पाँचथरका सबै संक्रमित निको भए, क्वारेन्टाइन खाली

डिसी नेपाल
३ साउन २०७७ १२:३४

पाँचथर । पाँचथरमा कोरोना भाइरसका सबै संक्रमित संक्रमित निको भई घर फर्केका छन्। विदेशबाट आई फिदिमस्थित क्वारेन्टाइनमा बसेका यहाँका चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। उनीहरु सबै सरकारी उद्धारबाट नेपाल आएका थिए।

चारै जनालाई विभिन्न खाडी राष्ट्रबाट उद्धार गरिएको थियो। पछिल्लो पटक संक्रमित देखिएका तीन जना पुरुष कोरोना संक्रमण मुक्त भई अस्पतालबाट फर्केका छन्। यस्तै शुक्रबार यहाँका क्वारेन्टाइनमा बस्नेको संख्या समेत शून्यमा झरेको छ।

पाँचथरमा पहिलो पटक गत जेठ ३ गते कोरोना भाइरसको पहिलो संक्रमित भेटिएका थिए। जिल्लाको याङवरक गाउँपालिका घर भई वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेकी २५ वर्षीया युवतीमा संक्रमण देखिएको थियो। उनी सरकारी उद्धारबाट वैशाख ३० गते नेपाल आएकी थिइन्। संक्रमण देखिएपछि उपचारार्थ कोशी अस्पताल पठाइएकी ती युवती दुई साताअघि निको भई घर फर्किसकेकी छन्।

यस्तै साउदी अरेबियाबाट उद्धार गरिएका जिल्लाको हिलिहाङ गाउँपालिकाका २८ वर्षीय पुरुषमा गत असार २१ गते तथा संयुक्त अरब इमिरेट्स (यूएई)बाट उद्धार गरिएका याङवरक गाउँपालिकाका २३ वर्षीय पुरुष र कतारबाट उद्धार गरिएका तुम्बेवाका ३२ वर्षीय पुरुषमा असार २६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

उनीहरुमध्ये दोस्रो संक्रमितलाई कोशी अस्पताल विराटनगर तथा बाँकी दुई जनालाई कोभिड–१९ विशेष अस्पताल गोठगाउँ, मोरङ पठाइएको थियो। पछिल्लो पटक गरिएको परीक्षणमा तीनै जनामा कोभिड–१९ नेगेटिभ देखिएपछि घर फर्कंदै गरेको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयले सबै संक्रमित निको भएको तथा क्वारेन्टाइनमा बसेका सबैको स्वाब परीक्षण गरी घर फर्काएको जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेका अनुसार शुक्रबार जिल्लाका ४२ वटा क्वारेन्टाइन पूर्णरुपमा खाली भएका छन्।

क्वारेन्टाइनमा बसेका तथा अन्य गरी जिल्लामा ७७९ जनाको स्वाब परीक्षण गरिएको छ भने २ हजार २०३ को आरडिटी गरिएको छ। यहाँका ७२२ बेडको क्वारेन्टाइन तथा ३६ बेडको आइसोलेन कक्ष पहिलोपटक पूर्णरुपमा खाली भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *