालय बन्द भएर बिचल्ली परेको समाचार आइरहदा यी दिदिबहिनी आफ्नो काम चलेकोमा खुशी छन्। ‘कतिपयको त काम रोकियो भनेर समाचार आइरहेको हुन्छ। कमसेकम हाम्रो त काम त चलिरहेको छ। काम चलेकोमा नै खुशी छौं।’
कार्यालय बन्द भएको भए आफ्नो स्थिति भयावह नै हुने उनीहरु बताउँछन्। ‘काम बन्द भएको भए हाम्रो परिवार पनि राम्रो आर्थिक स्थिति छैन। हाम्रो त बिजोग हुन्थ्यो। कोठाभाडा मात्रै चार महिनाको गरेर २० हजार तिर्न पर्थ्यो। कसरी तिर्नु घरमा ५००को अभाव छ।’
आफ्नो कार्यालय चलिरहेकोमा खुशी भएका यी दिदिबहिनीलाई डेरामा बस्ने अन्य परिवार र घरबेटीले भने खुशी हुन दिएका छैनन्। उनीहरु भन्छन, ‘हामी बाहिर आवतजावत गर्ने भएर हामीलाई न डेरामा बस्नेले राम्रो मान्छन् न घरबेटीले नै हिजो त आएर यसरी हुँदैन भन्नू भयो। सँगै काम गर्नुहुने दिदी पनि आउनु भएको थियो।’
काठमाडौंमा नै बस्दै आएकी शर्मिला तामाङ पनि बाहिर कतै जाने नगरेको बताउँछिन्। ‘हामी त कहीँ गएका छैनौं। कतिपय गाउँ गएर फर्किएका छन् कुनै टेस्ट पनि छैन। त्यसैले डरलाग्छ हाम्रो परिवार त छुट्टै बस्छौ वरपर पनि जाँदैनौं।’
परिवारमा साना छोराछोरी हुर्काउँदै गरेकी शर्मिलालाई आफुलाई भन्दा पनि छोराछोरीलाई कोरोना संक्रमण होला कि भन्ने चिन्ता छ। ‘मेरा साना नानिबाबु छन् आफूलाई लागेर त केही हुँदैन थियो। बच्चालाई नलागोस भन्नको लागि सबैको छुच्चो बन्ने गरेको हो।’
आफ्ना साना छोराछोरीको कोरोना संक्रमणबाट जोगाउन लागि परेकी शर्मिला निराश छिन्। धेरै समय भयो। म सानोतिनो काम गर्थे त्यही पनि बच्चाको लागि भनेर रोकिएको अब पनि कोरोनाको त्रासमा नै बस्ने हो भने भोकै मरिन्छ। यता नानिबाबुको चिन्ता उता भोकमरीको चिन्ता।’
उपत्यकाबाट बाहिरिएका सर्वसाधारण धमाधम भित्रिन थालेका छन्। केही समयसम्म खाली भएका सडक,घर,चोक अहिले भरिभराउ देखिन थालेका छन्।
स्थानीय बासी, घरबेटीलाई भने यसको चिन्ता छुट्टै छ, ‘हामी त जोगिएर बसेका थियौ गाउँबाट आउनेले कोरोना सार्ने भए। मनलाग्दी छ।’
सितापाइला घर भएका राजु थापा गुनासो गर्दै थिए। ‘महामारी भनिएको छ, कहाबाट आएका हुन। न क्वारेन्टाइनमा बस्छ्न। यसले हामिलाई त ठूलो असर गर्छ।’
थापा सँगै उभिएका शम्भु खड्का मलिलो अनुहार लगाउदै, ‘त्यही त खत्तम नै पार्ने भए। सबै आइसकेका छन्। कोठा तिर पनि बेवास्ता गरौ भनेपनि कतै न कतैबाट कनेक्सन भइहाल्छ।’
Facebook Comment