आगोको जरा (कविता)
आगोले नै छोपेको आगो निभ्दैन हिँउले थिचेर
जलिरहेछ मनमा सनातन आगो अनादि काल देखि नै
र यसैको तापले पोलिरहेछ
मन, मुटु र मस्तिष्क
यो तह तह आगोलाई निभाउन खोजिँदैछ
जमिनदेखि नै उधिनेर माटोले पुर्दै
जंगलै लछारेर स्याउलाले हिर्काउँदै
तर यो आगोको जरा अकल्पनीय लामो छ
अकल्पनीय फराकिलो !
यो आगो भत्भुताएको छ दुःखबाट
शोषण र अन्यायद्वारा उब्जिएको पीडाबाट
आइसक्रिमजस्तो हिँउले छोपिँदैन दुःखको आगो
हरियो स्याउलाले निभ्दैन वेदनाको आगो
जलाएरै छाड्नेछ यसले एकदिन दुःखको जरा
त्यसदिन जल्नेछन्− आगो छोप्नेहरु पनि ।
प्रतिक्रिया
Facebook Comment