अक्सफोर्डको कोरोना भ्याक्सिन सफलताको बाटोमा, एउटा भ्याक्सिनबाट दोहोरो सुरक्षा !
काठमाडौं। अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेको कोरोनाभाइरसविरुद्धको भ्याक्सिनले दोहोरो सुरक्षा दिन सक्नेछ । शोधकर्ताहरुको दावीअनुसार भ्याक्सिनको पहिलो ट्रायलको नतिजाले दोहोरो सुरक्षाको पुष्टि गरेका छन् । डेली टेलिग्राफको रिपोर्टअनुसार पहिलो चरणको ट्रायलमा भ्याक्सिन दिइएका स्वयंसेवकहरुको प्रतिरक्षा प्रणाली निकै राम्रो भएको छ । उनीहरुको रगतको नमूना जाँच गर्दा उनीहरुमा कोरोनाविरुद्ध एन्टिबडी र किलर टि–सेल्स दुवै बनेको पाइएको छ ।
अक्सफोर्ड विश्वविद्यालयले पहिलो चरणको ट्रायल अप्रिल महिनामा गरेको थियो । स्वास्थ्य सचिव म्याट हेनककका अनुसार भ्याक्सिन तयार गर्नको लागि टिम लगातार जुटिरहेको छ र भ्याक्सिन यो वर्ष कुनै पनि समय उपलब्ध हुन सक्छ । यस्तो हुन नसकेमा पनि २०२१ सम्म यो भ्याक्सिन आउने पूरै आशा छ । भ्याक्सिन ट्रायलको अनुमति दिने बेर्कशायर रिसर्च इथिक्स कमिटीका अध्यक्ष डेभिट कार्पेन्टरका अनुसार कमिटीले लगातार वैज्ञानिकको साथमा काम गरिरहेको छ र हर जरुरी परिवर्तन गरिरहेको छ । भ्याक्सिन तयार गराउन आफूहरु सही बाटोमा भएको उनले बताए ।
डेभिड कार्पेन्टरका अनुसार शोधकर्ताहरु अस्पताल र स्वास्थ्य व्यवसायीहरुलाई भ्याक्सिन दिनको लागि लक्ष्य बनाइरहेका छन् किनकि यिनीहरुमा संक्रमण फैलिने खतरा अधिक हुन्छ । भ्याक्सिन कहिलेसम्म उपलब्ध हुन्छ भन्ने निश्चित मिति बताउन सकिने अवस्था छैन । यद्यपि सबै कुरा सोचेजस्तै भएमा सेप्टेम्बरसम्म आउने अपेक्षा गरिएको छ । यही लक्ष्यलाई ध्यानमा राख्दै लगातार काम भइरहेको छ ।
डेली टेलिग्राफको रिपोर्टअनुसार एक सूत्रले भनेको छ कि अहिलेसम्म अक्सफोर्डको भ्याक्सिन चाडोक्स एनसीओभी–१९ लामो समयसम्म प्रतिरक्षा दिन्छ भन्ने प्रमाणित भइसकेको छैन । यद्यपि यसले शरीरमा एन्टिबडी र टी–सेल्स दुवैको संख्या बढाउँछ । यी दुई चीजहरुको मिश्रण शरीरलाई सुरक्षित राख्नको लागि जरुरी हुन्छ । अहिलेसम्म सबै कुरा ठिकसँग अगाडि बढिरहेको छ तर अगाडिको बाटो निकै अहम र लामो छ ।
फार्मा कम्पनी एस्ट्राजेनेकाले भ्याक्सिनको ४० करोड डोज तयार गर्नको लागि युरोपको इन्क्लुसिभ भ्याक्सिन्स एलायन्ससँग सम्झौता गरेको छ । २०२० को अन्त्यसम्म भ्याक्सिन तयार गर्ने लक्ष्य तय गरिएको छ । भ्याक्सिनका ४० करोड डोज निःशुल्क वितरणन गरिनेछ । अक्सफोर्डसँग मिलेर भ्याक्सिन उत्पादन गर्न लागेको कम्पनी एस्ट्राजेनेकाले न्यू इङल्याण्ड जर्नल अफ मेडिसिनमा दावी गरेको छ कि ट्रायलको क्रममा जसलाई भ्याक्सिन दिइयो उनीहरुमा कोरोनाभाइरस संक्रमण भएर निको भएकाहरुमा भन्दा धेरै एन्टिबडी बनेका छन् ।
अमेरिकाको नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजका निर्देशक डा. एन्थोनी फाउसीले पनि नतिजा राम्रो आएको र यो भ्याक्सिन सफल हुने सम्भावना भएको बताएका छन् । विश्वविद्यालयका अनुसार ट्रायलका क्रममा गम्भीर साइड इफेक्ट देखिएन । केवल थकान, टाउको दुखाइ, चिसो लाग्नु र शरीर दुख्ने जस्ता सामान्य समस्या देखिएका छन् । इन्जेक्सन लगाएको ठाउँमा दुख्ने समस्या देखिएको छ तर यस्तो केवल ओभरडोजको केसमा मात्र भयो ।
Facebook Comment