केश मुण्डन गरिएका व्यक्ति भारतीय नागरिक, पैसा लिएर अभिनय !

डिसी नेपाल
३ साउन २०७७ १९:२४

काठमाडौं। गएको बिहीबार भारतको वाणरसीमा केश मुण्डन गरिएका र नेपाली भनिएका व्यक्ति भारतीय नागरिक रहेको खुलेको छ। भारतीय प्रहरीको हवला दिँदै बीबीसी नेपाली सेवाले प्रकाशित गरेको समाचारमा केश मुण्डन गरिएका युवक भारतीय भएको जनाएको छ।

गएको विहीबार एक युवककको जबरजस्ती केश मुण्डन गरिएको र ती व्यक्तिले नेपालका प्रधानमन्त्रीविरुद्ध नारा लगाएको भिडियो भाइरल बनेको थियो। र ती युवक नेपाली रहेको र जबरजस्ती भारतीय एक धार्मिक संगठनले त्यस्तो गरेको बताइएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि नेपाल नै रहेको बताएको केही दिनपछि वाणरसीमा सो घटना भएको थियो। भारतीय प्रहरीले सो भिडियो बनाएको आरोपमा चारजनालाई शुक्रबार पक्राउ गरेको थियो।

सो प्रकरणमा शनिबार थप दुईजना पक्राउ परेको बीबीसीले जनाएको छ। सो प्रकरणका मुख्य आरोपी भनिएका अरुण पाठक अझै फरार रहेको वाणरसी प्रहरीले जनाएको छ। नेपाली युवक भनिएका ती व्यक्तिको घर वाणरसीमै रहेको प्रहरीले जनाएको छ। बीबीसीसँग वाणरसीका एपी अमित पाठकले भनेका छन्, ‘नेपाली भनिएका व्यक्तिको घर वाणरसीमै छ। उनी यहिँ बस्छन्। उनले उजुरी पनि दिएका छैनन्। उनीसँग सोधपुछ भएपछि मात्र उनी नेपाली हुन् वा होइनन् भन्न सकिन्छ।’

प्रहरीले ती व्यक्ति भारतीय मतदाता सूचीमा सूतिकृतसमेत रहेको र भारतमै जन्मेको जनाएको बीबीसीले उल्लेख गरेको छ। प्रहरीको दावीअनुसार सो भिडियो बनाए वापत ती युवकले एकहजार रुपैयाँसमेत लिएको स्वीकार गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *