कोरोना र साउने झरीको वास्ता नगरी सफाइमा अभियानकर्मी

डिसी नेपाल
३ साउन २०७७ २३:१०

काठमाडौं। कोरोना भाइरसको सङ्क्रमण राजधानीमा फैलने डर एवं साउने झरीका बीच उपत्यकाका सफाइ अभियानकर्मीका पाइला भने रोकिएनन् ।

प्रत्येक हप्ता शनिबार बिहान सात बजे जस्तै यो शनिबार पनि वाग्मती सफाइ अभियानकर्मी नदी किनारमा भेला भए । ‘राष्ट्र सेवाका लागि हप्तामा दुई घण्टा’ भन्ने नाराका साथ वर्षे झरी, चाड पर्व, भूकम्प, कोरोना जस्ता प्रतिकुल अवस्थामा पनि अभियानकर्मी सक्रिय हुने गरेका छन् । चैत दोस्रो सातादेखि कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएपछि नदी किनार नजिक निवास हुने अभियानकर्मीले नदीमै पुगेर सफाइ गर्ने अभियानलाई निरन्तरता दिए।
यस क्रममा शनिबार ३७५ औँ हप्ताको वाग्मती सफाइ पशुपति र शङ्खमूल नदी किनारमा सम्पन्न भएको छ । पशुपति क्षेत्रको सफाइ अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलको नेतृत्वमा भएको थियो ।

यसैगरी शङ्खमूल क्षेत्रको सफाइ अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा भयो । यस क्षेत्रको मनोहरा वाग्मती दोभानमा भएको सफाइमा नदी किनारमा पसल चलाएर बस्नेलाई पनि सहभागी गराइएको अभियानकर्मी पौडेलले जानकारी दिइन्। व्यवसायीलाई आगामी दिनमा पनि पसल अघि सफा गर्न जनचेतनामूलक अभियान समेत सञ्चालन गरिएको थियो ।

त्यस क्षेत्रमा कुहिने र नकुहिने फोहर वर्गीकरण गरी व्यवस्थापन गरिएको थियो । सफाइमा श्री हनुमान मार्ग टोल सुधार समिति, अभियानकर्मीहरु प्रिया लामिछाने, रामशरण कार्की, दुर्गा दुलाल लगायत स्थानीयवासीको पनि सक्रियता थियो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ३३५ औँ हप्तामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुनिको असहाय बाच्छा बाच्छी संरक्षण स्थल नजिकैको वाग्मती किनारमा सफाइ गरिएको थियो । मनैदेखि वाग्मती सफाइ हुनुपर्ने नारासहित प्रतिकुल अवस्थामा पनि यस क्षेत्रको सफाइलाई निरन्तरता दिँदै आएको अभियानकर्मी उत्तम पुडासैनीले बताए।

आलोकनगर सफाइ अभियानको १७४ औँ हप्तामा तिनकुने वाग्मती किनारमा सफाइ गरियो । काठमाडौँ निर्वाचन क्षेत्र नं। १ का सङ्घीय सांसद प्रकाशमान सिंहको सहयोगबाट स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम अन्तर्गत सिद्धि विनायक, शोभा भगवती र लोकेश्वर महादेव मन्दिर निर्माण भएकामा त्यस क्षेत्रको सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए।
उपभोक्ता समितिमार्फत् भइरहेको काममा स्वास्थ्य सुधारका लागि व्यायामशालाको पनि निर्माण गरिएको छ । साउने झरीमा छाता ओढेर भएको यस क्षेत्रको सफाइका क्रममा अभियानकर्मी शिखा मास्केको जन्मदिनका अवसरमा नदी किनारमा विभिन्न जातका बिरुवा रोपिएको थियो ।

कार्यक्रममा सहसचिव किशोर जोशीले अभियानकर्मीलाई औषधीय गुणले युक्त वनस्पति गुर्जोको बिरुवा हस्तान्तरण गरेका थिए। रोग प्रतिरोधी क्षमता विकासका लागि गुर्जो उपयोगी वनस्पति भएको उल्लेख गर्दै उनले घर घरमा यो बिरुवा रोप्न अभियानकर्मीलाई आग्रह गरे।

चक्रपथ पश्चिम क्षेत्र सफाइको १६१ औँ हप्ताका अवसरमा कोरोनाबाट पीडित वाफल क्षेत्रमा बसोवास गर्ने विपन्न २२ परिवारलाई राहत वितरण गरिएको अभियानकर्मी ताराबहादुर कुँवरले जनाए। चामल, दाल, नुन लगायत सामग्री वितरण गरिएको थियो ।

ललितपुरस्थित गोदावरी खोला सफाइ अभियानको ७२ औँ हप्तामा नदी क्षेत्र, सार्वजनिक स्थल र टोल टोलमा सफाइ गरिएको अभियानकर्मी बेबी राजभण्डारीले जानकारी दिइन्। सबै क्षेत्रको सफाइ कोरोनाबाट बच्न भौतिक दूरी कायम गरी सुरक्षाका विधि अपनाएर गरिएको अभियानकर्मीले जनाएका छन् ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदी, चक्रपथ लगायत राजधानीमा शुरु भएको थियो । वाग्मती सफाइ अभियानबाट प्रभावित भई देशभरका १०६ भन्दा बढी स्थानमा यसले बिस्तार हुने अवसर पाएको छ । मुख्य मुख्य शहरमा सफाइ अभियानले निरन्तरता पाएको छ ।

कोरोनाका कारण गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीका कारण नदी किनार नजिकै बस्नुहुने अभियानकर्मीले यसलाई निरन्तरता दिएका छन्। अन्य अभियानकर्मीले पनि आ—आफ्नो टोल टोलमा सफाइ गरिरहेका छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *