प्रधानमन्त्रीको सुरक्षा प्रयास र मेरो अनुभूति
पंक्तिकार एकदिन पूर्व राजाका उपाध्यक्षकोमा हतास हाजिर भएँ र बताएँ- “उपाध्यक्षज्यूको थ्रेट बढेको छ। रेसिडेन्स सुरक्षा, मोवाईल सुरक्षा, कार्यालय सुरक्षा र ईभेन्ट सुरक्षा सुदृढ गर्न आवश्यक ठानेर हाजिर भएको छु ।”
उहाँले १ घण्टा पंक्तिकारको थ्रेट बिश्लेषण सुन्नुभयो । १० मिनेट सुदृढ गरिएको सुरक्षा व्यबस्थाको ब्रिफिङ लिएर भन्नुभयो–“हरेक महिनाको एकपटक तपाईको थ्रेट र एनालाईसिस् सुन्न चाहन्छु।”
पंक्तिकारले प्रजातान्त्रिक प्रधानमन्त्रीको सुरक्षा व्यबस्था सुदृढ गर्ने अवसर पनि पाएको थिएँ। पछि गणतान्त्रिक प्रधानमन्त्रीको सुरक्षा व्यबस्था सुदृढ गर्ने कुरा झन् जटिल र संवेदनशील थियो । सुरक्षा चुनौती र खतराको दुरुस्त अध्ययन, अनुसन्धान, बिश्लेषण गरेर निचोडमा पुग्ने हो र, त्यसको आधारमा सुरक्षा घेरा मजबुत् गरिदिने हो।
एकजना प्रधानमन्त्रीले जिज्ञाशा राख्नु भयो–“आँफू कसरी स्वतन्त्र र निर्भयसाथ बाँच्न सक्छु।” पंक्तिकारले निबेदन गरेको थिए–“सम्माननीयज्यूको सरलता, महानता, पारदर्शिता, राष्ट्रियता, लोकप्रियता र त्यागको भावनाले सुरक्षा कवच आफैं बलियो भइहाल्छ। अंगरक्षक बिना असन, ईन्द्रचोक, बीरगंज, लिवाङ, म्याग्लुङ जहाँ पुगेपनि हुन्छ।”
अहोभाग्य, वहाँले छोरा, भतिज सरह माया र व्यवहार गरिरहनु भयो पछिसम्म । आजीवन अनुग्रहित हुने गरेर। पंक्तिकार ऋणी छु वहाँको सुन्ने र ग्रहण गर्ने असल प्रबृत्तिप्रति। अर्को एकजना प्रधानमन्त्रीलाई सुरक्षा थ्रेट उच्च देखेपछि निजी निवासबाहेक सर्वत्र लगाउनलाई भित्र स्टिल प्लेट राखेको लाईफ ज्याकेट लगाउने प्रबन्ध मिलायौं। पंक्तिकारले मनमनै गुनें- “हरे, यस्तो जीवन के जीवन ?
सँधै फलामको साँचोले करङलाई निचोरिरहने सास्तीको जीवन”
धेरै भीभीआईपीहरुको पहलता, साहस, त्यागसहितको समग्र मनोबिज्ञान बुझ्ने र सुरक्षा सतरर्कता एवं रिफ्लेक्ट क्षमता सर्भे गर्ने अपूर्व अवसर प्राप्त भयो देशसेवामा रहँदा मलाइ।
शितलनिवास र बालुवाटार धेरै पार्टी कार्यालय, अझ धेरै गुट समिक्षालय, पार्टी प्यालेस, भाषण सुनाउने व्याख्यालयजस्तो देखिन्छ। त्यहाँ बम बारुद बन्दुक लिएर अर्को कथित भीआईपी छद्मभेषमा आतंककारी सहजै प्रबेश गर्न सक्ने, भीड र गतिबिधि जारी छ। भीभीआईपीले राष्ट्रिय गौरबको राष्ट्रिय चरित्र कहिले धारण गर्ने? गुट, दल, दलालको संकीर्ण घेरा तोडेर मुलुक र सारा जनताको तठस्थ लोकप्रिय छबि कहिले प्रदर्शन गर्नेजस्ता प्रश्नहरु उठिरहेका छन् यतिबेला।
गत हप्ता मुलुक कोभिड–१९ महामारी र चौतर्फी आन्तरिक समस्याबाट गुज्रिरहेको ज्यादै नाजुक समयमा प्रधानमन्त्रीले एक्कासी जानकारी पाउनुभयो–“पद र ज्यान दुबै खतरामा छ।” यही जानकारी प्राप्त गर्नु र हरेक क्षणका ईन्फर्मेसन होइन इण्टेलिजेन्ससँग अद्याबधिक रहनु सरकार प्रमुखको हक र अधिकार हो । सरकार प्रमुखका इण्टेलिजेन्सका श्रोत धेरै हुने नै भए।
खबरको प्रमाणीकरण
गतसाता सोसियल मिडियामा थ्रेटको पारो (वार) एक्कासी बढ्यो । पुराना इष्टमित्रहरु जो इन्फर्मेसन र इण्टेलिजेन्सलाई प्यासन ठान्दछन् र राष्ट्रिय सुरक्षाको हेक्का राख्दछन्, तिनीहरुको एन्टिना ठाडो भयो।
धेरैवटा श्रोतबाट एउटै खबर प्राप्त भएपछि त्यसलाई प्रमाणीकरणको नजिक अथवा सत्यको नजिक भनेर मान्नुपर्ने हुन्छ। सबै गुप्तचरका सबै खबर ठीक र सत्य नहुन पनि सक्दछन्। कतिपय राष्ट्रिय इण्टेलिजेन्स पूर्वानुमान र भविश्यबाणीको कोणबाट मापन गर्नुपर्ने हुन्छ।
त्यसैले धेरै ठाउँबाट सुनेको र पत्याएको खबर महिनावारी लिएर होइन, पेन्सन पट्टाको धर्म, नुनको सोझो र नैतिक कर्तव्य सम्झेर ‘निड टु नो बेसिस् ’ मा आवश्यक स्थानमा जानकारी गराइदिए–
“राजधानी असुरक्षित छ ।
बिष्फोटक पदार्थ र साना हतियारहरु भित्रिएको खबर छ ।
भीभीआईपीउपर घटना घटाउन सक्ने बलियो संभावनाको गन्ध आउदँछ।”
नैतिक धर्म
भीभीआईपी कति राष्ट्रबादी र लोकप्रिय छन् त्यो तपसिलको कुरा भयो। ज्यादै असक्षम, पिपलपाते, अलोकप्रिय किन नहुन् तिनको रक्षा गर्नु सुरक्षाकर्मीको पहिलो र सर्वाधिक महत्वको धर्म हुन्छ। चुनौती र खतरासँ-ग जुध्नुपर्दा ‘फष्ट भीभीआईपी–लाष्ट यु’ सिद्धान्त पालन गरिन्छ। आफू शहिद भएर भीभीआईपीको रक्षा गर्ने नैतिक कर्तव्य र धर्मले ओतप्रोत हुन्छन् भीभीआईपीका सुरक्षाकर्मीहरु।
नेपालको आधुनिक भीभीआईपी सुरक्षाको ज्ञान, अनुभव, योगदान र कुनैबेलाको प्रशिक्षक समेतको हैसियतले नेपालका भीभीआईपीहरु माथि कुनै अप्रत्याशित हमला हुनुहुँदैन र भएमा त्यो सफल हुनुहुँदैन भन्ने पंक्तिकारको पुकार र प्रार्थना हो। यो लेख त्यही प्रार्थनाको एउटा अंश र मजबुत राष्ट्रिय इण्टेलिजेन्स तथा सुरक्षाको चाहना हो।
आवश्यकता र वास्तविकता
भीभीआईपी सुरक्षाको लागि दुरुस्त र अद्याबधिक इण्टेलिजेन्स चाहिन्छ । पूर्वानुमान र भविश्यवाणीको चुस्त क्षमता चाहिन्छ। त्यसले घटनाको शानदार र सफल प्रतिकार गर्नेभन्दा घटना घट्नै नदिने सुरक्षित बातावरण श्रृजना गर्दछ। त्यो इण्टेलिजेन्स लिनेमात्र होइन चुहाउने संभावनाले झन् भयानक दुर्घटना निम्त्याउँदछ ।
पुरानो राजदरबारको खबर र व्यक्ति एक्सिस् कन्ट्रोल ज्यादै राम्रो थियो।
बिदेश सम्पर्क सम्बन्ध र समन्वयको लागि राजाहरु आफैंले समय उबार्दथे। अथवा, सोखिन राजाले सिर्फ एकजना भित्रिया, परिपक्व बिश्वासिलो दूत गोप्यसँग नियुक्ति गरेका हुन्थे। गोपनीयता भंग भएमा, निर्देशन र तथ्यलाई फुलस्टप र पूर्णविराम थपघट गरेमा, खबर चुहाएमा दूतलाई शीघ्र फायर गरिन्थ्यो । डबल एजेण्टको गन्ध आउनेलाई राजाले शीघ्र भेरिफाई गरेर तत्काल हटाउने प्रचलन थियो।
पछि समारोह, उत्सब, सौख, शिक्षा, तनाव, परामर्श र व्यापारका माध्यमबाट दरबारको पुरानो इण्टेलिजेन्स एण्टिना भुत्ते भयो र स्पाई अथवा काउण्टर इण्टेलिजेन्सको नयाँ गोप्य एण्टिना खडा भएको दरबारले पत्तो पाएन जुन दरबार हत्याकाण्डले पछि प्रमाणित गर्यो।
बर्तमान प्रसङ्गतर्फ एन्टिना घुमाएर हेरौं।
शितलनिवास र बालुवाटार धेरै पार्टी कार्यालय, अझ धेरै गुट समिक्षालय, पार्टी प्यालेस, भाषण सुनाउने व्याख्यालयजस्तो देखिन्छ। त्यहाँ बम बारुद बन्दुक लिएर अर्को कथित भीआईपी छद्मभेषमा आतंककारी सहजै प्रबेश गर्न सक्ने, भीड र गतिबिधि जारी छ। भीभीआईपीले राष्ट्रिय गौरबको राष्ट्रिय चरित्र कहिले धारण गर्ने? गुट, दल, दलालको संकीर्ण घेरा तोडेर मुलुक र सारा जनताको तठस्थ लोकप्रिय छबि कहिले प्रदर्शन गर्नेजस्ता प्रश्नहरु उठिरहेका छन् यतिबेला।
बिचित्रको रहस्यमय सरकार
सरकारले पुच्छर होइन पुच्छरले हल्लाउने सरकार छ मुलुकमा । राज्यभित्र अनगिन्ति शक्तिसाली राज्यहरु छन्। यति राज्यले ओम्नी राज्यको पर्दाफास गरिदिएको छ। यो हिसावले हेर्दा सरकार त केवल खोपाको निर्जिव स्टाम्प मात्र भएको देखिन्छ ।
सरकार कुन हो, को हो, कुन सक्कली, कुन छाया र कुन नक्कली ठम्याउन धौ धौ छ। सरकारसँग देखाउने राष्ट्रिय सेना छ। भित्र आफ्नो छुट्टै सुरक्षा दस्ता छ। बाहिर निःशस्त्र दङ्गा जुलुस टोली छ। अलि पर सशस्त्र भूमिगत सशस्त्र समूह छ।
पूर्व, पश्चिम, उत्तर, दक्षिण, प्रदेश, स्थानीय तहमा थरि थरिका निशस्त्र सशस्त्र समूहका पत्र पत्र रिङ्गहरु छन्। सबैको तार सरकारसँग जोडिएको छ । यस्तो बहुरुपी, बहुमुखी, बहुउद्धेश्यीय, बहुकेन्द्रगुलामी बहुमिसनधारी रमाइलो तर सारमा खतरनाक अवस्था देखिन्छ सरकार र मुलुकको।
राष्ट्रिय इण्टेलिजेन्सको अवसान
बिदेशी हस्तक्षेप र उनीहरुको शक्तिसाली एण्टिनाले राष्ट्रिय इण्टेलिजेन्सको अवसान भएको छ। अवसान मात्र होइन, त्यो बिकाउ भइसकेको छ। मिसिल, निर्णय, निर्देशन टाइप हुँदा हुँदै अधिकारीको सही नहुँदै बिदेशी मालिककोमा पुगि सकेको हुन्छ । राष्ट्रिय इण्टेलिजेन्सको यो बिक्री बितरण अर्राष्ट्रिय र अक्ष्यम्य चर्तिकला हो।
जनताले नबुझ्ने, सरकारले बुझ पचाउने यो अराष्ट्रिय र अनैतिक हर्कत तुरुन्त रोक्न सरकार प्रमुखले सेकेण्ड बिलम्ब गर्नुहुँदैन। र, यो आरोपमात्र होइन ।
बिडम्बना, नेपालमा इण्टेलिजेन्स संयन्त्र खडा र संचालनमा छन्। बजेट खर्च जारी छ। तर मातृभूमिको इण्टेलिजेन्स राष्ट्रिय हित र रक्षाका खातिर होइन बिदेशी मालिकको लागि चुहिरहेकोछ र, नेपाल फोगट् खोक्रो छ।
दोष कसलाई ?
यसको एकल दोषी नेपालका प्रधानमन्त्रीहरु हुन्। अपबाद बाहेक सबै दोषी छन्। त्यही गोप्य सक्रियता र गुह्य ईशारामा खम्पाले सजिलै सहयोग प्राप्त गरेका हुन् । उत्तरी सीमानामा मिलिटरी मिसनलाई बोलाइएको थियो । महाकाली, गण्डकी, कोशी लगायतका प्राकृतिक सम्पत्ति बुझाइएका हुन् । द्वन्द्व रचिएको, खेलाइएको र अवतरण गराइएको हो । बिदेशी हस्तक्षेपलाई फुलमाला गरिएको हो ।
बिदेशी हस्तक्षेपको मियो अथवा फोकल पर्सनस् सिधै प्रधानमन्त्रीहरु हुन् । बिदेशीले अरुलाई पत्याउदैनन्। किनभने प्रधानमन्त्रीहरु नै प्रशस्त छन् । तर, मालिककोमा दोश्रो तेश्रो पिढीका नेतागण पनि अतिरिक्त लाभको लागि लामबद्ध छँदैछन् । दरबार हत्याकाण्डपछि बिदेशी मालिकलाई एयरफोर्स पठाईदिन गरेको गुहारको धन्य कार्यान्वयन भएन।
नेपालका अन्य सबै ठूला सामरिक महत्वका घटनाहरु उपल्लो पदको माग र ईशारामा भएका हुन् । प्रायः ती सबै राष्ट्रघाती कदमहरु अर्काको खुट्टा तान्ने र आफू सत्ता र शक्तिमा पुग्ने षडयन्त्रले मञ्चन भएका थिए। मञ्चन गर्नेले रमाइलो नाटक देखाएर सत्ता शक्ति प्राप्त गर्दै गए । तर मुलुकको उच्च ओहोदाको पद खिइदै गएर भुंईफुट्टा भयो । मातृभूमिको हरेक पटक पराजय भयो।
बर्तमान शक्ति बाँडफाँडमा लामो घरेलु झगडा भएपछि आफ्नै मान्छेका विरुद्ध भाैतिक कारवाही गराउन विदेशी मालिकलाई आग्रह गर्नेहरुको अनुहार निर्लज्जरुपमा सत्ता भोगको आशा गरेर बसेको छ। मुलुक हराउने र समाप्तीको खाडलमा जाक्ने अर्को संकीर्ण चालबाजी थियो त्यो। खरानीको लागि घरमा आगो लगाउने यो षड्यन्त्रले मातृभूमिलाई कसरी हित गर्ला?
मुलुकका धेरै प्रधानमन्त्रीहरु यो संसारबाट बिदाइ भइसक्नुभएको छ। तर मातृभूमिलाई ती राष्ट्रघाती सन्तानको नाम र ठेगानासमेत हेक्का छैन जसले मुलुकलाई दुर्गतितिर लगे त्यो पनि अरुकै इशारामा। ईतिहासका पानामा पनि लेख्न अयोग्य पात्रहरु।
तर, भविश्यको मुलुकको परिकल्पना गर्ने र पुराना नेतृत्व सबैलाई बिश्राम दिएर नयाँ पिंढी, नयाँ नेतृत्व स्थापना गर्ने काम नयाँ पुस्ताको हो । सार्बभौम मुलुक सबैको पहिलो बटमलाइन् हुनुपर्दछ। राष्ट्रिय हित र राष्ट्रिय रक्षाको जगमा उभिएको आत्मनिर्भरउन्मुख सम्बृद्धि र सुख जनताको चाहना हो। मालिक होइन, मतदाता र मातृभूमिप्रति समर्पित हुनुपर्दछ भीभीआईपीको ध्यान। त्यस्ता भीभीआईपीको सुरक्षाकवच सुदृढ र गर्विलो बनाउनुपर्दछ सुरक्षाकर्मीहरुले ।
मातृभूमि र देशवासीले अनन्तकालसम्म जयजयकार गर्ने महान र त्यागी भीभीआईपी बनुन् नेपालमा जसको सुरक्षा गर्दा सुरक्षाकर्मीको छाती पनि गर्वले फुलोस् र जनताले पनि सुरक्षा दिन सकुन्। सन्तान दरसन्तानले सम्झेर श्राद्ध अथवा पितृस्मृति गर्ने कीर्ति छाडून् सबैले। ती गौरबशाली भीभीआईपीको सुरक्षाकवच मजबुत र सुदृढ बनाउन सफल हुन् सुरक्षाकर्मीहरु।
Facebook Comment